१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लगातार बर्षाले बाँझो जमिनमा रोपाँई, किसानलाई चटारो

रोपाँई गरिरहेका किसान । फाईल तस्बिर : नागरिक

गत वर्ष भन्दा यस वर्ष मनसुन चाँडै सक्रिय भएसँगै गोरखामा धमाधम रोपाई चलिरहेको छ । १२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गोरखामा करिब सात हजार हेक्टरमा रोपाँई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  

कृषि ज्ञान केन्द्रको कार्यक्रम मार्फत चालुवर्ष दुई सय ५० हेक्टर थप जमिनमा सिँचाइ सुविधा बिस्तार भएको छ । ‘लगातार बर्षात भएकाले पानी कम हुँदा बाँझो रहने खेत पनि यो वर्ष रोपिएको छ’ कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाले भनिन् ।  

पहाडी र उच्च हिमाली हावापानी रहेको गोरखामा २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । ७१ प्रतिशत जमिनमा आकाशको पानी पर्खेर धान रोप्नुपर्ने बाध्यता किसानलाई छ । ‘रोग किरा लागेन भने यो वर्ष जिल्लाभर धान उत्पादन ५० हजार मेन्ट्रिक टन हुन्छ’, कृषि ज्ञान केन्द्रकी प्रमुख थापाले भनिन् ‘गत वर्ष भन्दा पाँच हजार मेट्रिक टन धान धेरै फल्छ भन्ने अनुमान गरेका छौँ ।’ यस वर्ष बन्दबन्दीको कारण बाँझो खेत धेरै रोपिएका छन् । जनशक्ति गाउँघरमै रहेको र लकडाउनको प्रभाव खाद्यान्नमा पर्न सक्ने भन्दै गोरखामा सबैजसो स्थानीय तहले कृषिमा लगानी बढाएका छन् । साथै बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन गर्ने, मल, बिउमा अनुदान दिने कार्यक्रमले धेरै वर्षदेखि बाँझो रहेका खेत पनि रोपिएको कृषि प्राविधिकहरु बताउँछन् ।  

गत वर्ष यो सिजनमा १५ प्रतिशत खेतमा रोपाईँ भएको थियो । गत वर्ष १० हजार हेक्टरमा धान खेती भएकोमा यस वर्ष दुई हजार हेक्टर थप जमिनमा खेती हुने दावी ज्ञान केन्द्रको छ । ‘धान जोन, सुन्तला जोन, कृषि ज्ञान केन्द्र, सिँचाइ सबडिभिजन, स्थानीय तहले सिंचाईलगायत किसानलाई विविध सुविधा प्रदान गरेका कारण रोपाइँ हुने जमिन थपिएको हो’ केन्द्रकी प्रमुख थापाले भनिन् ‘चक्लाबन्दी गरेर खेती गर्न थालिएको छ । यसले पनि उत्पादन बढाउँछ ।’।  

गोरखामा धान उत्पादन बढे पनि माग अनुसार आपूर्ती अझै पुगेको छैन । जिल्लामा उत्पादन भएको मध्ये १२ प्रतिशत चामल बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । ‘यहाँ उत्पादन भएको चामलले करिब नौ महिना सहजै पुग्ने देखिन्छ’ उनले भनिन् । गोरखाका किसानले उन्नत जातको धान लगाउने क्रम बढ्दो छ । रामधान, सावित्री लगायत उन्नत जात र झिनुवा, अनादी जस्ता रैथाने जातका धान किसानले धेरै लगाएका छन् । यसअघिका वर्षजस्तै यस पटक पनि धान लगाउने बेला किसानले मल अभावको समस्या झेल्नुपर्‍यो ।

प्रकाशित: २८ असार २०७७ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App