१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विदेशबाट आउने घरैमा क्वारेनटाइन बस्नू

काठमाडौं – कोभिड– १९ (नोवल कोरोना भाइरस) को संक्रमण चीनबाट विभिन्न देशमा फैलिरहेको र नेपालमा उच्च जोखिम कायम रहेको स्थितिमा संक्रमण फैलिएको देशबाट नेपाल फर्किनेले घरमै क्वारेनटाइनमा (भिन्नै) बस्नु उचित हुने चिकित्सकले सुझाएका छन्। डिसेम्बर अन्तिम सातादेखि चीनको हुवेइबाट फैलिएको कोरोना संक्रमण चीनबाहिरका देशमा पनि फैलिरहेको अवस्थामा चिकित्सकले यस्तो सुझाव दिएका हुन्। नेपालीहरूको उल्लेख्य बसोबास रहेको चीन र कोरियामा कोरोना संक्रमण फैलिएको अवस्थामा आफैं सचेत भएमा यसबाट बच्न र बचाउन सकिने चिकित्सकको सुझाव छ।

तीन सातायता नेपाल प्रवेश गरेकाहरूमा नेपाल प्रवेश गरेपछि कुनै लक्षण नभए पनि चिकित्सकलाई भेट्न र चिकित्सकलाई भेटेपछि मात्र घरमा क्वारेनटाइन बस्न सुझाव दिएका हुन्। कोरोना भाइरस शरीरमा प्रवेश गरे पनि लक्षण देखाउन समय लाग्ने र परीक्षणमा तुरुन्तै नदेखिन सक्ने भएकोले व्यक्ति आफैं सचेत भएमा आफू र अरूलाई संक्रमणबाट बचाउन सकिने चिकित्सकको सुझाव छ। ‘नेपाल आउनेबित्तिकै घरमा क्वारेनटाइन बसेमा जोखिमवाट बच्न र बचाउन सकिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुपराज बाँस्तोलाले भने। कोरियामा रहेका नेपालीको हकमा भने विभिन्न नियम पालना गरेमा त्यहीं पनि सुरक्षित रहन सकिने उनको सुझाव छ। कोरियामा रहे पनि साथीभाइसित हात नमिलाउने, साथीहरूबीचमै निश्चित दूरीमा बस्ने, सामान्य रुघाखोकी लागेमा चिकित्सकसित जाँच गर्ने, फोहोर चलाएपछि, कुनै सतह, सार्वजनिक सौचालय तथा यातायात छोएपछि साबुन पानीले हात धुने, कुनै चिज छोएपछि हात धुनुअघि नाक, मुख र आँखामा हातले नछुने, बाहिर निस्किँदा भरपर्दो मास्क लगाएर हिँड्ने जस्ता नियम पालना गरेमा संक्रमणबाट बच्न सकिने चिकित्सकको सुझाव छ।

अहिले खरिपाटी क्वारेनटाइनमा रहेका सबैको दैनिक स्वास्थ्य परीक्षण भइरहेको, कोरोना संक्रमण फैलिन नदिन सातै प्रदेशमा हेल्थ–डेस्कको स्थापना, सबै नाकाहरूमा हेल्थ–डेस्कको व्यवस्था र विदेशबाट आउनेहरूको स्वास्थ्य परीक्षण तथा संकास्पद संक्रमितलाई आइसोलेसनमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण नेपालमा भने अहिलेसम्म समुदाय स्तरमा फैलिएको छैन। हालसम्म दुई सय १६ जनाको परीक्षण गरिएकोमा एक जनाबाहेक सबैमा नेगेटिभ पाइएको छ। पोेजिटिभ भेटिएका चीनबाटै आएका विद्यार्थी हाल स्वस्थ भइसकेका छन्। क्वारेनटाइनस्थलमा रहेका एक सय ७५ जना नै हालसम्म स्वस्थ रहेको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसका कारण हालसम्म चीनमा मात्र दुई हजार तीन सय ४८ र अन्य देशमा ११ जनाको मृत्यु भइसकेको छ भने विश्वभरि ७७ हजार नौ सय ९४ जनामा संक्रमण फैलिएको छ। चीनबाहिर एक हजार चार सय दुई जनामा संक्रमण भएको पाइएको छ। दक्षिण कोरियामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या दुई जना पुगेका छन्। हाल इटाली, चीन, कोरिया र इरानमा कोरोना संक्रमण फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App