सुत्केरी हुनु एकसाता अघिदेखि महिलालाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न शहिद लखन गाउँपालिका– १ बक्राङका स्थानीयको पहलमा ‘आमा घर’ निर्माण हुने भएको छ ।
प्रति घरधुरी तीनसय ५० रुपैयाँ संकलन गरेर तीनलाख र स्वेच्छिक तीनगरी छ लाख रुपैयाँ हालसम्म आमाघरका लागि संकलन भईसकेको छ । गाउँपालिकाले अपुग रकम लगानी गर्ने अध्यक्ष रमेशबाबु थापाले बताए । आमा घर स्वास्थ्य चौकी सँगै निर्माण गरिएको छ । उक्त घरको गाउँपालिका अध्यक्ष थापा मगरले शिलान्यास गरेका हुन् ।
‘प्रसुती हुनु अघि मात्र होईन, भईसकेको एकसाता सम्म पनि आमा र बच्चा स्वास्थ्यकर्मीको निगरानीमा रहनेछन,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले भने । सुरक्षित प्रसुती सेवा दिन आमा घरले मद्दत पुग्ने अपेक्षा रहेको उनले बताए ।
अहिले बक्राङ स्वास्थ्य चौकीको सेवा क्षेत्र भित्र मासिक दुईजना महिला सुत्केरी हुन्छन् । अहिले बन्न लागेको आमा घरको क्षमता तीनजना सम्मको हुने उनले बताए । आमा घरमा परिवार सदस्यले रेखदेख गर्नेछन भने निशुल्क खान बस्न सेवा प्रदान गरिनेछ । बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भएकाले आमा घरको उपयोग हुने वडा अध्यक्ष दिपबहादुर केसीले बताए । प्रसुती गराउनकै लागि सदरमुकाम र जिल्ला बाहिरका ठुला अस्पताल जानुपर्ने बाध्यता कम हुने अपेक्षा गाउँपालिकाको छ ।
प्रकाशित: ५ पुस २०७७ ०४:५२ आइतबार