१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

'गुडलक' बेच्नेको 'ब्याडलक'

विना कार्कीले वसन्तपुर क्षेत्रमा क्यूरीयो सामान बेच्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो। गुडलकको संकेत मानिने मण्डला, कंकाल, सिङगिङ बल लगायतका थुप्रै सामग्री  बेच्दै आएकी कार्की यतिबेला आफैंलाई भने ब्याडलक लागेको सुनाउँछिन्। 

‘थुप्रै गुडलकका सामग्री बेच्यौं,’ उनले भनिन्, ‘तर कोरोना र लकडाउनको कारण अहिले हामी आफैं ब्याडलकमा छौं।’ यो उनको मात्र  हैन, यस क्षेत्रमा एक सयको हाराहारीमा रहेका सबै पसलेको साझा समस्या हो। विदेशी पर्यटकलाई लक्षित गरेर राखिएका क्यूरियो पसल पर्यटकको आगमन ठप्प हुँदा उनीहरूको आर्थिक अवस्था निकै बिग्रिएको छ।

‘सुरुका २० महिना त घरमै बस्यौं,’ चार दशकभन्दा पुरानो पुख्र्यौली पसल सम्हाल्दै आएका सुरेश शाही भन्छन्, ‘अहिले हामी कहिल्यै नभोगेको समस्या भोग्दै छौं।’ लकडाउन खुलेपछि नयाँ सोचका साथ पसल सञ्चालन गर्न थालेका उनी नयाँनयाँ भेरियन्टले अत्याउन भने नछाडेको सुनाउँछन्। ‘जसरी पनि अगाडि बढ्नु पर्दोरहेछ,’ उनले भने, ‘व्यापार अगाडि बढ्ने आशामा हामी पसल थापेर बसेका छौं।’

  एविसिडी आउँदैन अंग्रेजी फरर...

वसन्तपुरमै पसल राख्दै आएकी लक्ष्मी खत्रीलाई एविसीडी अझै राम्रोसँग आउँदैन। तर, उनी अंग्रेजी   भने फरर बोल्न सक्छिन्। विदेशी पर्यटकसँग व्यापार गर्नुपरेका कारण अंग्रेजी मात्र हैन, स्पेनिस, इटालियन र जर्मन भाषा समेत बोल्दै आएकाे उनी बताउँछिन्।

‘अहिले त विदेशी पर्यटक नआउँदा भाषा नै भुल्न थालिसके,’ उनले भनिन्, ‘पाहुनाहरुको मुख नदेखको नि निकै भइसक्यो।’ विदेशी पर्यटकको आगमनमा गुलजार हुने यो क्षेत्र अहिले उनीहरूको पर्खाइमा  मुर्झाइरहेको छ।

निराशाको बादलमा आशाको घेरा

विदेशी पर्यटकको आगमन ठप्प भएको समयमा नेपालीले समुदाय क्यूरियो सामानप्रति आकर्षित हुँदा व्यवसायीले थोरै भने पनि  बाटो भने पाएका छन्। ‘सोचेजस्तो व्यापार त छैन,’ सुरेश सुनाउँछन्,‘तर बाँच्ने आशा भने पलाएको छ।’

यस्तै धारणा राख्छिन् विना पनि। उतिबेला दैनिक २० हजारको हाराहारीमा व्यापार हुने गरेकोमा अहिले ५ हजारको हाराहारीमा भने हुने गरेको उनले सुनाइन्। ‘केटाकेटी पाल्न सक्ने भएका छौं,’ उनले भनिन्, ‘व्यापार बढ्दै जाला भन्ने आशामा छौ।’ समयसँगै गुडलक किन्नेहरू फेरि आउने र आफ्नो ब्याडलक जानेमा उनी आशावादी छिन्।

प्रकाशित: २७ पुस २०७८ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App