२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नाकामै क्वारेन्टिन राख्न महामन्त्री खड्काको सुझाव

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको मुख्य प्रवेश नाका बबई नजिकैको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने खाली जमिनमा भारतबाट आउने नागरिकहरु राख्नका लागि क्वारेन्टिन र स्वास्थ्य परीक्षण केन्द्र राख्न सुझाव दिएका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु नजिकै क्वारेन्टिन र परीक्षण केन्द्र राख्ने निर्णय गरेसँगै आन्दोलन सुरु भएको छ ।  

महामन्त्री खड्काले कर्णाली प्रदेश सरकारको अव्यवहारिक निर्णयको जनताले प्रतिवाद गरेको बताउँदै भारतबाट आउने नागरिकहरुलाई राख्न र उनीहरुको स्वास्थ्य परीक्षणका लागि उपयुक्त व्यवस्था गर्न दुई वटा विकल्प सुझाएका छन् । ‘भारतबाट प्रवेश गर्ने वित्तिकै सीमाना जोडिएको बाँकेको प्रारम्भीक विन्दूमै प्रदेश ५ सँग समन्वय गरेर क्वारेन्टिन र परीक्षण केन्द्र बनाइनु सर्वोत्तम हुन्छ,’ महामन्त्री खड्काले भनेका छन्, ‘दोस्रो विकल्पका रुपमा प्रदेशको सीमा नाका बबईदेखि दुई किलोमिटर दक्षिणमा बर्दिया राष्ट्रिय निकुञ्जको बस्तीविहिन भुभागको चौरमा क्वारेन्टाइन र परीक्षण केन्द्र राख्दा उपर्युक्त हुन्छ ।’

महामन्त्री खड्काले भारत तथा कोरोना प्रभावित जिल्लाबाट आउने कर्णालीका नागरिकहरुलाई अनिवार्य पोलिमेरीज चेन रियाक्सन (पीसीआर) परीक्षण गरेर रिपोर्टका आधारमा गाडीबाट सिधै सम्वन्धीत जिल्ला, नगर र गाउँमा पु¥याउने प्रवन्ध गर्न पनि प्रदेश सरकारसँग आग्रह गरेका छन् । ‘अन्यथा भारत तथा कोरोना प्रभावित जिल्लाबाट आएका नागरिकहरुलाई बाटोमा ठाउँठाउँमा रोक्दै बस्तीको बीचमा क्वारेन्टिन र परीक्षण व्यवस्था गर्नु भनेको सिधै संक्रमण मानिस–मानिसमा सार्ने र कोरोनाले बस्तीमा महामारीको अवस्था सृजना गर्ने खतरा हुन्छ,’ महामन्त्री खड्काले भनेका छन्, ‘जनताको आवाज र सुझावको सम्मान गर्दै प्रदेश सरकार अघि बढ्नुपर्छ ।’

कांग्रेस महामन्त्री खड्काले कर्णाली प्रदेशलाई बचाउन १० वटै जिल्लामा तत्काल समुदायमा युद्ध स्तरमा पीसीआर परीक्षणको अभियानलाई तिब्रता दिन पनि माग गरेका छन् । 

प्रकाशित: ८ जेष्ठ २०७७ ०६:५६ बिहीबार

सीमा समस्या लकडाउन क्वारेन्टिन