coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मिर्गौला पीडितलाई दुई लाख सहयोग

तनहुँ समाज हङकङले दुवै मिर्गौला पीडित तनहुँको व्यास नगरपालिका–९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ। दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।  

उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्तमान अध्यक्ष जङ्गबहादुर थापाले पीडित गुरुङलाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै समाजका पूर्वअध्यक्ष गुरुङले सामाजिक काम गर्दै आएको समाजले आफ्नो क्षमताले भेटेसम्म विभिन्न रोगबाट पीडित भई उपचारमा रहेका बिरामीहरुलाई सहयोग गर्ने बताए।  

यसअघि पनि समाजले तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ घर भएका दुईजना मिर्गौला पीडितलाई चार लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो। दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका ४१ वर्षीय लुमबहादुर रिमालीलाई एक लाख ८२ हजार आठ सय र ३६ वर्षीय नेपालीलाई दुई लाख ७४ हजार दुई सय रुपैयाँ सहयोग गरिएको थियो।  

समाजले तनहुँमा विगत दश वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ। समाजले कोभिड महामारीको बेला दसवटै स्थानीय तहमा १५/१५ हजार रुपैयाँ सहयोग गरेको थियो। साथै, गत असारमा आएको पहिराबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले दुई लाख ४४ हजार रुपैयाँ सहयोग गरेको थियो। समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन १५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ।  

विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको ब्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ। दमौलीस्थित गण्डकी विकास बैंकमा स्थापित अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ। समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ।

प्रकाशित: २४ मंसिर २०७८ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App