४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पा बम विस्फोट: आफैँले कमाएको पैसाले किरिया

रोल्पा, - त्रिवेणी गाउँपालिका–४ बुढागाउँका १३ वर्षीय गौरव नेपालीले नयाँ शैक्षिक सत्रमा विद्यालय भर्ना हुन र किताबकापी किन्न भन्दै आमासँगै घरको आँगनमा गिट्टी फुटाएर केही पैसा जम्मा गरेका थिए । अब त्यो पैसा उनकै किरियामा खर्च हुने भएको छ । लकडाउन नभनी छोराले आफूसँग फुटाएको गिट्टीको थुप्रोनजिक बसेर ३९ वर्षीया आमा तिलकुमारी रोइरहन्छिन् । ‘छोराले गिट्टी फोडेर कमाएको पैसा उसैको किरियामा खर्च हुने भयो,’ विक्षिप्त तिलकुमारीले भनिन्, ‘रातभर बसेर पढ्थ्यो । घरको काम पनि सघाउँथ्यो । धेरै पढ्ने सपना थियो ।’

अति विपन्न परिवारका गौरवलाई राम्रो शिक्षा दिने आशामा मजदुरीका लागि ४५ वर्षीय बुवा लछुमन नेपाली लकडाउनले भारतमै थुनिएका छन् । छोराको मृत्युको खबरले बेहोस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ । गत बिहीबार बेलुका घरछेउमा बेवारिसे बम बिस्फोट हुँदा ज्यान गुमाएका गौरव र अन्य तीनजनाकै परिवार यतिबेला शोकमा छन् । उक्त घटनामा गौरवसहित त्रिवेणी–७ गौरीगाउँका १४ वर्षीय नोखिराम डागी, ११ वर्षीया विमला खत्री र पाँच वर्षीय विजय खत्रीको मृत्यु भएको थियो ।

‘लकडाउनको बेला र अन्य बिदामा आमाछोरा मिलेर दिनभर गिट्टी फुटाउथ्यो, बेच्थ्यो । फुसको छानो भएको सानो घर छ । जग्गाजमिनको उत्पादनले एकदुई महिना पनि खान पुग्दैन,’ गौरवका मामा कृष्ण नेपालीले भने, ‘गौरवको पढाइ राम्रो थियो । पोहर साल एउटा कक्षा जम्प गरायौं । तैपनि यसपालि तेस्रो पोजिसन आएको रैछ ।’ दाइको बीभत्स लास देखेकी गौरवकी बहिनी अर्धचेतजस्तै बनेकी छन् ।

चार अबोध बालबालिकाको भयानक मृत्युले परिवारलाई मात्र नभएर सिंगो रोल्पा नै शोकमा परेको छ । घटनापछि सरकारी तवरबाट कुनै सहयोग नभएको परिवारको गुनासो छ । ‘हामीलाई सरकार भएको अनुभूति नै भएन । यतिबेला पुरै गाउँ त्रसित छ । गाईबाख्रा चराउनै बन्द भो,’ स्थानीय कृष्ण नेपालीले भने, ‘गौरवका बुवा बाहिर भएकाले ठूलोबुवा किरिया बस्नुभएको छ ।’ हुन पनि यति ठूलो र बीभत्स घटनाबारे देशको गृह मन्त्रालयले शोक विज्ञप्तिसमेत निकालेको छैन । 

मध्यरातमै दाहसस्कार
दाङको घोराहीमा पोस्टमार्टमपछि राति ११ बजे गैरीगाउँ ल्याइएका चारैवटै शव शुक्रबार मध्यरातमै जलाइए । क्षतविक्षत शव अर्को दिनसम्म राख्नुभन्दा जलाउनै उपयुक्त हुने भन्दै राति नै जलाइएको जनाइएको छ । लस्करै बनाइएका चितामा कलिला बालबालिकाको शव जल्दै गर्दा मलामी भक्कानिएका थिए ।

प्रकाशित: २२ वैशाख २०७७ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App