१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

परीक्षणपछि मात्र किट प्रयोग

काठमाडौं - सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका -यापिड टेस्ट–किटहरू स्वास्थ्य अनुसन्धान परिषद्बाट गुणस्तर अनुसन्धान गरेरमात्र वितरण गर्ने भएको छ। चीनबाट ल्याइएको ७५ हजार थान -यापिड किटका विषयमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले मन्त्रालयले यसअघि चीनमा महामारी फैलिरहेकै बेला प्रयोग भएका र चीनले गुणस्तरीय ठानेका १७ कम्पनीमध्ये दोस्रो नम्बरमा रहेको कम्पनीबाट उत्पादन भएको किट लिएको दाबी गरेका छन्। ठूलो महामारी फैलिएका अवस्थामा तत्काल परीक्षण गर्न सरकारले खरिद गरेका किटहरूअहिले वितरण नगरिएको जानकारी दिँदै उनले भने, ‘तिनलाई गुणस्तर परीक्षणका लागि स्वास्थ्य अनुसन्धान परिषद् पठाइएको छ।’

चीनमा गुणस्तर कायम भइसकेको किट ल्याएको दाबी गर्दै उनले थपे, ‘नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसको वास्तविकताबारे अनुसन्धान गरिरहेको छ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले -यापिड किटको परिणाम र संवेदनशीलता जाँच गरेपछि मात्र यो प्रयोगको लागि योग्य हुने श्रेष्ठले बताए। अध्ययन–अनुसन्धानबाट गुणस्तरहीन ठहर भएमा किट फिर्ता पठाउनसमेत तयार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका सल्लाहकार डाक्टर खेम कार्कीले बताए। ‘अध्ययनबाट गुणस्तर नभएको ठहर भए फिर्ता जान्छ,’उनले भने।
 
मंगलबार पत्रकार सम्मेलनकै क्रममा बजारमा जथाभावी कम्पनीबाट उत्पादित किटलाई जथाभावी शुल्क लिएर निजी प्रयोगशालाहरूमा प्रयोग भएको थाहा पाएपछि त्यस्ता किटको प्रयोगबाट बच्न मन्त्रालयले सूचना दिएको डाक्टर कार्कीले जवाफ दिए। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोना संक्रमण महामारीको रूपमा फैलिएको अवस्थामा भरपर्दो भएमा मात्र यस्तो किटको प्रयोग गरिन्छ। यसअघि चीनसरकारले पठाउन लागेको किट पनि भरपर्दो नभएपछि नेपालले रोकेकोसमेत कार्कीको भनाइ छ।
 
स्वास्थ्य मन्त्रालयले चीनसित खरिद गरेको ७५ हजार थान किटको बारेमा विरोध भएपछि ¥यापिड–किटको प्रक्रियाबारे जानकारी दिइएको थियो। सरकारले आइतबार चीनबाट सात करोडभन्दा बढी मूल्यका ७५ हजार किट खरिद गरेको छ।

यसैबीचस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक हजार एक सय ४५ जनाको नमुना परीक्षण गरेकोमा पाँच जनामा पोजिटिभ र एक हजार एक सय ४० जनामा नेगेटिभ भेटिएको छ। जसमध्येमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जनाको नमुना परीक्षण गरिएको थियो। 

हाल देशभर कोरोना आशंकामा ९९ जनालाईआइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ, जसमाउपत्यकाको पाटन अस्पतालमा चार जना र शुक्रराज ट्रपिकल अस्पतालमा चार जना उपचाररत छन्। त्यसैगरी पछिल्लो दुई जना कोरोना संक्रमण भएका व्यक्तिहरूको सम्पर्कमापुगेका व्यक्तिलाई खोजी तथा परीक्षण गर्ने काम ८५ प्रतिशत पूरा भएको मन्त्रालयले जनाएको छ।
 
तीन प्रदेशमा परीक्षण
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र सुरु भएको कोरोना परीक्षण बुधबारदेखि तीन ठाउँबाट सुरु भइसकेको मन्त्रालयले जनाएको छ, जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक बिपी प्रतिष्ठान धरान र गण्डकी प्रदेश अस्पतालमा बुधबारदेखि सुरु भएको छ। हेटौंडामा बिहीबारदेखि सुरु हुने र अन्य प्रदेशमा उपकरण जडानको कार्य भइरहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।

प्रकाशित: २० चैत्र २०७६ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App