३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सुशासनको नौलो अभ्यासः दश बज्नुअघि नै हाजिर हुन्छन् कर्मचारी

सामान्यतः सरकारी कार्यालयहरुमा विहान १० बजे कर्मचारी पुग्दैनन् भन्ने कुरा खासै नौलो कुरा होइन। यतिमात्र हैन, कर्मचारी समयसम्म पनि बस्दैनन्, यसबारेमा बेलाबेलामा कुरा उठ्ने गरेको छ।

तर, भक्तपुर नगरपालिकामा भने त्यो स्थिति छैन। नगरपालिकामा विहान १० बजेअघि नै कर्मचारी पुग्नुपर्छ। यतिमात्र नभएर १० बज्नुअघि नै हाजिरी कापीमा हाजिरी गरिसक्नुपर्छ। कथंकदाचित १० बजेभन्दा ढिला हाजिरी भए, त्यो हाजिरीको जवाफ दिनुपर्छ, कर्मचारीले।

नगरपालिकाले कर्मचारीलाई सेवाग्राहीप्रति समर्पित गर्न र कर्मचारीबाटै सुशासन कायम गराउनका लागि त्यो अभ्यास थालिएको जनाएको छ।

नगरपालिकाका प्रशासन अधिकृत दामोदर सुवाल भन्छन्, ‘हामी दिनहुँजसो विभिन्न सरकारी कार्यालयमा कर्मचारी समयमा नपुगेको, समयसम्म नबसेको कुरा सुन्छौं, अनि खाजा खान गएको छ भनी घन्टौं सेवाग्राहीलाई कुराइ रहेको सुन्छौं, पढ्छौं।’ त्यही आम सरकारी कर्मचारीजस्तै नहोस् भन्नका लागि भक्तपुर नगरपालिकाले कर्मचारीहरुलाई समयवद्ध बनाउने प्रयास गरेको छ।

‘हामी सरकारी कर्मचारी भनेका सेवक नै हौं, हामी सेवा गर्नकै लागि आएका हौं, हाम्रो कारणले सेवाग्राहीले दुःख नपाओस् भनी हामीले यो अभ्यास गरिरहेका छौं।’ उनले उक्त अभ्यास विगत ३ वर्षदेखि गरिँदै आइरहेको बताए। सो अभ्यासले सेवाग्राही मात्र नभएर कर्मचारी पनि खुसी भएको उनको भनाइ छ।

नगरपालिकाका अनुसार नगरपालिकाको पर्यटन शाखामा ४२, स्यानिटेशन शाखामा ९८ जनासहित कूल ३७३ कर्मचारी रहेका छन्। तिनीहरुमध्ये स्थायी कर्मचारीको संख्या २१६ र सेवा करारमा नियुक्त भएका कर्मचारी १५७ जना रहेका छन्।

नगरपालिकाले कर्मचारीका लागि खाजा समय पनि निर्धारण गरेको छ। ‘विहान १० बज्नुभन्दा अघि हाजिरी गरिसक्नुपर्छ, बेलुका ४ बजेभन्दा अघि हाजिरी कापी नै खुल्दैन’, अधिकृत सुवालले भने, ‘दिउँसो २ बजेदेखि साढे २ बजेसम्मको मात्र समय निर्धारण गरिएको छ, त्यो समयभन्दा बढी समय कर्मचारीले बिताउनु हुन्न।’

‘हामीकहाँ कर्मचारीहरुका लागि छुट्टै खाजा समय छैन, त्यसका लागि हामीले आलोपालो समय मिलाएका छौं, उहाँहरु खाजा खान बाहिर पनि जानुुहुन्न, उहाँहरु आपसमा पैसा सेयरिङ गरेर खाजा बनाउँनुहुन्छ, समय मिलाएर खानुहुन्छ।’ 

‘निजामति कर्मचारी ऐनमा महिनामा तीन पटकसम्म १५ मिनेट ढिला आउने कर्मचारीलाई कार्यालय प्रमुखले हाजिर गराउन सक्ने’, प्रावधान छ। तर, त्यो प्रावधानलाई अधिकांश सरकारी कर्मचारीले भने हरेक दिन ढिला गए नि हुने भन्ने मान्यता बोकेका छन्। यही कारण अधिकांश सरकारी कार्यालयका कर्मचारीहरु ‘कर्मचारी मानसिकता’ का भइरहेका बेला भक्तपुर नगरपालिका कर्मचारी भने सेवाग्राहीको सेवाका लागि समय दिइरहेका छन्।

कर्मचारीको विषयमा कुनै पनि गुनासो नआओस् भनी एक प्रकारले ‘कडाइ’ गरिएको उनको भनाइ छ। ‘कर्मचारीबारे कुनै पनि सेवाग्राहीबाट मात्र नभएर जनप्रतिनिधिबाट समेत गुनासो नआओस् भनी कर्मचारीलाई उत्प्रेरित गरेका छौं’, उनी भन्छन्, ‘किनभने कर्मचारीबारे गुनासो आउनु राम्रो होइन, उसकै वृत्ति विकासका लागि प्रश्न उठ्छ भनी हामीले सेल्फ मोटिभेट गरेका छौं।’

नगरपालिकाको वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले कार्यालय र कर्मचारीलाई बढीभन्दा बढी सेवाग्राहीमैत्री बनाउन आफूहरु लागिरहेको जानकारी दिए। उनले आफ्नो वडामा कार्यरत कार्यालय सहयोगी सवा नौ बजेभित्र आइसक्ने र कार्यालयका अन्य अधिकृतहरु दश बजेभित्र आइपुग्ने बताए।

यतिमात्र नभएर उनले सेवाग्राहीको समयलाई ख्याल गरी कार्मचारीहरुको खाजा खाने समय समेत आलोपालो गरी मिलाइएको बताए। ‘हामीकहाँ कर्मचारीहरुका लागि छुट्टै खाजा समय छैन, त्यसका लागि हामीले आलोपालो समय मिलाएका छौं, उहाँहरु खाजा खान बाहिर पनि जानुुहुन्न, उहाँहरु आपसमा पैसा सेयरिङ गरेर खाजा बनाउँनुहुन्छ, समय मिलाएर खानुहुन्छ।’ वडाध्यक्ष ज्याख्वले सेवाग्राहीलाई अधिकतम सेवा दिनका गरिरहेको पहलले सेवाग्राहीहरु सन्तुष्ट देखिएको बताए।

नगरपालिकाले कर्मचारीलाई सेवाग्राहीप्रति समर्पित गर्न र कर्मचारीबाटै सुशासन कायम गराउनका लागि त्यो अभ्यास थालिएको जनाएको छ।

नियम पालना अनिवार्य

नगरपालिकाका सबै तह र स्तरका कर्मचारीले सो नियम पालना गर्नु अनिवार्य छ। नगरपालिकाका विभिन्न शाखा तथा वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले पालना गर्न अनिवार्य छ।

‘नगरपालिकाको मुख्य कार्यालय होस् या, वडा कार्यालय वा अन्य शाखाहरुमा सबै कर्मचारी समयमा पुग्नुपर्छ, समयसम्म बस्नुपर्छ, बीचमा यसो उसो भनी बहाना बनाइ जान पाइँदैन’, ‘जानै परे चित्तबुझ्दो र व्यवहारिक कारण चाहिन्छ’, अधिकृत सुवालले भने।

उक्त नियम कुनै कर्मचारीले उल्लंघन गरेको खण्डमा सुरुमा मौखिक जवाफ सोधिने र तीनपटकभन्दा बढी भए लिखित स्पष्टीकरण समेत सोधिने नगरपालिकाले जनाएको छ।

बेलाबेलामा अनुगमन

नगरपालिकाले लागू गरेको यो अलिखित प्रावधानको पालना गरे÷नगरेको सन्दर्भमा बेलाबेलामा छड्के, अनुगमन, सोधी खोजीसमेत हुने गरेको छ।

कुनै कर्मचारीबारे, कर्मचारीले दिने सेवाबारे सानोभन्दा सानो गुनासो आएमात्र पनि नगरपालिकाले तत्कालै ‘एक्सन’ लिने गरेको छ। ‘हामी गुनासो आउनेबित्तिक्कै सम्बन्धित कर्मचारीलाई प्रशासनमा डाक्छौं, उस्तै परे सेवाग्राहीलाई समेत अगाडि राखेर कुराकानी गर्छौं’, अधिकृत सुवालले भने। उनले कर्मचारीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीबारेमा आत्मबोध गराउने तवरले कुराकानी गरी कर्मचारीको मन जितेर काम गर्ने वातावरण नगरपालिकामा बनाएको उल्लेख गरे।

‘सुशासनको सुरुवात कर्मचारीबाटै हुनुपर्छ, प्रत्येक सेवाग्राहीको सेवामा सहज पहुँच हुनुपर्छ, समयको परिपालना गर्नुपर्छ, अनुशासित हुनुपर्छ, यो सिद्धान्तलाई व्यवहारमा उतार्ने काम हाम्रै हो भन्ने भावना जागृत गराउन नगरप्रमुख÷उपप्रमुखज्यूहरुबाट बेलाबेलामा कक्षा पनि लिनुहुन्छ,’ उनले भने।

यसका साथै स्वयम् नगरप्रमुख र उपप्रमुखकै नेतृत्वमा विभिन्न शाखा, वडाहरुमा छड्के जाँच हुने उनको भनाइ छ। उनले कर्मचारीहरुलाई खुसी बनाएर काम गर्ने वातावरण तयार भए सुशासन कायम गर्न सहज हुने बताए। उनले भने, ‘प्रशासनले प्रशासनिक जिम्मेवारी दिएको हुन्छ, कर्मचारीलाई खुसी बनाएर काम लिने हो, कर्मचारी हो, कहिलेकाहिँ अल्छी लाग्छ, थोरै भए पनि समय लिउँ भन्ने हुन्छ, त्यसले सेवाग्राहीलाई कस्तो असर पुग्छ भन्ने ख्याल गर्न जरुरी छ, त्यो भाव विकास गराउन सक्यौं भने सुशासन कायम गर्न सहज हुन्छ।’

प्रकाशित: २३ पुस २०७८ १५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App