१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तिलोत्तमाले संक्रमितको शव व्यवस्थापनको जिम्मा लिने

पहिलो पिसीआर निःशुल्क गर्ने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो नगरभित्र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनको जिम्मा लिने भएको छ। केन्द्र सरकारले कोरोनाको निःशुल्क उपचार नगर्ने र होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भए शव व्यवस्थापन परिवारले नै गर्नुपर्ने निर्णय गरेका बेला तिलोत्तमाले भने शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको हो।  

नगरपालिकाका कार्यबाहक नगरप्रमुख जागेश्वरी चौधरीको अध्यक्षामा  आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले नगरबासीको निःशुल्क पिसीआर परीक्षण र मृतकको शव व्यवस्थापनको जिम्मा लिने निर्णय गरेको हो। केन्द्र सरकार शव व्यवस्थापनको जिम्मेवारीबाट पछि हटेकाले नगरबासी संक्रमितको मृत्यु भए नगरपालिकाले नै शव व्यवस्थापन गर्ने निर्णय गरिएको कार्यबाहक प्रमुख चौधरीले बताइन्। शव व्यवस्थापनको आवश्यक तयारी गर्न स्वास्थ्य शाखालाई जिम्मेवारी दिइएको उनले बताइन्। यसअघि नगरपालिकाको समन्वयमा नेपाली सेनाले संक्रमितको शव व्यवस्थापन गर्दै आएको थियो।  

त्यस्तै कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा पिसीआर गराउनु पर्ने नगरबासीका लागि पहिलो पटकको पिसीआर परीक्षण निःशुल्क गर्ने निर्णय पनि बैठकले गरेको छ। नगरपालिकाको खर्चमा पिसीआर गर्न सरकारी प्रयोगशालासंग सम्झौता गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। नगरपालिकाले संचालन गरेको ४० बेडको शंकरनगर आइसोलेसन सेन्टरमा बेड र अक्सिजन सिलिन्डर थप गर्ने निर्णय पनि बैठकले गरेको छ।

तिलोत्तमामा हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। नगरमा ३ सय २५ जना सक्रिय संक्रमित छन्। २३ जना नगरपालिकाको आइसोलेसनमा छन्। बाँकी होम आइसोलेसनमा छन्। यो नगरमा अहिले सम्म ७ सय २६ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ सय ९३ जना कोरोना मुक्त भइसकेका छन्। नगरप्रमुख बसुदेव घिमिरे पनि कोरोना संक्रमण भएर अहिले होम आइसोलेसनमा बसेका छन्।  

दसैं तिहार मनाउन बहिरी मुलुक तथा देशका बिभिन्न स्थानबाट आउने नगरबासीलाई स्वास्थ्य सुरक्षा सतर्कता अपनाउँदै सुरक्षित रुपमा घरमै बस्न पनि नगरपालिकाले आग्रह गरेको छ।

प्रकाशित: ४ कार्तिक २०७७ १२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App