९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

बौद्धबाट मुस्ताङ पुगेका वृद्धमा कोरोना

हिमालपारिको जिल्ला मुस्ताङमा पनि कोरोनाका बिरामी फेला परेका छन्।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मुस्ताङको घरपझोङ गाउँपालिकाका ८३ वर्षिय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो।  मुस्ताङमा संक्रमित फेला परेसँगै प्रदेशका सबै ११ जिल्लामा संक्रमण पुगेको छ।  

गत जेठ ३१ गते काठमाडौंको बौद्धबाट मुस्ताङ पुगेका घरपझोङ–१, छैरोस्थित तिब्बतीयन क्याम्प निवासी ८३ वर्षिय पुरुषको घाँसास्थित कोरोनाको आरडिटी क्लिनिकमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो।  असार २ गते स्वाव संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएकोमा पोखराको प्रयोगशालामा कोरोनो पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ।  

स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार संक्रमण पुष्टि भएका ती वृद्धले उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन्।  दुवै आँखा कमजोर रहेको र शारिरिक अवस्थाका कारण आफै आफ्नो स्याहार गर्न नसक्ने अवस्थामा रहेपनि हालको अवस्था सामान्य रहेको भण्डारीले बताए।  ‘काठमाडौंबाट आउँदा घाँसामा परीक्षणको क्रममा आरडिटी पोजेटिभ देखिएको थियो,’ भण्डारीले भने, ‘काठमाडौंबाटै आउँदा उनमा संक्रमण भएको अनुमान छ।’  

वृद्धको आँखा कमजोर छन्।  त्यसले गर्दा उनी आफ्नो स्याहार आफैले गर्न नसक्ने अवस्था रहेको भण्डारीले बताए।  भण्डारीका अनुसार शौचालय आउजाउ गर्न पनि सघाउनुपर्ने अवस्था रहेपछि ती वृद्ध ज्वाईसँगै अस्पतालमा बसेका थिए।  वृद्ध सहित उनका ज्वाईको पनि नमूना परीक्षण गर्न पठाएकोमा ज्वाईको रिपोर्ट नेगेटिभ आएको थियो।  ‘ज्वाईको रिपोर्ट नेगेटिभ थियो।  तर, संक्रमण पुष्टि भएका व्यक्तिसँगै बसेको भएकोले ज्वाईको थप परीक्षण हुनेछ,’ भण्डारीले भने, ‘ससुराको हेरचाहका लागि अहिले पनि ज्वाई साथमै छन्।  ज्वाईलाई बाहिर हिडडुलमा रोक लगाइएको छ।  संक्रमितसँगै बसेकोले पनि उनको पनि निगरानी हुनेछ। ’  

काठमाडौंबाट त्यो समूहमा २० जना गएका थिए।  गाडिका चालकसहित अरु १८ जना यात्रु क्वारेन्टिनमा रहेको र उनीहरुको पनि अब परीक्षण गरिने भण्डारीले बताए।  संक्रमित फेला परेपछि छैरो क्याम्प शिल भईसकेको छ। यी सँगै गण्डकी प्रदेशमा थप ५० जना संक्रमित थपिएका प्रदेशको स्वास्थ्य निर्देशनालयले बताएको छ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँका थप २ जनामा संक्रमण पुष्टि भएको छ।  त्यस्तै बागलुङका २९ र नवलपुरका १८ जनामा पनि संक्रमण पुष्टि भएको छ।  शनिबार मात्र गण्डकी प्रदेशमा १०८ जना संक्रमित थपिएका छन्।  प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या ४८८ पुगेको छ।    

 

प्रकाशित: ६ असार २०७७ १७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App