१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वमा चराको संख्या २२ प्रतिशतले बढ्यो

पूर्वी नेपालमा चराको वासस्थानको रुपमा चिनिएको सुनसरीको दक्षिणी क्षेत्र बर्जुताल र कोशी टप्पुमा यस वर्ष संख्याका आधारमा २२ प्रतिशतले चराको संख्या बढेको छ। बर्जु ताल र कोशी टप्पु तथा आसपासका क्षेत्रमा यस वर्ष ६३ प्रजातिका १९ हजार ५४५ चराको संख्या पुगेको छ।  

बर्जुतालमा भने वर्षेनी बढ्दो क्रममा रहेको नयाँ बासस्थानको रुपमा चनिएको छ। यहाँ यस वर्ष मध्य हिउँदमा गरिएको गणना अनुसार ३७ प्रजातिका ११ हजार २५ चराको संख्या रहेको सार्वजनिक गरिएको छ।  

बर्जु तालमा अघिल्लो वर्षको हिउँदे गणनाका क्रममा नौ हजार पाँच सय हाराहारी चरा रेकर्ड गरिएको थियो। बर्जु तालमा सन् २०१९ मा चार हजार पाँच सय हाराहारी, सन् २०१८ मा पाँच हजार हाराहारी र सन् २०१७ मा दुई हजार पाँच सय हाराहारी रेकर्ड गरिएको थियो।  

यसरी हरेक वर्ष यहाँ बसाई सरी आउने चराको संख्या बढ्दो छ। चरा विज्ञ सञ्जिव आचार्यका अनुसार यस वर्षको गणनामा बसाई सरी आउने हाँस प्रजाति विगतका वर्षका तुलनामा कम आएपनि संख्यात्मक हिसावले भने बढेको पाइएको छ।  

महाभारत कालदेखि नै बर्जुताल रहेकोमा २०२६ सालताका तालभन्दा पश्चिम तर्फबाट खेतमा पानी लगाउन नहर खनिएपछि तालको पश्चिमतर्फको बाँध फुटेर पूर्णरुपमा सुख्खा भएको थियो। ०५२ सालदेखि तालको संरक्षणमा स्थानीयबासी जुटेपछि अहिले व्यवस्थित हुँदै गएको छ। ०२६ सालअघिसम्म  बर्जुतालमा हजारौ–हजारको संख्यामा चरा आउँथे। तर,  बीचमा तालको बाध भत्किएर सुख्खा भएकाले गर्दा आएनन, बाध बाधेर व्यवस्थित गर्न थालेसँगै चराको संख्या पछिल्ला वर्षमा बर्षेनी बढ्न थालेको हो। एक सय ५२ विघा क्षेत्रफलमा बर्जु ताल फैलिएको  छ।  

कोशी टप्पु तथा आसपासका क्षेत्रमा यस वर्ष ५६ प्रजातिका सात हजार ३८० पुगेको छ।  कोशी टप्पुमा अघिल्लो वर्ष छ हजार हाराहारी मात्र चरा रेकर्ड गरिएका थिए। कोशी टप्पुमा चराको संख्या घटनुको कारणमा कोशीमा पानीको वहाव घटदा सीमसार क्षेत्र कम हुनु, खेतबारीमा चरा चर्न जादा सिकारीले निसाना बनाउनु र आरक्ष क्षेत्रमा मानवीय चाप बढ्नु हो।  

‘चराको स्वर्ग’ भूमि नामले चिनिदै आएको कोशी टप्पु वन्य जन्तु आरक्षमा भने २०६५ भदौ–२ गते पश्चिम कुसाहा–४ मा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछि कोशी टप्पुको सुनसरीमा पर्ने ठुलो भाग मरुभुमि बनाएपछि चराको संख्यामा कमी आउन थालेको थियो। पूर्वी तटबन्ध भत्किएपछि पुर्ननिर्माणको काम गर्दा मानवीय चापसँगै वढी क्षमताको मेसीन चलाउदा वातावरण अशान्त भएकाले सोही समयदेखि पाहुना चरा नगन्य आउने गरेको र रैथाने चरा अन्यत्र गएको अनुमान गरिन्छ।  

नेपालमा कुल ८ सय ८८ प्रजातिका चरा पाइन्छन्। जसमध्ये लगभग २ सय  प्रजाति सिमसारमा निर्भर छन्। हाँसका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन्। कोशी टप्पुमा मात्र पाँच सय ३१ प्रजातिका चरा पाइने गरेका छन्। यहाँ विश्वमै संकटापन्न सूचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन्।

 

प्रकाशित: २८ पुस २०७७ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App