२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पामा पुरातात्विक मूर्ति चोरी

डोल्पाको काइके गाउँपालिका–१, टाछिङस्थित जंगलको बीचमा रहेको खागर बौद्ध गुम्बाका ऐतिहासिक महत्वका मूर्तिहरु चोरी भएका छन्। मन्दिरमा राखिएका त्रिकाल बुद्धका दुई थान मूर्ति चोरी भएका हुन्।

तीन/चार सय वर्ष पहिला राखिएका उक्त मूर्ति हराएका वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले बताए। चैत २४ गते स्थानीय उक्त मन्दिरमा गएर पूजाआजा गरेका थिए। मंगलबार स्थानीय घेगा पर्वमा लिंग चढाउन जाँदा मूर्ति हराएको थाहा भएको उनले बताए। ‘चैतमा पूजाआजा गरेर गाउँले फर्किएका थिए,’ उनले भने, ‘मंगलबार लिंगो हाल्न जाँदा ढोका खुला अवस्थामा थियो।’ भित्र गएर हेर्दा पुरातात्विक महत्व बोकेका मूर्ति हराएको उनको भनाइ छ।

मन्दिरको ढोका फोरेर मूर्ति चोरी भएको प्रहरीले जनाएको छ। धार्मिक आस्थाको धरोहर मानिने यो मन्दिर गाउँभन्दा करिब चारघण्टा टाढा जंगल बीचमा छ। ‘मन्दिरभन्दा नजिक चारघण्टा दुरीमा कोलागाउँ पर्छ,’ वडाध्यक्ष लामाले भने, ‘मन्दिरमा असुरक्षाका कारण मूर्ति चोरी भयो।’ यहाँ प्रत्येक वर्ष भदौ ११ गतेदेखि तीन दिनसम्म मेला लाग्ने स्थानीयको भनाइ छ। मूर्ति चोरी भएपछि स्थानीयले प्रहरी प्रशासनसँग गुहार मागेका छन्।  

यसभन्दा अघि करिब २० वर्ष पहिला पनि यी मूर्ति चोरी भएका थिए। हराएको भोलिपल्ट मन्दिर नजिकै मूर्ति फेला परेका थिए। ‘साउनभदौमा गोठालोले पत्ता लगाएको थियो,’ उनले भने, ‘हराएको कुरा तत्कालै थाहा पाएपछि खोजी सुरु गरिएको थियो। यसपालि भने कहिले हरायो भन्ने नै थाहा नभएको र चोरी गर्ने भागेको भए समस्या हुने स्थानीयको भनाइ छ। हराएका मूर्ति मान्छेभन्दा ठूला भएको वडाध्यक्ष लामाले जनाए।  

सम्पदा संरक्षणमा चासो नहुँदा मूर्ति चोरी भएको स्थानीयहरु बताउँछन्। यस्ता ऐतिहासिक सम्पदाको सरकारले सुरक्षा गर्नुपर्ने उनीहरुको भनाइ छ।

प्रकाशित: १६ वैशाख २०७८ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App