१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विवाद मिल्यो, वैशाखभित्र कालोपत्रे

सडक

राजमार्गका लागि जमिन छाड्ने विषयमा भएको विवादका कारण १ वर्षदेखि अलपत्र परेको निर्माणाधीन ‘मदन भण्डारी लोकमार्ग’ को गाईघाटस्थित पिजी चोकको काम सुचारु भएको छ। सडक दायाँबायाँका स्थानीयले जमिन छाड्न नमानेपछि २०७६ वैशाखभित्रै सकिने निर्माण रोकिएको थियो। अहिले विवाद सल्टेसँगै काम सुरु भएको हो।  

गाईघाट बजारको १ किलो २ सय मिटर खण्ड सडक गत माघभित्रै कालोपत्रे भइसक्दा पनि विवादका कारण पिजी चोकस्थित ५ सय मिटरमा भने नाला र विद्युत् पोल सार्नसमेत सकिएको थिएन। नगरपालिका, मदन भण्डारी लोकमार्ग, निर्माण व्यवसायी र प्रशासनको सहभागितामा पटकपटकको छलफलपछि भएको सहमतिले विवाद समाधान भएपछि अहिले कामले गति लिएको हो। सहमतिसँगै वर्ष दिनदेखि रोकिएको काम महिना दिनदेखि फटाफट भइरहेको मदन भण्डारी लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ।  

कार्यालयका अनुसार विवाद समाधान गर्न दुवैतर्फ तोकिएभन्दा थप २÷२ मिटर बढी जमिन फराकिलो पारिएको छ। चोककै पूर्वपट्टि दुवैतर्फ आधा दर्जन स्थानीयले जमिन छाड्न नमानेपछि साँघुरो हुने भनिएकोमा २/२ मिटर छाड्न राजी भएसँगै लगभग ५० मिटर सडक तोकिएभन्दा फराकिलो भएको छ। तोकिएको २२ मिटर चौडाको सडक २५ मिटर हुने भएको स्थानीयले बताए। विवाद सुल्झेपछि दुवैतर्फ नाला र विद्युत् पोल सार्ने काम सकेर कालोपत्रेअघि गर्नुपर्ने ‘प्रिपिच’ को काम भइरहेको छ। लोकमार्ग कार्यालय प्रमुख (डिई) बेलबहादुर भुजेलले लामो समयदेखि विवादका कारण अवरुद्ध भएको काम विवाद सल्टेपछि दु्रतगतिमा भइरहेको बताए। उनका अनुसार आउँदो वैशाखभित्र कालोपत्रे गर्नेगरी तीव्रगतिमा काम भइरहेको छ।

डिई भुजेलले चोकको बाहेक गाईघाट बजारक्षेत्रको बाँकी सडक वर्ष दिनअघि नै कालोपत्रे गरिसकिए पनि त्यहाँ विवादकै कारण काम अघि बढ्न नसक्दा बजारको शोभा नै बिग्रेको थियो। विवादकै कारण चोकदेखि पूर्वतर्फ बरुवा खोला पुलसम्मको सडक अहिले पनि धुलाम्य राख्नु परेकोमा सहमतिपछि सुचारु भएकाले अब छिट्टै कालोपत्रे गर्ने तयारी भइरहेको उनी बताउँछन्। बरुवा पुल एप्रोचका दुवैतर्फको कालोपत्रे पनि रोक्नुपरेकोमा पुलको पूर्वतर्फको एप्रोच ५ महिनअघि नै कालोपत्रे भइसकेको छ। तर, पश्चिमतर्पmको एप्रोच चोकसँग जोडिएको खण्ड भएकाले काम ढिला गर्नु परेको थियो। 

अहिले पश्चिमतर्फ पनि एप्रोचको भाग कालोपत्रे भइसकेको छ भने अब चोकसम्मको कालोपत्रे डेढदुई महिनाभित्रै गर्नेगरी कामलाई तीव्रता दिइएको छ। स्थानीय मोहनसिंह तामाङले लामो समयको विवाद समाधान भएकाले अब छिट्टै घरअगाडिको सडक कालोपत्रे हुने बताए। छिमेकीहरू युवराज बुढाथोकी, शिव कटुवाल, बबरबहादुर थापा, रवीन्द्र राईलगायत आधादर्जन स्थानीयबीच कुरा नमिल्दा एक वर्षअघि सक्नुपर्ने कालोपत्रेको काम भर्खर सुरु गर्नुपर्ने स्थिति आएको तामाङले बताए। सीमित व्यक्तिबीचको विवादले राष्ट्रिय गौरवको योजनाजस्तो सडकको काममा ढिलाइ भएको स्थानीय बताउँछन्।  

गत २०६५ भदौ ३ गतेको भीषण वर्षापछि सुनसरीको इनरुवा–कोसी ब्यारेज खण्डको भान्टाबारी नजिकै पूर्व–पश्चिम महेन्द्र लोकमार्गमा कोसी कटान हुँदा महिनौं सडक अवरुद्ध भएको थियो। त्यसकै उपज धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा० जोड्ने वैकल्पिक लोकमार्गको अवधारणा अघि सारिएको थियो। जस अनुसार निर्माणाधीन लोकमार्गलाई नै सरकारले गतवर्ष मदन भण्डारी लोकमार्गमा परिणत गरेको हो। धरानदेखि हेटौंडासम्म १ सय ७३ किलोमिटर लामो लोकमार्गलाई मदन भण्डारी लोकमार्गमा परिणत गरेसँगै पूर्वमा झापाको बाहुनडाँगीदेखि पश्चिममा डढेलधुराको रूपालसम्म १२ किलोमिटर लामो सडक बन्ने क्रममा छ।

लोकमार्गको गाईघाटदेखि पूर्वतर्फ सुनसरीको धरानसम्म र पश्चिमतर्फ कटारीसम्म केही खण्ड र पुल एप्रोचबाहेकमा कालोपत्रेको काम सकिइसकेको छ। गाईघाट–कटारी खण्डको उदपुरगढी र कटारी ७ को बकपति क्षेत्रका ५ किलोमिटर हाराहारीमा कालोपत्रे गर्न बाँकी छ भने पुल एप्रोचबाहेक कटारीदेखि सिन्धुलीसम्मको काम लगभग सकिएको डिई भुजेलले बताएका छन्। त्योसँगै पुल एप्रोच पनि चालु वर्षभित्रै कालोपत्रे गरिसक्ने योनजा रहेको उनको भनाइ छ। त्यससँगै पहिले छुट्न गएको गाईघाटपूर्वका विभिन्न ४ वटा खहरे खोलामा पुल लगाउने गरी प्रक्रिया अघि बढेको र छिट्टै काम सुरु हुने डिई भुजेलले बताए।  

गाईघाटदेखि चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारसम्मका असारी, इक्राहा, ज्यामिरेलगायत ४ वटा खोलामा पुल निर्माणको ठेक्का लागिसकेकाले अब काम सुरु हुन लागेको कार्यालयले जनाएको छ। ती पुलको निर्माणसँगै सोही खण्डको भातीखर्क, देवधार र बसाहामा निर्माण सम्पन्न भएका ४ वटा पुलको एप्रोज कालोपत्रे पनि यसै वर्ष सकिने भुजेलले बताए। यी पुल बनिसक्दासम्म गाईघाटदेखि हेटौंडासम्मकै काम पूरा गरिसक्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको डिई भुजेलले जानकारी दिए।  

२०७४ भदौदेखि नर्मिाण सुरु भएको काम ३ वर्षभित्र सक्नेगरी जेडआइइसी/लामा/शर्मा जेवीले सम्झौता गरेको छ। सरकारले लोकमार्गको सडकतर्फ साढे ४ अर्ब र पुलतर्फ डेढ अर्बको प्रारम्भिक सम्झौता गरेकोमा विभिन्न कारणसँगै पछिल्लो समय कोभिड कहरले गर्दा केही समय थप्नुपर्ने भएकाले अद्यावधिक ९भिओ० गर्दा लागत केही बढ्ने अनुमान कार्यालयको छ।

प्रकाशित: २५ चैत्र २०७७ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App