१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उमंग र उल्लासमा कमजाेर फागु

काठमाडौंको वसन्तपुरमा सोमबार देखिएको फागु पूर्णिमा (होली)को उल्लास। तस्बिर: विजय राई/ नागरिक

काठमाडाैं–
लेकसाइड सेरोफेरो सुनसान
पोखरा – रङको पर्व होलीका दिन पर्यटकीय सहर लेकसाइड बर्सेनि रंगिन्थ्यो। होली मनाउनका लागि लेकसाइडका पर्यटन व्यवसायी एकजुट हुन्थे। अनि पञ्चेबाजाका रङ छ्याप्दै मुल सडकमा विदेशी पर्यटक र पोखरेली रमाउँथे। लेकसाइडमा हुने सामूहिक होलीमा मिसिन बजारका युवायुवती पनि झर्थे। सडकमा मोटरसाइकल कुदाउँदै रंगीबिरंगी अनुहार बनाएर युवायुवती पर्यटकीय सहरमा पुग्थे। बिहानैदेखि सुरु हुने होलीको रमझम मध्यान्हतिर झनै चकिन्थ्यो अनि बेलुकी अबेलासम्म पनि रमझम चलिरहन्थ्यो।

तर यो पटक भने होलीका दिन पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बन्यो। अघिल्ला वर्ष होलीका दिन पैदलै छिचोल्नसमेत हम्मेहम्मे हुने लेकसाइड यो पटक भने पूरै खुला थियो। त्यत्तिमात्र नभई सुनसान नै बनेको थियो। पैदल र सवारीका लागि अवरोध कतै थिएन। कोरोना भाइरस त्रासले गर्दा स्थानीय प्रशासनले होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको लेकसाइडको होलीले रङ गुमाएको थियो। मूल सडकमा होलीमा रंगिएका केही विदेशी र एकाध स्वदेशी भेटिएबाहेक लेकसाइडमा यो पटक सामूहिक होली आयोजना नहुँदा सुनसान बनेको व्यवसायीको भनाइ छ।

यसपटक पोखरामा होली आए झैं नै भएन। सयौं पर्यटक नेपालीसँग रमाएर लेकसाइडमा होली खेल्थे। तर यो पटक सबैतिर सुनसान भयो।

‘होलीको रमझम नहुँदा लेकसाइड पूरै सुनसान भयो। कोरोना भाइरस त्रासले यसै पनि सुनसान बनेको पर्यटकीय सहर लेकसाइडले यो पटक होलीको अनुभव गर्नै पाएन,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका निवर्तमान अध्यक्ष दीपकराज अधिकारीले भने, ‘लेकसाइडले यो पटक होलीको रौनकता गुमायो। होलीमा लेकसाइडमा खेलिने रङका बारेमा थाहा पाएका केही विदेशीले आफूहरूबीच रमाइलो गरेबाहेक कुनै पनि गतिविधि नहुँदा होलीको अनुभव नै हुन पाएन।’ होटलमा बसेका पाहुनालाई रङ लगाइदिएर केही व्यवसायीले पारिवारिक रमझममा सहभागि गराए पनि बाहिरी वातावरण भने सुनसान बनेको थियो।

सोमबार मध्यान्हतिर केही विदेशीले हातमा रङ बोकेर हिँडेको बाहेक अघिल्ला वर्षको जस्तो रौनकता नछाएको उनले बताए। कम संख्यामा रहेका विदेशीलाई पनि होलीमा रङ खेल्ने भन्ने थाहा नहुँदा सबैजना रम्न सकेका थिएनन्। केही व्यवसायीले होलीमा रङ खेल्ने भनेर जानाकारी दिएपछि मात्र साथीहरूबीच रमाएका भेटिन्थे। ‘यसै पनि पाहुनाको संख्या कम हुँदा लेकसाइड सुनसान बनेको थियो। त्यसमा प्रशासनले पनि होली नमनाउन निर्देशन दिएपछि त सुनसान नै बन्यो,’ अधिकारीले भने, ‘अहिलेसम्मकै सुनसान अवस्था यो पटक अनुभव गर्नुप-यो।’

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) ले हरेक वर्ष लेकसाइडमा सामूहिक होलीको आयोजना गथ्र्यो। त्यसमा पोखराका सबै व्यवसायी समेटिन्थे। ठाउँठाउँमा सांगितिक कार्यक्रम आयोजना हुँदा लेकसाइड गुञ्जायमान हुने गरे पनि यो पटक आयोजना नगरेको रेबान पदाधिकारी बताउँछन्। रेबानका पूर्वअध्यक्ष सूर्यबहादुर भुजेल सरकारले यो पटक कोरोना त्रासले गर्दा होली नमनाउन भनेपछि व्यवसायी पनि हच्केको बताउँछन्। ‘होली आए झैं नै भएन,’ भुजेलले भने, ‘सयौं पर्यटक नेपालीसँग रमाएर लेकसाइडमा होली खेल्थे। तर यो पटक सबैतिर सुनसान भयो। हामीले पनि कार्यक्रम आयोजना गरेनौं।’

नेपालमा अहिल्यै कोरोना नभित्रिए पनि यसको त्रास भने दिनहुँ बढिरहेकोले पनि सामूहिक गतिविधि गर्न आँट नगरेको उनले बताए। ‘नेपाली नागरिकबीच होली खेल्दा त खासै समस्या थिएन। तर लेकसाइडमा आएका एकाध विदेशी पनि मिसिन सक्ने र त्यसले संक्रमण फैलिने त्रास भएकोले सरकारले रोक लगाएको हो,’ भुजेलले भने, ‘हामीले पनि सरकारी निर्देशन मान्नै प-यो। अहिलेसम्म संक्रमण छैन भनेर आगामी दिनमा पनि हुँदैन भन्ने निश्चित छैन। त्यसैले हामी सचेत बनेका हौं।’

होलीका कारण लेकसाइडमात्र नभई पोखरा सहर नै सुनसान र शान्त बनेको थियो। पोखराका अरूतिर पनि होलीको रौनक थिएन। मुख्य सहर पनि सुनसान बनेको थियो। सबैतिर शान्त भएकाले यो पटक होलीमा हुने सडक दुर्घटना पनि रोकिएको प्रहरीको भनाइ छ। कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले कोरोना त्रासका कारण योपटक होली नमनाउँदा सबैतिर शान्त रहेको र होलीका दिन हुने गरेका दुर्घटना पनि यो पटक टरेको बताए। ‘होली नमनाएकै कारण यो पटक अवाञ्छित गतिविधि हुन पाएन। त्यसले गर्दा पोखरा शान्त रहयो,’ उनले भने, ‘लेकसाइडमात्र नभई समग्र पोखराले यो पटक होली मनाएन। त्यसले गर्दा कतै नराम्रा गतिविधि पनि भएनन्।’

होलीका दिन सोमबार दिउँसो सुनसान रहेको पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड। कोरोना भाइरस त्रासका कारण लेकसाइडमा हुने गरेको सामूहिक होली भने यो पटक भएन। तस्बिरः सन्तोष पोखरेल/नागरिक

कोरोना त्रासले होली निरस
वीरगन्ज – यसपालि होलीमा साबिकजस्तो रौनक देखिएन। राजधानी काठमाडौंसहित पहाडी क्षेत्रमा एक दिनअघि र तराई–मधेसमा एक दिनपछि फागु (होली) मनाउने चलन छ। विगत पाँच दशकयता वीरगन्जमा भने होली दुई दिनको हुन्छ। होलीमा दुवै दिन वीरगन्ज सहर रङमा रंगिने, होरीको लोकभाका तथा आधुनिक गीत–संगीतमा झुम्ने र मस्तसँग खाने–खुवाउने चलन यहाँको होलीको विशेषता हो।

तर यसपालि सोमबार परेको होलीको रौनक वीरगन्जमा देखिएन। खासमा विश्वव्यापी रूपमा चलेको नोवल कोरोना भाइरसको संक्रमणको त्रासले यसपालिको होलीलाई मत्थर पारेको हो। अघिल्ला वर्षको तुलनामा यहाँ होलीको रौनक कम भयो। ‘यसलाई अस्वाभाविक मान्दिनँ, मानिसहरू डराएका छन्, केही हदसम्म सचेत भएका छन् भन्नुपर्छ,’ वीरगन्ज–१३, राधेमाई बस्ने रामनारायण कुर्मीले भने, ‘एक वर्ष होली नमनाउँदैमा केही बिग्रिँदैन। सुरक्षित बसेकै राम्रो।

होलीमा विभिन्न विशेष सामानहरूको किनमेलका लागि बजारमा भिडभाड र बेग्लै रौनक हुँदै आएको थियो। तर यसपामा त्यस्तो अवस्था देखिएन।

उनले भनेजस्तै स्थानीय जोखिम नलिने मनसायमा देखिए। कोरोनाबाट सचेतनाका पक्षमा प्रकासित, प्रसारित पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालका सामग्री तथा सरकारी संयन्त्रले मानिसलाई सतर्क बनाउन विशेष भूमिका निर्वाह गरेका थिए।

‘आजको दिन हाम्रो पूरा मस्तीको दिन हुन्थ्यो। हामी बिहानैदेखि रंगिन्थ्यौं। खानपिन, अबिर र रङ साटासाट दिनभरि चल्थ्यो,’ वीरगन्ज घडिअर्वाका निखिल बर्णवालले भने, ‘के भनौं, यसपालि त्यस्तो केही पनि छैन, निरसजस्तै भएको छ होली।’ होली बिग्रिएकोमा खिन्नता भए पनि यसपालि अपनाइएको सतर्कता उनलाई ठिक लागेको छ। ‘केही नरमाइलो भए पनि यसपटक स्वास्थ्यका दृष्टिले सचेतना अपनाएकै राम्रो,’ उनले भने, ‘अर्को वर्ष खुलेर होली मनाऔंला।’

वीरगन्ज महानगरपालिकाले यस वर्ष सचेतनापूर्वक होली मनाउन सूचनासमेत प्रवाह गरेको छ। ‘होलीमा नेपाल सरकारले जुन सूचनाहरू प्रवाह गरिरहेको छ, त्यसैअनुसारका जनाकारीहरू हामी पनि प्रवाह गरिरहेका छौं,’ वीरगन्जका नगरप्रमुख विजयकुमार सरावगीले भने, ‘सावधानी आवश्यक छ। त्योसँगै जनजीवनमा अनावश्यक त्रास सिर्जना भई अन्य समस्या नहोस् भन्नेतिर ध्यान दिनु पनि जरुरी छ।’ नगरप्रमुख सरावगीका अनुसार सचेतनाका लागि धेरै भिडभाड नगरी स्वच्छ किसिमले होली मनाउने वातावरणका बनाउन वडा जनप्रतिनिधिलाई आग्रह गरिएको छ।

वीरगन्जमा यो वर्ष आम रूपमा होलीको गतिविधि नदेखिए पनि छिटफुट रूपमा औपचारिक कार्यक्रमहरू भने गरिए। औपचारिक कार्यक्रममा भाषण गर्ने, अबिर लगाउने र भोज खुवाउने चलन केही वर्षयता आएको हो, जसलाई मौलिक होली मानिँदैन।

बजार सुस्त
जनजीवनमा होलीको रौनक घटेसँगै यसको सीधा असर बजारमा परेको छ। होलीमा विभिन्न विशेष सामानहरूको किनमेलका लागि बजारमा भिडभाड र बेग्लै रौनक हुँदै आएको थियो। तर यसपालि बजारमा त्यस्तो अवस्था देखिएन। ‘अरू वर्ष आजको दिन हामीलाई एकछिन कुरा गर्ने फुर्सद हुँदैन्थ्यो। ग्राहकको भिड थेग्न गाह्रो हुन्थ्यो। यस पटक ग्राहक कुरेर बसेका छौं,’ वीरगन्जको माइस्थान चोकमा होलीको लुगा बिक्री गर्न बसेका व्यवसायी अवधेशकुमारले नागरिकसित भने, ‘यसपालि अघिल्ला वर्षहरूको तुलनामा १० प्रतिशत पनि व्यापार छैन।’

उनको नजिकै अर्को पसल थापेका अच्छेलाल साह व्यापार नभएर खिन्न छन्। होलीकै पिचकारी, रंग, अबिर र अन्य सामग्री बेच्न बसेका ५० वर्षे अच्छेलाल २० वर्षयता हरेक होलीमा यस्तै समानको पसल थाप्दै आएका छन्। ‘यस्तो अवस्थाको भान भएको भए यसपालि पसलै थाप्ने थिइनँ,’ व्यापार नभएकोमा खिन्न हुँदै साहले भने, ‘२० वर्षको अनुभवमा यस्तो कहिले पनि भएको थिएन।’ त्यस्तै खालको अर्को पसल थापेका समशेर खानले कोरोना भाइरसको हल्लाले व्यापार डुबाएको बताए। ‘कोरोनाले डुबायो, अरू वर्ष ५० हजारभन्दा बढीको समान बेच्थें, यस पटक पाँच हजार पनि पुगेन,’ खानले भने, ‘बजार नै प्रभावित छ, यो मेरोमात्र कुरो होइन।’

वीरगन्जमा सोमबार साँझ विभिन्न ठाउँमा होलीका दहन गरिएको थियो। स्थानीय भाषामा यसलाई समद जलाएको भनिन्छ। समदको आगोमा अन्न र गेडागुडीको कोसा पोलेर मानिसहरूले घरभित्र राख्ने चलन छ। भोजपुरी समाजमा शिवरात्रिको धुनीजस्तै समदको समेत धुनी चतुर्दशीको दिन बालिन्छ। भोलिपल्ट फगुवा अर्थात होली खेलिन्छ। त्यसको अर्को दिन बिहान समदको खरानीलाई खलिहानमा छरिन्छ। र शिवरात्रिपछि सुरु हुने होरीको गित बन्द हुन्छ। समदको खरानी छर्न गएकाहरू उताबाट चैतावर गाउँदै फर्किन्छन्। सहरमा भने यो परम्परा समद जलाउनेसम्ममात्र सीमित भएको पाइन्छ।

वीरगन्जको माइस्थानमा होलीका लागि थापिएका विशेष पसलहरूमा सोमबार किनमेल गर्दै स्थानीय। तस्बिर: रितेश/नागरिक

पहाडमा देखिएन होलीको रौनक
वीरेन्द्रनगर – डोल्पाका शिक्षक लक्ष्यबहादुर सुनारले यसपालि होली अर्थात् रङको पर्व फाल्गुण शुक्ल पूर्णिमामा न लोला हाने न त रङ नै दले। धार्मिक शक्तिशाली पिठ त्रिपुरासुन्दरी माताको दर्शन गरे। त्यहाँ उनले निधारमा थोरै टीका लगाएर यसपालिको होली मनाए। बढी भिड हुने तथा समूहमा होली खेल्दा कोरोना भाइरस संक्रमणको जोखिम हुने भन्दै सुर्खेतका अधिवक्ता दुर्गाप्रसाद उपाध्यायले पनि पारिवारिक होली खेले। बिहान परिवारका सदस्यले आपसमा रङ लगाए अनि यसपालिको होलीलाई बिदाइ गरे।

पहाडी जिल्लामा सोमबार होलीको रौनक देखिएन। हरेक वर्ष विशेष उमंगका साथ खेलिने होली यसपालि शान्त र पारिवारिक रूपमा टीका लगाएर मात्र खेलियो। रङ दल्नुभन्दा आफन्तसँग दुःख–सुखका कुरा गरेर होली मनाइयो। होलीको दिन रंगिन हुने सडक रङविहीन भएका छन्। चोक चौतारामा भेला हुने युवायुवतीले यसपालि गत वर्ष जसरी होली मनाउन पाएनन्। ‘गत वर्ष सामूहिक होली खेलेका थियौं,’ गगन खड्काले भने, ‘यसपालि होली खेलिएन।’ नेपालमा कोरोना नभित्रिए पनि संक्रमणको त्रासले गर्दा भेला र समूह बनाएर होली नखेलिएको उनले बताए। होलीको पहिलो दिन पहाड र दोस्रो दिन तराईका क्षेत्रमा उमंगका साथ रङ खेल्ने चलन छ। तर कोरोना भाइरस संक्रमणको जोखिम निम्तन सक्ने भन्दै यो वर्ष पहाडी क्षेत्रका बासिन्दाले विगतजस्तो गरी होली मनाएनन्।

हरेक वर्ष विशेष उमंगका साथ खेलिने होली यसपालि शान्त र पारिवारिक रूपमा टीका लगाएर मात्र खेलियो। रङ दल्नुभन्दा आफन्तसँग दुःख–सुखका कुरा गरेर होली मनाइयो।

होलीको रौनक नहुँदा कर्णालीका जिल्लाका मुख्य बजार क्षेत्र सुनसान बने। कोरोना नियन्त्रित होली भएको भन्दै यो पनि सकारात्मक सन्देश गएको सुर्खेतका कृष्णकुमार केसीले बताए। गत वर्षजस्तो उत्साहका साथ होली नखेलेको उनको भनाइ छ। होलीका गीतहरू गुन्जमान हुने क्षेत्र सुनसान बने। यसपालि होली पारिवारिक भेटघाटको राम्रो अवसर बन्यो। यसपालि होलीको रौनक नहुँदा रङको कारोबारसमेत कम भयो। विगतभन्दा यसपालि दुर्घटना पनि कम भए।

हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ। त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग यस चाडलाई जोडेर हेरिन्छ। हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपू) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैं आगोमा भष्म भएको तर विष्णुभक्त प्रल्हादलाई केही नभएको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ। होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक–अर्कालाई रंगिन बनाउँछन्। सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन्। युवायुवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन्।

यस वर्ष सामाजिक सञ्जालमा अधिकतरले गत वर्षका तस्विरहरू सेयर गरेका छन्। केहीले निधारमा एक धर्के टीका लगाएर तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। यसपालि होलीमा रमाइलो नहुँदा पवित्रकुमार शाही सामाजिक सञ्जालमा लेख्छन्, ‘उराठलाग्दो होली ः सडकमा मान्छे छैन। मायाको पसलमा व्यापार छैन। मनमा उमंग छैन।’

होलीका नाममा विकृति
काठमाडौं – हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व यस वर्ष पनि विभिन्न तरिकाले मनाइएको छ। तर रङको माध्यमबाट खुसी साटासाट गरिने पर्व होलीका नाममा कुसंस्कार पनि फैलिँदै गएको छ। यसपालिको होली नकारात्मक क्रियाकलाप र कोरोना भाइरसका कारण विरसिलो देखिएको छ।

विश्वमा फैलिरहेको कोरोना भाइरसका कारण नेपालीको जनजीवन पनि प्रभावित भएको छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले यो वर्ष कोरोना भाइरसको त्रासका कारण पशुपतिमा पर्व मनाउँदा होसियारी अपनाएको बताए।

अघिल्ला वर्षझैं यो वर्ष पनि विभिन्न पसल तथा स्टलमा विभिन्न शब्दसहितका सेतो टिसर्ट र लोला बेच्न राखिए। तर पसलमा राखिएका टिसर्ट र लोला बिकेनन्। ‘यो वर्ष होली टिसर्ट र लोला १० प्रतिशत पनि बिकेनन्,’ बिक्री नभएको रत्नपार्कका लुगा व्यापारी जयराम बिकले भने, ‘यस पटक होलीको व्यापार चौपट भयो।’

यसपटकको होलीमा चिकित्सकले भनेअनुसार सर्वसाधारण धेरै सचेत देखिए। सामाजिक दृष्टिले पर्व सुनसानजस्तै भए पनि स्वास्थ्यका दृष्टिले यो राम्रो भयो।

त्यसैगरी, कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरूले होलीको रमाइलो गर्दा विशेष सतर्क रहन सार्वजनिक ध्यानाकर्षण गराएका थिए। टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाका अनुसार पानीमा भिज्दा तथा भिडभाडमा रङ–अबिर दल्दा विशेष ध्यान दिन आग्रह गरिएको थियो। ‘हामीले विभिन्न माध्यमबाट होली पर्व खेल्दा कोरोना भाइरको संक्रमणबारे सचेत रहन आग्रह गरेका थियौं,’ प्रवक्ता बाँस्तोलाले भने, ‘हामीले भनेअनुसार सर्वसाधारण धेरै सचेत भएको देखियो। सामाजिक दृष्टिले पर्व सुनसानजस्तै भए पनि स्वास्थ्यका दृष्टिले यो राम्रो भयो।’

काठमाडाैंकाे ज्याठा टाेलमा साेमबार लुकेर हानिएकाे लाेलाबाट तर्किदै युवतीहरू। तस्बिर: विजय राई/नागरिक

यता, राजधानी काठमाडौंको होली संगठित रूपमा सुनसानसरह भए पनि केहीले होली मनाएको र होली मनाउनेमध्ये धेरैले उच्छृंखलता देखाएको प्रहरीको भनाइ छ। होलीका दिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली खेल्ने क्रममा नकारात्मक काम गर्ने एक हजार नौ सय ४१ जना पक्राउ गरेको जनाएको छ।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार अहिले होलीका नाममा विकृति फैंलदै गएको छ। होलीमा नाममा लागुपदार्थ सेवन तथा जथाभावी होली खेल्ने, सवारी हाँक्ने मानिसलाई प्रहरीले पक्राउ तथा कारबाही ग¥यो। प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न चोकहरूमा ‘सवारी तीव्र गतिमा नहाकौं र मापसे गरी सवारी नचलाऔं’ भन्ने लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी खटाएर होलीका नाममा विकृत व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिएको थियो।

होलीको व्यवस्थापनका लागि प्रहरीले ७५ ठाउँँमा चेक–पोस्ट राखी अनुगमन गरेको थियो। प्रहरीले बाटो छेक्ने गरी होली खेल्ने, जथाभावी होली खेल्ने, मादकपदार्थ सेवन गरी जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राख्ने, तीव्र गतिमा सवारी चलाउने, जिगज्याग वा लापरबाहीका साथ सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउने र ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारीसाधन चलाउनेलाई कारबाहीका लागि पक्राउ गरेको थियो।

महाशाखाका प्रमुख भीमप्रसाद ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानले गस्ती तथा छड्के जाँच गरेको बताए। उनले उपत्यकामा दुर्घटना कम गर्ने उद्देश्यका साथ होलीका दिन नियमितबाहेक थप ट्राफिक प्रहरी परिचालन गरिएको बताए। ‘हामीले मोटरसाइकल ट्राफिक प्रहरीसमेत गरी पाँच सय ६६ जना ट्राफिक प्रहरी परिचालन गरेका थियौं,’ उनले भने, ‘नकारात्मक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी एक हदसम्म सफल भयो।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको थियो।
सन्तोष पोखरेल/पोखरा,रितेश त्रिपाठी/वीरगन्ज,गणेश विशु–वीरेन्द्रनगर,कविराज कार्की/काठमाडौं,

प्रकाशित: २७ फाल्गुन २०७६ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App