१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीको धुँवाले छेक्यो माछापुच्छ्रे

माछापुच्छ्रे हिमालको फेदमा भीषण आगलागी

माछापुच्छ्रे क्षेत्रमा लागेका आगो र त्यसले छेकेको हिमाल । तस्बिर सौजन्यः सन्तबहादुर लामिछाने

माछापुच्छ्रे हिमाललाई नै बाक्लो धुँवाले छेक्नेगरि तल्लो भेगमा भीषण आगलागी भएको छ । चारदिनदेखि निरन्तर आगलागी भएको प्रत्यक्षदर्शी एकजना पाइलटले बताएका छन् ।  

पोखराबाट हेलिकप्टर आकारको जाइरोकप्टर उडान गरेर पर्यटक घुमाउन लगेका पाइलट सन्तबहादुर लामिछानेका अनुसार उक्त क्षेत्रमा चारदिनदेखि लागेको आगो अझै निभेको छैन । ‘कसले आगो लगायो भनेर त मलाई थाहा छैन । तर, चारदिनदेखि निरन्तर आगलागी भएको छ,’ उनले भने । लामिछानेले नै उक्त क्षेत्रको आकाशमा उडिरहँदा तल आगोको मुस्लो देखिने गरेको बताए ।  

लामिछानेले करिब ९ हजार फिट उचाईबाट शुक्रबार बिहान ९ बजे तस्बिर खिचेका थिए । उनका अनुसार माछापुच्छ«ेको फेदिमा करिब १० हजार फिटको उचाईको जंगलमा आगलागी भएको छ । आगलागी बढेर करिब १२ हजार फिटसम्म उक्लिसकेको उनले बताए । ‘त्यहाँ मानवबस्ती त छैन । तर, आगलागी भने भीषण छ,’ उनले भने, ‘आगलागी भएको ठाउँभन्दा निकै नै तल बस्ती छ ।

हेलि एयरले संचालन गरेको जाइरोकप्टर उडान गरिहँदा लामिछानेले कोर्चुन भन्दा माथि पनि आगो लागेको बताए । तारा हिलटप क्षेत्रमा पनि आगो लागेको उनले जानकारी दिए । ‘आगलागीपछिको बाक्लो धुँवाले हिमाल नै छेकेको छ,’ उनले भने, ‘पहिला पहिला पनि बेलाबेला आगलागी भएको त देखिन्थ्यो । तर, भीषण आगलागी भएको देखेको थिइन ।’ उनले पोखरामा रहेर अल्ट्रालाइट जहाज उडान थालेको १५ वर्ष अवधिमा बारम्बार उक्त क्षेत्रमा उडान भरिरहेका छन् । ‘हिमालै छेक्नेगरि तुँवालो बाक्लो छ,’ उनले भने ।

आगलागी क्षेत्र माछापुच्छ«े गाउँपालिका–१ मा पर्छ । वडाअध्यक्ष वीरेन्द्र गुरुङका अनुसार वडाको सबैभन्दा अन्तिम बस्ती रुम्जा हो । रुम्जाबाट त्यो जंगलसम्म पुग्न करिब डेढदिन हिड्नुपर्छ । अहिलेसम्म आगलागी भएकोबारे जानकारी नपाएको उनले बताए । ‘गोठाला वा चोरीशिकारीका लागि पुगेका व्यक्तिले आगो लगाएका हुनसक्छन,’ उनले भने ।  

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सुर्य गुरुङका अनुसार काठदाउरा, वन्यजन्तु चोरीशिकारीका लागि गएका व्यक्तिले त्यहाँ आगो लगाएको हुनसक्न अनुमान छ । ‘त्यहाँ बस्ती छैन । त्यसैले चोरीशिकारीका लागि गएका व्यक्तिले मात्र आगो लगाउन सक्छन,’ उनले भने । आगलागी हुँदा वन्यजन्तु, रुखविरुवा नोक्सान हुने उनले बताए । 

प्रकाशित: १७ पुस २०७७ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App