लामो समयको बन्दाबन्दीले जनजीवन उकुसमुकुस भईरहँदा आर्थिक हिसाबले बिपन्न समुदायका जनमासमा दिग्दारी सुरु भएको छ। बिशेष गरि बिपन्न समुदायका अभिभावकलाई मानसिक दबाब सुरु भएपछि उनीहरु छटपटीमा भएका हुन्। दिनभरको मजदुरी वा दैनिक ज्यालादारीले घर धानेकाहरुको घरमा चुलो बल्न छाडेपछि सकसले सीमा नाघेको हो। विपदका समयमा जहिले पनि पीडितलाई नै पीडा थपिने गरेको हुन्छ।
आर्थिक अभावसँगै महामारीको त्रास अनि मानसिक चिन्ताले ठूलो समुदाय बिक्षिप्त छ। मानसिक स्वास्थ्यलाई समस्याका रुपमा नलिने भएकाले सरोकारवालाले सर्वसाधारणको स्वास्थ्यमा चासो दिने गरेका छैनन्। बिपन्न समुदाय, पढ्न नपाएका विद्यार्थी जस्तै यतिबेला द्वन्द्वपीडितहरु पनि झनै ठूलो तनावमा छन्। राज्यका तर्फबाट राहत दिएपछि भुलिएका द्वन्द्व पीडितहरुको घाउ यस्तो अवस्थामा बल्झिरहने गर्दछ।
अघिल्लो वर्ष माओवादीबाट श्रीमान मारिएकी अनि अर्को वर्ष सेनाले छोरा बेपत्ता बनाइएकी रोल्पा नगरपालिका ६ कोटगाउँकी मेघमाली बुढालाई यो बन्दाबन्दीले दिनुसम्म पीडा दिएको छ। ‘कसो गर्दा छोरो आउछ कि जस्तो लाग्छ। साँझ झिसमिसेमा कोही घरतिर आयो भने छोरो आयो जस्तो लाग्छ।’ जीवनभर पीडाको पहाडले थिचिएकी उनी तन र मन भारी बनाएर बाचिरहेकी छिन्।
द्वन्द्वमा आफन्त गुमाएका, बेपत्ताका परिवार, घाइते अपाङ्ग, हिंसा पीडितका घरमा चुलो सेलाउन सुरु भएको छ। एकातिर आफन्त गुमाउनुको पीडा अर्को तिर आर्थिक अभाव अनि हरपलको मानसिक पीडाले जनजीवन नै अलमलमा परेको छ। श्रीमान गुमाएका वा बेपत्ता पारिएका महिलाहरुलाई मानसिक चोट थपिएको छ। ९ सय ६९ मारिएको रोल्पामा ३३ जना बेपत्ता छन्। घाइते अपाङ्ग र हिंसा पीडितको त तथ्याङ्क गनि नसक्नुको छ।
अस्पताल तथा बिभिन्न स्वास्थ्य संस्थामा आउने नियमित बिरामीको संख्या घट्दो अवस्थामा छ भने आएकाहरुमा मानसिक समस्या देखिने गरेको छ। थाहा नपाइदो तरिकाले मानसिक समस्यामा परेका उनीहरुमा यतिबेला जाँगर नचल्ने, थकान लागिरहने, स्याँस्याँ हुने, जिउ तातो जस्तो हुने जस्ता लक्षणहरु देखा परिरहेका छन्। यतिबेला अस्पताल आउने धेरै जसो बिरामीहरु मुटु धेरै ढुकढुक गर्यो, निद्रा नै लागेन, केही गर्न पनि जाँगर चलेन भन्ने जस्ता समस्या लिएर आउने गरेको चिकित्सकहरु बताउँछन्।
‘मानसिक बिरामी भएर आएको अवस्था छैन तर एन्जाईटीका बढी आउन थालेका छन्। आत्तिएका निद्रा नलाग्ने समस्या लिएर आउँछन्।’ रोल्पा अस्पतालका डा. आधार वली भन्छन्, ‘यस्तो अवस्थाले द्वन्द्वपीडितलाई झनै तनाव थप्छ। आम रुपमा काउन्सिलीङ पुगेको छैन। कोरोना लाग्यो भने मरिन्छकी अथवा उपचार कसले गरिदिन्छ। बाहिर जानु पर्यो भने के गर्ने धेरेलाई चिन्ता छ। यसको उपाय काउन्सिलीङ नै हो। यतिबेला मान्छेहरु सुत्नै नसकेको अवस्था छ।’
डा. वलीका अनुसार अस्पतालमा आउने बिरामीहरु रोग ल्याएर भन्दा पनि तनावले आउने गरेका छन्। ‘अधिकांसमा आत्तिने, मुटु ढुकढुक हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने समस्या देखिन्छ। यसले आम रुपमा दीर्घकालीन असर पार्न सक्छ।’ उनी भन्छन्, ‘पछिल्लो समय विद्यार्थीहरुलाई पनि तनाव सुरु भएको छ। केही विद्यार्थीहरु फोनमा मानसिक समस्या लिएर आउने गरेका छन्।’
देशमा रहेका तीन तहका सरकारहरु जति बेला पनि सत्ता र राजनीतिको धुनमा दौडिरहँदा मानसिक स्वास्थ्य जस्तो सम्बेदनशील विषय ओझेल परिरहेको छ। ब्यक्ति मानसिक रुपमा स्वस्थ्य नहुँदासम्म गतिशिल हुन सक्दैन भन्ने सरोकारवालाको बुझाई नभएका कारण पनि जनस्वास्थ्यमा चासो पुग्न नसकेको चिकित्सकहरु बताउँछन्।
प्रकाशित: ४ असार २०७८ ०९:३० शुक्रबार