१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

३ सय ५६ जना कोरोना संक्रमित विद्यालयमै

दैलेख सदरमुकामको नारायण क्याम्पस जहाँ ८७ जना कोरोना संक्रमित राखिएको छ। गोविन्द केसी/नागरिक

जेष्ठ पहिलो साता भारतमा खुलेको रेल सेवासंगै घर फर्किएहरुलाई दैलेखका विभिन्न विद्यालयमा उनीहरुलाई कोचाकोच राखियो। जसले गर्दा कोरोना भाइरस उच्च जोखिमका कारण संक्रमित ह्वातै बढे। अहिले त्यो संख्या  दैलेखमा मात्र ३ सय ८६ जना पुगेको छ।

नेपालमा बढी संक्रमित हुने दैलेख तेस्रो जिल्ला हो। जिल्लामै धेरै जोखिम सदरमुकामस्थित नारायण नगरपालिका भयो। संक्रमण संख्या थेक्न नसक्ने गरी बढ्न थालेपछि ३ सय ५६ जना संक्रमितलाई विभिन्न विद्यालयमै राखिएको छ। ३० जनालाई सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको कोभिड क्लिनिक अस्पतालमा उपचार गरिएको छ। त्यहाँ १ जना डाक्टरले २४ घण्टा संक्रमितको हेरचाह गर्छन्।  

तर, विद्यालयमा रहेका संक्रमितहरु सामान्य रुपमा राखिएको छ। त्यहाँ स्थानीय स्वास्थ्यकर्मीदेखी स्थानीय तहले नै उनीहरुलाई रेखदेख गर्दै आएका छन्। जिल्लामा पूर्व तयारी नहुँदा स्थानीय तहका विद्यालयमा कोरोना संक्रमतिलाई राखिएको हो। विद्यालयमा पानी चुहिने समस्यादेखि खाना समेत राम्रो नभएको गुनासो संक्रमितहरुले गरेका छन्। सामान्य खाना खुवाउने बाहेक आफूहरुलाई विद्यालयमा कुनै सुविधा नभएको कोरोना संक्रमितहरु बताउँछन्। लामो समयसम्म पनि आफूहरुको थप रिपोर्ट नआउँदा कति समय विद्यालयमा बस्ने हो अन्यौल भएको उनीहरुको भनाइ छ।

जिल्लाको एक विद्यालयमा बनाईएको कोभिड क्लिनिक अस्पताल। 

विद्यालयमा राखिएका कुनै पनि संक्रमितको उपचार गर्नुपर्ने आवश्यकता र लक्षण नभएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिरप्रसाद रेग्मीले बताए। ‘संक्रमित कसैलाई पनि कुनै पनि लक्षण देखिएको छैन् ।’ खोप अधिकृत रेग्मीले भने, उनीहरु स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्। कुनै समस्या देखियो भने जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राखीएको छ तुरुन्तै उपचारका लागि ल्याउछौं।’  

दुल्लुनगर पालिकाले मात्र संक्रमितहरुलाई योगदेखि अन्य क्रियाकलापमा संलग्न गराएको छ। अन्य स्थानीय पालिकाहरुले संक्रमितहरुलाई सामन्य सुविधा समेत दिएको छैन्। जसले गर्दा संक्रमितहरु मनोबल कमजोर हुने गरेको छ। ब्यवस्थापन फितलो हुँदा संक्रमितहरुमा रोगसंग लड्ने आत्मबल घट्दै अवस्थामा रहेको नारायण नगरपालिकाका स्थानीय अगुवा महेन्द्र खड्काले बताए।  

दैलेखमा सवैभन्दा बढी नारायण नगरपालिकामा संक्रमित बढी १ सय ९४ जना देखिएका छन्। नगरपालिकाले नारायण  क्याम्पसमा ८७ जना, त्रिभुवन मावि २९ जना, जनता मावि, जाहारकोटमा २१ जना, महेन्द्रमावी सोतमा २७ जना, सरस्वती मावी झुप्रेसालमा (कोभिड क्लिनिक अस्पताल) ३० जना, राखिएको छ। दैलेखमा दोस्रो धेरै संक्रमित १ सय ७ जना देखीएको भहावु गाउँ पालिकामा पनि सबैलाई स्थानीय विद्यालयमै राखिएको छ।  

जसमा जयन्ती मावि खरिगैरामा ४३ जना, जगदिस मावि अईराडीमा ४१ जना, गैडाबाजमा रहेको राष्ट्रिय माविमा २३ जना राखिएको छ। स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि महावु गाउँपालिकाबाट १ जनालाई प्रदेश अस्पतालमा बनाइएको कोरोना अस्पतालमा लगिएको छ। दुल्लुनगरपालिकामा ४२ जना संक्रमितमध्ये १ जनाको मृत्यु भएको छ भने ४१ जना विभिन्न विद्यालयमा बसेका छन्।

जसमा द्रोणाचल क्याम्पसमा ३० जना, कोरोना अस्थाई अस्पतालमा छिउँडीमा ११ जना रहेका छन्। जसमा चामुण्डाविन्ध्यासैनी नगरपालिकाको १ जना र भैरवी गाउँपालिकाका २ जना दुल्लु नगरपालिकामै रहेका छन्। त्यस्तै आठविस नगरपालिकाका २ जनामा एक जनाको निको भइसकेको र १ जनाका नगरपालिकाकै एक विद्यालयमा रहेका छन्। त्यस्तै नौमुले गाउँपालिकाका १० जना संक्रमितहरु प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका छन्।

उनीहरुलाई स्वास्थ्य केन्द्रमा थेक्न नसकेपछि भैरव माध्यमिक विद्यालयमा सार्ने तयारी भएका गाउँपालिकाका अध्यक्ष भदे्र बुढामगरले बताए। डुंगेश्वर गाउँपालिका २ ठाउँमा रहेका २५ जना संक्रमितलाई चुप्रास्थित त्रिवेणीसंगम मावीमा ल्याउने तयारी गरिएको छ।

१ जना निको भएर घर फर्किएका छन् भने २ जना सदरमुकामस्थित कोभिड क्लिनिकमा उपचार गरिरहेका छन्। त्यस्तै गुरासँ गाउँपालिकाका २ जना पनि उपचार गरिरहेका छन्। एकै पटक जिल्लामा विरामी धेरै देखिएपछि ब्यवस्थापन गर्न निकै गाह्रो भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरन्जन पन्तले बताए। विरामीको संख्या हेर्दा स्वास्थ्यकर्मीदेखी भौतिक पूर्वाधार समेत अपुग रहेको डा. पन्तको भनाई छ।

प्रकाशित: २९ जेष्ठ २०७७ ०८:४३ बिहीबार

कोरोना संक्रमित काेराेनाभाइरस