१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपाली सेनालाई कार र सुडानमा थप जिम्मेवारी

नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार) र सुडानस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा थप शान्ति सैनिक पठाउने भएको छ।

कारमा जाने गण र सुडान जाने गुल्मस्तरीय टोलीलाई पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तयारी अवस्थामा राखिएको छ। करिब तीन महिनाभित्र सो टोली गइसक्ने छ।

मिसनमा टोली जानुपूर्वको तालिम निरीक्षणका लागि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक कार्यालय न्युयोर्कको ६ सदस्यीय टोली ६ मंसिरमा काठमाडौं आएर फर्केको छ। सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार कारमा जान प्रमुख सेनानीको नेतृत्वमा चार सय ५० जनाको गणस्तरीय टोली मिसनमा जान तयारी अवस्थामा छ।

यसलाई लाइट इन्फेन्ट्री बटालियन भनिएको छ। राष्ट्रसंघीय टोली १० मंसिरमा फर्केर स्वीकृति दिएसँगै करिब तीन महिनाभित्र नेपाली सैनिकको थप टोली ती दुई देशमा परिचालित हुनेछ। सैनिक जनसम्पर्क निर्दैशनालयका अनुसार सुडानको आबेइस्थित राष्ट्रसंघीय मिसनमा ‘फोर्स हेडक्वार्टर सपोर्ट कम्पनी’ का रूपमा खटिन ७७ जना तयारी अवस्थामा छन्। ‘चाँडै नै नेपाली सेना जानेछ, करिब तीन महिनाभित्र थप जिम्मेवारी लिएर नेपाली सेना जानेछ’,सैनिक प्रवक्ता एवं सहायक रथी पौड्यालले भने।

थप सैनिक मागेसँगै राष्ट्रसंघले नेपाली सेनालाई विश्वास गरेको पनि सहायक रथी पौड्यालले बताए। छिट्टै समुदायसँग घुलमिल हुने र पूर्वसर्त नराखी राष्ट्रसंघले दिएको जिम्मेवारीमा खटिने भएकाले पनि नेपाली सेनालाई यो अवसर आएको जंगी अड्डाले जनाएको छ।

हाल नेपाल संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति स्थापनार्थ मिसनमा सहभागी रहेको जंगी अड्डाले जनाएको छ। विश्वका विभिन्न द्वन्द्वग्रस्त देशहरूमा राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये प्रथममा बंगलादेश (६५५४ जना) रहेको छ भने दोस्रोमा नेपाल (५५७१ जना) छ।

तेस्रोमा भारत (५५२५ जना), चौथोमा इथियोपिया (५४८८ जना) र पाँचौ रुवान्डा (५३३१ जना) रहेका छन्। तर यो संख्या घटबढ भैरहने सैनिक जनसम्पर्क निर्दैशनालयले जनाएको छ। संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई थप जिम्मेवारीका लागि पहिलो प्राथमिकतमा राख्दै आएको छ।

यसपटक पनि उसले नेपाली सेनासँग थप सैनिक मागेको थियो। सेनाले पहिले नै तालिम गरेर तयारी अवस्थामा राखेको टोलीलाई नै राष्ट्रसंघले मागेको स्थानमा खटाउने गरेको छ। दक्षिण अफ्रिकी मुलुक कार द्वन्द्वको हिसाबले निकै जोखिममा रहेको छ।

दुई वर्षअघि कारको चौथो ठूलो सहर बाम्बारीलाई कब्जा गर्ने विद्रोहीको प्रयासलाई नेपाली सेनाले असफल बनाइदिएपछि संयुक्त राष्ट्रसंघले नेपाली सेनाको प्रशंसा गरेको थियो। त्यसकै पुरस्कारस्वरूप अहिले त्यहाँ नेपाली सेनालाई थप जिम्मेवारी दिइएको हो।

२०७७ पुसमा त्यहाँ पूर्वराष्ट्रपति फ्रान्सोइस बोजिजे उम्मेदवार हुनबाट वञ्चित भएपछि सुरु भएको विद्रोहले उग्ररूप लिँदा सहर कब्जा गर्ने कोसिस भएको थियो। बाम्बारी सहर नियन्त्रण गर्ने विद्रोहीको प्रयासलाई शान्ति सैनिकमा खटिएको नेपाली सेनाले असफल पारेको थियो। त्यतिबेला कारमा नेपाली सेनाको रणशेर गण शान्ति स्थापक मिसनमा खटिएको थियो।

त्यतिबेला सरकारी सेना तथा सशस्त्र प्रहरीको क्याम्पमा भएको विद्रोहीहरूको आक्रमणको प्रयास विफल भएपछि नेपाली सेनाले विद्रोही समूहबाट ठूलो संख्यामा हातहतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिएको थियो।

संयुक्त राष्ट्रसंघको आग्रहमा शान्ति स्थापनाका लागि नेपाली सेनाको ‘पुरानो गोर्खा बटालियन’ सन् १९७४ पहिलोपल्ट तैनाथ भएको थियो। त्यसभन्दा अघि शान्ति सेनाको पर्यवेक्षणका लागि सन् १९५८ मा लेवनान र १९६६ मा अफगानिस्तानमा नेपाली सेनाको टोली खटिएको थियो।

प्रकाशित: २३ मंसिर २०७८ ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App