१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालगन्ज विमानस्थलभित्रको झाडी र बुट्यान सरसफाइ

नेपालगन्ज विमानस्थलभित्र रहेको रनवे वरिपरिको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिएको थियो।

धावनमार्ग वरिपरि बढेको झाडी र बुट्यानमा बस्ने वन्यजन्तु पटकपटक जहाजसँग ठोकिने क्रम बढ्न थालेपछि बुधबारबाट सरसफाइ सुरु गरिएको हो। विमानस्थलको रन वे वरिपरिको झाडी र बुट्यान हटाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १ सय ५० जना जनशक्तिलाई सरसफाइमा खटाइएको जानकारी दिए। ‘यो काम खासमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो बजेटबाट गर्नुपर्ने हो तर पटकपटक जहाजसँग वन्यजन्तु ठोकिने क्रम बढ्न थालेपछि सुरक्षाका हिसाबले तत्कालै सरसफाइ गर्नुपरेको हो।’बुधबारबाट सुरु भएको सरसफाइ केही दिनसम्म चल्ने प्रजिअ खत्रीले बताए।

सरसफाइमा प्रजिअ खत्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका जिल्लास्थित प्रमुख, नागरिक उड्डयन प्राधिकरणका कर्मचारी लगायतको उपस्थित छन्।

नेपालगन्ज विमानस्थलको सुरक्षा लापर्बाहीले गर्दा पटकपटक यस्ता जोखिमको बेहोर्नु परिरहेको छ। विमानस्थलको हाल १७ सय मिटर लामो धावनमार्ग छ। धावनमार्ग वरिपरि बाक्लो झाडी र बुट्यान छन्। त्यहाँ बँदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन्।

विमानस्थलबाट नेपालगन्ज–काठमाडौं रुटमा मात्र दैनिक आधा दर्जनभन्दा बढी उडान हुन्छन्। यसका साथै पहाडी तथा हिमाली जिल्लामा पनि दैनिक रूपमा दर्जनौं उडान हुने गर्छन् तर विमानस्थलको धावनमार्गमा बढेको वन्यजन्तुको आतंकका कारण प्रायः जहाजले जोखिमपूर्ण उडान भर्नु परिरहेको छ।

विमानस्थलमा पटकपटक जहाजसँग वन्यजन्तु ठोक्किने घटना दोहोरिँदा विमान कम्पनीहरूले नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयलाई लिखित र मौखिक रूपमा ध्यानाकर्षण गराइसकेका छन्। तैपनि कार्यालयले सुरक्षा लापर्बाहीलाई सुधार गर्न सकेको छैन।  

प्रकाशित: १७ कार्तिक २०७८ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App