१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उपमहानगरका गतिविधि मोबाइलमा

धनगढी उपमहानगरपालिका–११, बेलाका महावीर रानाले हिजोआज राना समुदायका लागि आउने बजेट तथा गाउँको विकासका बारेमा उपमहानगरपालिकाको कार्यालय धाउन छाडेका छन्। सुरुमा गाउँको विकासे कार्यक्रमका बारेमा जानकारीका लागि उनी उपमहानगरपालिकाको कार्यालय आउजाउ गर्न १२ किलोमिटर तय गर्नुपथ्र्यो। तर उपमहानगरपालिकाले आफूले सञ्चालन गर्ने हरेक योजनामा विनियोजित बजेट, सम्झौता भएको रकम, भौतिक र वित्तीय प्रगतिलगायत विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरेपछि उनी भने धनगढी पुगेका छैनन्।

‘सुरुमा गाउँको विकास बारे जानकारी लिन धनगढी पुग्ने गरेको थिएँ,’ महावीरले भने, ‘पछिल्लो समयमा भने घरमै बसेर जानकारी लिने गरेको छु।’ राना कला एवं संस्कृति संरक्षण समाज बेलाका अध्यक्ष समेत रहेका महावीरले समाजको भवन निर्माणका लागि उपमहानगरपालिकामा प्रस्तावना पेश गरे। उनको प्रस्तावना पास भयो र उपमहानगरपालिकाले पूर्वाधार व्यवस्थापन प्रणाली (आइएमएस) मार्फत सार्वजनिक गर्‍यो। महावीरले मोबाइल डाटा अन गरे र आइएमएस एप्स खोले। उनको प्रस्तावना पास भएको थाहा पाए। तुरुन्तै साथीहरूलाई लिएर उनी उपमहानगरपालिकाको कार्यालय पुगेर सम्झौता गरे। ‘प्रस्तावना पास भएको खबर पनि मोबाइलकै एप्समा आयो,’ उनले भने, ‘एप्सले गर्दा हामीलाई कार्यालय पुगेर सूचना हेर्नुपर्ने झन्झट हटेको छ।’

उपमहानगरपालिकाले र व्यवस्थापन प्रणाली (आइएमएस) लागु भएपछि एप्स डाउनलोड गरेर योजनाको विस्तृत विवरण मोबाइलबाटै हेर्न सकिने उपमहानगरको सूचना प्रविधि अधिकृत सूर्य उपाध्यायले बताए। यसबाहेक अनलाइन लगअन गरेर पनि उपभोक्ता तथा सेवाग्राहीले योजनाबारे जानकारी लिने गरेको उनको भनाइ छ। उपमहानगरले आइएमएस प्रणालीमा पूर्वाधारतर्फका ५ सय ३४ वटा योजनाको विवरण राखेको छ। उपभोक्ता समितिमार्फत निर्माण हुने ४ सय ४३ र टेण्डरमार्फत निर्माण हुने ९१ वटा योजनाको बजेट, सम्झौता मिति, निर्माण सम्पन्न गर्नुपर्ने अवधिलगायत विवरणहरू आइएमएसमा राखिएका छन्।  

झण्डै ७० करोड लागतका यी योजनाको हालसम्मको भौतिक र वित्तीय प्रगति विवरण पनि आइएमएस एप्सबाट घरमै हेर्न सकिने उनले बताए। ‘यी योजनाहरू कुनकुन वडामा सञ्चालन भइरहेका छन्, अहिलेको प्रगति के छ, उपभोक्ता समितिमा कुन–कुन व्यक्ति छन् भन्ने विषय पनि आइएमएस प्रणालीमै राखेका छौँ,’ उनले भने, ‘यसले योजनाहरूबारे बुझ्न चाहेमा उपमहानगरपालिका आउनु पर्ने बाध्यता हटेको छ।’

योजनाको अनुगमनमा जाने प्राविधिक कर्मचारी पनि फिल्डमा पुगे/पुगेनन् भनेर आइएमएस प्रणालीबाटै जान्न सकिने नगर प्रमुख नृपबहादुर वडले बताए। फिल्डमा गएपछि सम्बन्धित योजनाको कामको फोटो ‘जीपीएस सिस्टम’मार्फत् आइएमएसमा पठाउनु पर्ने व्यवस्था गरिएको बताउँदै उनले भने,‘पहिले प्राविधिक कर्मचारी फिल्डमा गए नगएको थाहा नभएपछि अहिले फोटो खिचेर हाल्नुपर्ने भएपछि जीपीएस सिस्टमबाट पुगे नपुगेको थाहा हुने गरेको छ।’

प्रकाशित: १० चैत्र २०७७ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App