पिसीआर परीक्षण गर्ने सहमतिपछि तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन्। तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरको पिसीआर परीक्षण हुने भएपछि शुक्रबारदेखि शुरु आन्दोलन आज स्थगित भएको हो।
आरडिटी परीक्षण पश्चात् पोजिटिभ देखिएका मजदुरलाई काममा लगाएको भन्दै मजदुरले शुक्रबार दिउँसोदेखि आन्दोलन गरेका थिए। आफूहरुको माग बमोजिम पिसीआर परीक्षण हुने भएपछि आन्दोलन स्थगित गरिएको मजदुर मोती श्रेष्ठले जानकारी दिए। 'पोजिटिभ आएका मजदुरलाई आइसोलेशनमा नराखी काममा लगाएपछि विरोध गर्दै आन्दोलनमा उत्रिएका हौँ', श्रेष्ठले भने, 'पिसीआर परीक्षण पश्चात् काम गर्ने गरी आन्दोलन स्थगित गरेका छौँ।'
यस अगाडी मजदुर र निर्माण कम्पनीबीच दशैं बिदाबाट फर्किएपछि पिसीआर परीक्षण गर्ने सहमति भएको थियो। तनहुँ जलविद्युत् आयोजनाका प्रमुख अच्युत घिमिरेले ६९ मजदुरको आइतबार पिसीआर परीक्षण गरिने जानकारी दिए।
दशैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए। नेपाली मजदुर दशैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युत्गृह निर्माणको काम सुचारु राखेका थिए। असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने मागसहित मजदुरले आन्दोलन गरेका थिए। निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सुचारु भएको थियो।
सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ। एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ।
यो पनि पढ्नुहोस्
कोरोना संक्रमितलाई काममा लगाइएको भन्दै तनहुँ हाइड्रोका मजदुर आन्दोलितप्रकाशित: १५ कार्तिक २०७७ १३:०२ शनिबार