४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

‘भिजिबिलिटी’ नपुग्दा आन्तरिक उडान प्रभावित

वर्षा र हिमपातका कारण भिजिबिलिटी कम हुँदा बुधबार देशभर हवाई सेवा प्रभावित भएको छ। मंगलबार रातिबाट भएको हिमपात र वर्षाका कारण भिजिबिलिटी (पारदर्शिता) कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट मुलुकका विभिन्न भागमा हुने उडान प्रभावित भए। मुलुकका अन्य विमानस्थलबाट हुने उडान पनि प्रभावित भए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बुधबार आन्तरिकतर्फका धेरै उडान प्रभावित भएका हुन्।

यान्त्रिक उडान भर्ने (आइएफआर) जहाजका लागि समस्या नभए पनि आँखाले हेरेर उडान गर्ने (भिएफआर) जहाजलाई भिजिबलिटी अपुग भएपछि आन्तरिकतर्फका उडान बढी प्रभावित बनेका हुन्। भिएफआर प्रविधिबाट उडान भर्ने अधिकांश साना जहाज भएकाले भिजिबिलिटी अपुग हुँदा धेरै उडान प्रभावित भए। आइएफआर प्रविधिबाट उडान भर्ने जहाजले १६ सय मिटरमा उडान भर्न सक्ने भए पनि भिएफआर प्रविधिका साना जहाजलाई भने पाँच किलोमिटरसम्म भिजिबिलिटी आवश्यक पर्छ।

भिजिबिलिटी नपुग्दा बाटो पहिल्याएर आउने (एअरवे फलो) जहाजलाई समस्या हुने भएकाले आन्तरिकतर्फका धेरै उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ। बुधबार आन्तरिकतर्फ एक सय ३७ उडान तालिका रहे पनि साँझसम्म ६७ उडान रद्द भए। नेपाल एयरलाइन्सका दुई, बुद्वका ३४, यतीका १७, ताराका तीन, श्री एयरलाइन्सको एक, समिटका तीन, सौर्यको एक र गुण एयरलाइन्सको एक उडान रद्द भएको ञ्क्ष्विमानञ्क्ष्स्थल स्रोतले जनाएको छ। राजधानीबाहिरबाट आएका केही जहाज अवतरण हुन नसकेपछि फर्किएका थिए।

उडान प्रभावित भएपछि विमानस्थल पुगेका यात्रुले पनि सास्ती पाए। प्रतिकूल मौसमका कारण केही यात्रुले टिकटसमेत रद्द गर्ने र उडान मिति सार्न थालेको हवाई कम्पनीहरूले जनाएका छन्। कतिपय यात्रु उडान रद्द भएपछि गाडी रिजर्भ गरेर गन्तव्यतिर लागेका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार बिहीबारसमेत मौसममा प्रतिकूलता कायमै रहने सम्भावना भएकाले हवाई सेवा थप प्रभावित हुनसक्ने देखिएको छ। मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने महाशाखाले जनाएको छ। विमान कम्पनीहरूले बिहानैदेखि भिजिबिलिटी कम भएपछि उडानहरू प्रभावित भएको सूचना जारी गरेका थिए। तर पहिले नै टिकट काटिसकेका यात्रु उडानका लागि विमानस्थल पुगे पनि उडान रद्द हुँदा समस्यामा परे।

त्यस्तै भिजिबिलिटी कम भएका कारण धनगढी, नेपालगन्ज र पोखरा, जनकपुर विमानस्थल पनि वर्षाका कारण प्रभावित भए। पोखरा विमानस्थलबाट बुधबार हुने सबैभन्दा बढी उडान प्रभावित भए। काठमाडौंबाट पोखरा हुने सबै उडान रद्द भए। प्रतिकूल मौसमका कारण राति अबेरसम्म थप उडा रद्द हुनसक्ने विमानस्थल कार्यालयले जनाएको छ।

हिमपातका कारण लुक्ला, तुम्लिङटार, सुकेटार, सिमिकोट, फाप्लुलगायतका विमानस्थलमा हवाई सेवा ठप्प छ। ती विमानस्थल हिउँले ढाकिएका छन्। लुक्लाको हवाई सेवा ठप्प हुँदा त्यहाँ रहेका पर्यटकसमेत प्रभावित भए। आन्तरिकतर्फका धेरै उडान प्रभावित भए पनि बाह्यतर्फका भने प्रभावित नभएको विमानस्थल कार्यालयले जनाएको छ। 

बाह्यतर्फका जहाजले आइएफआर प्रविधिबाट उडान भर्ने भएका कारण प्रभावित नभएको जनाइएको छ। बाह्यतर्फका उडान डेढ घण्टासम्म डिले (ढिलो) भए पनि उडान तथा अवतरण रोकिएन। आबुधावीबाट आएको एयर अरेबियाको जहाज कोलकाता डाइभर्ट भए पनि अन्य उडान प्रभावित नभएको कार्यालयले जनाएको छ। बाह्यतर्फ बुधबार ३० उडान र त्यति नै संख्यामा अवतरणको तालिका रहेको थियो।

प्रकाशित: १५ पुस २०७८ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App