फालेलुङ गाउँपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजिएको संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले रोकेपछि माहोल केही तातिएको छ । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चिन्ता बढेको देखिन्छ ।
यस किसिमको अवरोध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले विगतमा पटक–पटक गरेको पाइन्छ । उच्च पहाडी क्षेत्रमा भएको सिमानामा नेपालतर्फ दर्बिलो सरकारी उपस्थिति नहुँदा सीमाआसपासका क्षेत्रमा भारतीय पक्षबाट बढी अवरोध पुर्याउने गरेको छ ।
भारततर्फ सिमाना जोडिएकै ठाउँमा सडक र घरलगायका पूर्वाधार छन् । तर, नेपालतर्फ दशगजा कटाएर निर्माण गर्दा पनि अवरोध गर्ने गरेको पाइन्छ । भारतीय पक्षबाट सन्दकपुरमा भ्यू टावर बनाउँदासमेत अवरोध भएको थियो ।
आहालमै केही वर्षअघि भ्यू टावर बनाउने काम भारतीय सुरक्षाकर्मीले रोक्न खोजेका थिए । यस्ता अवरोधहरू सीमा क्षेत्रमा पटक–पटक हुने गरेका छन् । सीमा क्षेत्रमा पर्ने फालोटसम्म भारततर्फ सडक छ । कतिपय ठाँउमा दशगजा नजिकै भारतले पूर्वाधार बनाएको छ । तर, नेपालतर्फ भने दशगजा कटाएर निर्माण गर्दा पनि अवरोध हुने गरेको छ ।
सीमा आसपासका आकर्षक पर्यटकीय गन्तव्यमा पूर्वाधारका कामहरू गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक्ने गरेका छन् । नेपालतर्फ पदमार्ग निर्माणका क्रममा समेत केही ठाउँमा अवरोध पुर्याएको देखिन्छ । नेपालीहरूले पनि भारततर्फकै सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । गत वर्ष नेपालतर्फ निर्माण सामग्री ल्याउन पनि रोक लगाइएको थियो ।
मेची पहाडी क्षेत्र पर्यटन विकास समितले सीमा क्षेत्रमा काम अघि बढाउँदा समय–समयमा अवरोध हुने गरेको थियो । ‘सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले हेप्ने गरेका छन् । पटक–पटक नेपालकै भूमिमा काम गर्दा पनि समस्या झेल्नुपर्ने बाध्यता छ,’ समितिका योजना तथा लेखा अधिकृत सञ्जीव पौडेलले भने, ‘उपभोक्ता समितिलाई लखेटेका समेत घटना छन् । नेपाली भूमि नै हाम्रो पर्छ भन्दै दुःख दिने गर्छन् । यहाँ दर्बिलो सरकारी उपस्थिति नहुँदा हेप्ने गरेका छन् ।’
उनले भनेझैं यहाँ काम गर्दा निकै समस्या भोग्नुपर्ने अवस्था छ । गत वर्ष फालोटमा पदमार्ग बनाउँदा पनि रोक्न खोजेको अनुवभ सुनाउँछन् त्यहाँका गोठ सञ्चालक चन्द्रलाल नेपाल । ‘हामी ठूलो संख्यामा थियौं । उनीहरूसँग प्रतिरोध गरेरै काम गर्नुपर्यो,’ नेपालले भने, ‘सरकारी उपस्थिति नहुँदा सीमामा हेपाइमा पर्ने गरिन्छ । पटक–पटक यस प्रकारका समस्या हुने गरेका छन् ।’ नेपालतर्फ पूर्वाधारको काम गर्दा इलाम, पाँचथरका विभिन्न ठाउँमा भारतीय सुरक्षाकर्मीले दुःख दिने गरेका छन् । सिक्किमभन्दा पनि बढी समस्या वेष्ट बंगालसँग सीमा जोडिएका क्षेत्रमा छ ।
पाँचथरका फालेलुङ र याङवरक गाउँपालिका भारतसँग जोडिन्छन् । जिल्लाको ४४ दशमलव ३८ सिमाना भारतसँग रहेको छ । यहाँका सीमास्तम्भसमेत हराएका छन् । मुख्य २३, साहयक ४९ र सानो ४१ वटा गरी एक सय १३ वटा पिलर संख्या रहेका छन् । यीमध्ये १९ वटा हराएका छन् ।
नेपालतर्फ छैन सरकारी उपस्थिति
उच्च पहाडी क्षेत्रमा पर्ने सीमा क्षेत्रमा नेपालतर्फ सरकारी उपस्थिति शून्य प्रायः छ । बेला बेला गस्तीमा प्रहरी पुग्नेबाहेक सीमा क्षेत्र निगरानीविहीन छ । नेपालतर्फका प्रहरी चौकीबाट सीमा क्षेत्र पुग्न घण्टौं लाग्छ । नेपालतर्फ दरिलो सरकारी उपस्थिति नहुँदा हेपाइमा पर्नुपरेको यहाँका बासिन्दाको भनाइ छ ।
फालोटका नेपालका अनुसार सीमा क्षेत्रमा चौरी पालकहरूले सीमाको संरक्षण गरिरहेका छन् । च्याङ्थापुमा रहेको सीमा प्रशासन कार्यालयबाट सिमाना पुग्न झन्डै एक दिन लाग्छ । सुरक्षा निकाय तथा अन्य सरकारी निकायको उपस्थिति सीमा क्षेत्रमा नहुँदा समस्या हुने गरेको चाररातेका गोठ सञ्चालक जंग राई बताउँछन् ।
भारतीय सुरक्षाकर्मीसँग कुरा गरिदिने कोही पनि हुँदैन । सीमासम्म नेपालबाट सडक पु¥याए पनि गाडी लैजान निकै कठिन छ । भारततर्फ बाक्लो सुरक्षा उपस्थिति छ । हरेक ६ किलोमिटरमा एसएसबीको क्याम्प छ । वनलगायतका सरकारी कार्यालयसमेत रहेका छन् । नेपाली भूमिमा भारतीय गाडी निर्बाध कुद्ने गरेका छन् । गत वर्ष चाररातेमा एसएसबीले पोखरी बनाउन लागेपछि यहाँ गोठ सञ्चालकहरूले विरोध गरेपछि रोकिएको थियो
सीमा क्षेत्रमा सशस्त्र प्रहरी राख्ने भन्ने चर्चा भएको धेरै भए पनि काम हुन सकेको छैन । चिवाभञ्याङमा सशस्त्र क्याम्प राख्ने भनेर पटक–पटक चर्चा भए पनि राखिएको छैन । जिल्लामा पाँच स्थानमा सशस्त्र प्रहरी राख्ने भनिए पनि हालसम्म एक ठाँउमा पनि राखिएको छैन ।
नेपाललाई घुम्छन्, भारतलाई फाइदा
सीमा क्षेत्रमा पर्यटकीय गन्तव्यहरू पर्याप्त छन् । नेपालतर्फ घुमघाम गरे पनि भारतलाई फाइदा पुग्छ । यहाँ पदमार्ग, आवासगृहलगायतका पर्यटकीय पूर्वाधार निर्माणमा अवरोध गर्नुको कारण पर्यटन पनि भएको स्थानीय सिल्प राई बताउँछन् । ‘नेपालका विभिन्न गन्तव्य घुमे पनि आम्दानी भारतलाई भइरहेको छ । नेपालतर्फ न होटल छन्, न पसल छन् । नेपालतर्फ पूर्वाधार बने पर्यटक गएर बस्छन् भनेर पनि रोक्न खोज्छन्,’ उनले भने, ‘नेपालतर्फ विकास नहोस् भन्ने नियतसमेत देखिन्छ ।’
राईले भनेझैं नेपालतर्फ पर्यटकीय पूर्वाधार छन् । हिमाली दृश्य, सूर्योदय, चौंरीपालन तथा फराकिला डाँडाहरूमा पर्यटक रमाएका भेटिन्छन् । भारततर्फ पर्यटकलाई राख्न सरकारी गेष्ट हाउसदेखि होटलहरू छन् । तर, नेपालमा भने त्यस्तो पूर्वाधारको निर्माण हुन नसक्दा नेपालले आम्दानी लिन सकेको छैन । होटल तथा अन्य पसलसमेत छैनन् । सन्दकपुर, आहाल, चारराते, तोरीफूले, फालोटजस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्य यहाँ छन् ।
प्रकाशित: ४ जेष्ठ २०७७ १४:०० आइतबार