१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

नेपाल र भारतको सीमानाका गौर–बैरगनिया बोर्डर खुल्ला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो।

कोरोनाको कहर बढेपछि २०७६ को चैतमा नै बन्द भएको सीमानाका १८ महिनापछि २०७८ असोजदेखि संचालनमा आएको हो। नाका संचालनमा आएपछि सीमावर्ती स्थानीय बासीलाई सहज हुन गएको छ। दुई देशका सीमावर्ती नागरिकका बीच बेटीरोटीको सम्बन्ध रहेकाले आफन्त वा नातेदार कहाँ भेटघाट गर्न, कोसेलीपात पुर्‍याउन तथा साथीभाइलाई भेट्न आवागमनमा सहज भएपछि स्थानीय खुसी भएका छन्। सीमावर्ती क्षेत्रका बजारहरु एक अर्का देशमाथि निर्भर रहेको अवस्थामा सीमानाका खुलेपछि सीमावर्ती बजारहरुमा चहलपहल बढेको छ।

सीमानाका संचालनमा आएपछि सीमाभन्दा कम्तीमा बीस किलोमिटर भित्रका दुवै देशका नागरिकलाई सीमावर्ती बजारमा किनमेल गर्न सजिलो भएको छ। दशैँजस्तो चाडको समयमा सीमानाका बन्द हुँदा नेपाल र भारतका सीमावर्ती बजारमा खासै चहलपहल हुन सकेको थिएन। नेपाली तथा भारतीय सीमावर्ती बजारमा ग्राहकको अभाव भएको गुनासो कैयौँ महिनादेखि स्थानीय बेपारीहरुले गर्दै आएका थिए।

एक हप्ता अघि नै दुई देशका सीमावर्ती मुख्य बजारमा पैदल आवागमनको लागि नाका खुल्ला गरिएको भए पनि पैदल आउजाउ गर्न निकै कठिन भएको थियो। दुई देशका स्थानीयबासीको माग अनुसार बुधबार दिउँसोदेखि निजी सबारी साधनले पनि आवागमन गर्न पाउने गरी सीमानाका खुल्ला भएपछि दुई देशका नागरिक आवागमन गर्न थालेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव राय यादवले जानकारी गराएका छन्।

चार चक्काको भन्सार काट्न थालिएको र तीन दिनभित्रको पिसिआर निगेटिभ हुनुका साथै खोपको मात्रा पूरा गरेको प्रमाण पेस गरेमा सजिलै प्रवेश अनुमति दिन थालिएको छ। यद्यपि मोटरसाइकललाई भने आवागमनमा कुनै रोकतोक नरहेको देखिन्छ। बुधबार दिउँसोदेखि सीमानाका भएर आवागमन सहज भए पनि दुवै देशको प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।  

चाडपर्वको समय भएकोले दुवैतिर आवतजावत गर्नेमाथि कडा निगरानी राखिएको देखिएको छ। भारतमा प्रवेश गर्दा र नेपालमा पनि प्रवेश गर्दा सुरक्षाकर्मीले सोधखोज गर्नुका साथै सामानको पनि जाँच गर्ने गरेका छन्। दुवैतिर भन्सारमा पर्याप्त सुरक्षाकर्मी परिचालित गरिएको देखिएको छ।

आवागमन सहज भएपछि दुवैतिरका बेपारी र सर्वसाधारण खुसी भएको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताएका छन्। दुवै देशका नागरिकबीच जनस्तरमा व्यक्तिगत तथा पारिवारिक सम्बन्ध रहेकोले प्रक्रिया पुर्‍याएर निजी सबारी साधन आवागमन गर्न दिने वातावरणले सर्वसाधारण पनि हर्षित भएको अध्यक्ष जयसवालको भनाइ छ।

प्रकाशित: २२ आश्विन २०७८ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App