सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फर्छ्यौट भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए ।
आर्थिक वर्ष २०७५/०७६ मा नौ हजार १९३ मुद्दा फर्छ्यौट भएकोमा गत आर्थिक वर्षमा १० हजार ७५९ थान मुद्दा फर्छ्यौट भएका छन् । अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरिआएका २३ हजार ९५२ थान र आव २०७६/०७७ मा नयाँ दर्ता भएका ११ हजार १७९ गरी कूल ३५ हजार १३१ मुद्दामध्ये १० हजार ७५९ मुद्दा फर्छ्यौट भएका छन् ।
यसैगरी गत आर्थिक वर्षमा उच्च अदालतमा ९०.३३ प्रतिशत र जिल्ला अदालतको ५८.३७ प्रतिशत मुद्दा फर्छ्यौट भएको मुख्य रजिष्ट्रार निरौलाले बताए । उनका अनुसार लकडाउनको अवधिमा बन्दी प्रत्यक्षीकरण र कोभिड–१९ सँग सम्बन्धित एक हजार ८७५ थान मुद्दा दर्ता भएको छ ।
सर्वोच्चमा बन्दाबन्दीको वेला १० हजार ७५३ मुद्दा दर्ता भएकोमा दुई हजार ४१५ मुद्दा फर्छ्यौट भएका छन् । यो बन्दाबन्दीको वेला दर्ता भएका कूल मुद्दामध्ये २२.४५ प्रतिशत फर्छ्यौट भएको हो । सर्वोच्चले बन्दाबन्दीको बेलामा सूचना प्रविधिको प्रयोग गर्दै १४ वटा उच्च अदालत र मातहतका अदालतमा भर्चुअल रुपमा अदालतको निरीक्षणसमेत गरेको छ ।
मुख्य रजिष्ट्रार निरौलाले भिडियो कन्फरेन्सबाट अदालतमा बहस गर्ने व्यवस्था मिलाउन थालिएको जानकारी दिए । 'विदेशमा पनि भिडियो कन्फरेन्सबाट मुद्दाको बहस हुन थालेका छन्,' उनले भने, 'कानून व्यवसायी अदालत नपुग्नुपर्ने र मुद्दा चाँडो किनारा लगाउनका लागि भिडियो कन्फरेन्सबाट मुद्दाको बहस गर्न थालिएको हो ।'
सर्वोच्चमा पाँच वर्ष नाधेका ७२५ मुद्दा रहेका छन् ।
प्रकाशित: २ श्रावण २०७७ १३:३१ शुक्रबार