१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मुख्य नाकामा उच्च सतर्कता

भैरहवा नाकामा भारततर्फ जाने यात्रुको स्वास्थ्य जाँच गरिँदै। तस्बिर: नागरिक

पश्चिमेली ब्युरो
नेपालगन्ज – कोरोना भाइरस संक्रमितको पहिचान र नियन्त्रणका लागि प्रदेश ५ का मुख्य सीमानाकामा उच्च सतर्कता अपनाइएको छ। भैरहवा, नेपालगन्ज, कपिलवस्तुलगायत सीमानाकामा सरकारले विशेष निगरानी बढाएको हो। नेपालगन्जस्थित नेपाल–भारत सीमानाकामा सतर्कतास्वरुप सुरक्षा र स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। नाकामा हेल्थ डेस्क राखेर नेपाली र भारतीय यात्रुको स्वास्थ्य जाँच गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) वीरबहादुर ओलीले भने, ‘नाकामा प्रहरी परिचालन भएर उच्च सतर्कता अपनाइएको छ, स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी पनि खटिएका छन्। उताबाट आउनेलाई निगरानीमा राखिएको छ।’

सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइए पनि नाका चालु अवस्थामा रहेको उनले बताए। ‘अहिलेसम्म नाका खुला छ, भारततिरबाट नाका बन्द भनेर हामीलाई अहिलेसम्म जानकारी आएको छैन,’ उनले भने। कोरोनालाई लक्षित गरेर सुरक्षा जाँचमा कडाइ गर्दा लागुऔषध कारोबारी पनि समातिएको ओलीले बताए।

बेलहिया–सुनौली नाकामा पनि भारतबाट भित्रिनेको स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। जिल्ला स्वास्थ्य समिति महाराजगन्ज (भारत) ले पनि दसगजा क्षेत्रमा अस्थायी हेल्थ डेस्क स्थापना गरी नेपालबाट भारततर्फ जाने सबै यात्रुको स्वास्थ्य जाँच गरिरहेको छ। कोरोना त्रास बढ्दै गएपछि भारतबाट आउने यात्रुको स्वास्थ्य जाँच गरिएको बेलहिया नाका हेल्थ डेस्क इन्चार्ज डा. पारसनाथले बताए। ‘सबैको जाँच गरिरहेका छौं, फिल्डमा एम्बुलेन्स तैनाथ छ, अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ, हालसम्म यो नाकाबाट भित्रिने कुनै व्यक्तिमा कोरोना संक्रमण देखिएको छैन,’ उनले भने।

अध्यागन कार्यालय रुपन्देहीले तेस्रो मुलुकका पर्यटकलाई शनिबार राति १२ बजेदेखि सीमानाकाबाट प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरसको त्रासपछि भारत सरकारले नेपाल–भारत सीमाका चारवटा नाका मात्र सञ्चालन गर्न दिने भन्ने समाचार सार्वजनिक भए पनि कपिलवस्तुका मुख्य र सहायक नाकाबाट आवतजावत भइरहेको छ। कपिलवस्तुमा मुख्य र सहायक गरी १० वटा नाका छन्। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले गृह मन्त्रालयबाट नाका सञ्चालनमा रोक लगाइएको विषयमा आइतबार बेलुकासम्म जानकारी नआएको बताए।
(नेपालगन्जबाट अर्जुन ओली, कपिलवस्तुबाट किरणमान बज्राचार्य, भैरहवाबाट मोहम्मद हबिब )

प्रकाशित: ३ चैत्र २०७६ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App