२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उद्योगका नाममा महाभारत पहाड दोहन

रोल्पा – पछिल्लोसमय रोल्पामा विभिन्न प्रभाव र प्रलोभनमा परेर महाभारत पहाड दोहनले तिव्रता पाएको छ। सिमेन्ट कारखाना सञ्चालनका नाममा जिल्लाका अग्ला र सामरिक महत्वका पहाड उत्खनन् हुन थालेपछि स्थानीय चिन्तित बन्न थालेका हुन्। महाभारत पहाड दोहनका लागि केही स्थानीय टाठा बाठालाई प्रलोभनमा पारेर कागज मिलाउँदै वातावरणीय प्रभावको गलत मूल्यांकन पेस गरेर उत्खनन्को अनुमति लिने काम समेत भइरहेको छ।

२ हजार १ सय ५२ मिटर उचाइमा रहेको रुन्टीगढी गाउँपालिका होलरीनजिकको अग्लो महाभारत पहाडको ‘मुरुल्ले लेक’ दोहन प्रक्रिया सुरु गरेको भन्दै स्थानीयले विरोध सुरु गरेका छन्। केही समययता शुभम खनिज उद्योगको सम्राट सिमेन्ट प्रालिले लेक उत्खनन्का लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिरहेको थाहा पाएपछि उनीहरू चिन्तित बनेका हुन्। त्यसो त उद्योगले हाल ड्रिल कार्य भइरहेको क्षेत्रसम्म पुग्नका लागि खनेको सडकको प्रारम्भिक वातावरणीय परीक्षणसमेत गरेको छैन।

हरेक हिसाबले जोगाउनै पर्ने मुरुल्ले लेक र आसपासको सरकारी बन क्षेत्रमा सिमेन्ट उद्यागेले चलखेल गरेको भन्दै स्थानीयले रुन्टीगढी गाउँपालिका, जिल्ला प्रशासन कार्यलय, जिल्ला वन कार्यलय, खानी तथा भूगर्भ विभाग, वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय, वन्यजन्तु विभाग र अख्तियार दुरुपयोग आयोगमा समेत उजुरी दर्ता गराएका छन्।

‘मुरुल्ले लेक उत्खनन् सुरु भयो भने १ हजार ५ सय घरधुरी प्रत्यक्ष प्रभावित हुनुका साथै वरिपरिका पानीका मूल सुक्ने सम्भावना छ। यो क्षेत्र गिद्दको वासस्थान भएको हँुदा जैविक विविधता नष्ट हुने देखिन्छ।’ मुरुल्ले बचाउ अभियानका केशवराज चन्दले भने, ‘ढुवानीका लागि दैनिक चल्ने दर्जनांै ट्रिपरले सहिद मार्ग ध्वस्त बनाउने र हापुर, सेवार, ग्वार खोला सुकेर दाङका खेतीयोग्य जमिन मरुभूमि हुनेछ। वातावरणमा प्रदुषण भई मानव जीवन प्रभावित हुने भएकाले उत्खनन्को विरोध गरेका हाैं।’

त्यसो त स्थानीय सरकारका रूपमा रहेको रुन्टीगढी गाउँपालिकाले पनि कुनै हालतमा मुरुल्ले दोहन हुन नदिने बताएको छ। ‘मुरुल्ले सामुदायिक वन क्षेत्र हो। त्योभन्दा तलको बस्तीमा सिमेन्ट उद्योगले जग्गा किनेको छ।’ गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने, ‘जे भए पनि मुरुल्ले भत्काउन दिँदैनौ यो हाम्रो पर्यटकीय क्षेत्र हो, यसलाई जसरी भए पनि जोगाउछाैं।’ उनले होलेरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न खोजेको बताउँदै प्रकृति संरक्षणमा लाग्ने बताए।

त्यसो त होलेरीनजिकैको धौलावाङस्थित नयाँ गाउँबाट सोनापुर सिमेन्टले १० वर्षअघिदेखि उत्खनन् गरिरहेको छ। उद्योगले दैनिक दर्जनौं ट्रिपर चुनढुंगा निकासी गरिरहेको छ। तर उसले नियमानुसार वनक्षेत्र उत्खनन् गरेपछि गर्नैपर्ने वृक्षरोपण र वातावरणीय जोखिमका उपाय भने गरिरहेको छैन। कहिलेकाहीँ कतै केही रूख रोपे पनि कति उम्रेनन् भने कति हुर्केनन्। तर पनि सिमेन्ट उद्योगले त्यतातिर ध्यान दिएको पाइँदैन। दैनिक दर्जनांै संख्यामा चल्ने उद्योगका ट्रिपरका कारण भर्खरै कालोपत्रे गरिएको घोराही–होलेरी खण्डको ३० किलोमिटर सडकसमेत जीर्ण बनेको छ।

नियमानुसार उद्योगले जति सरकारी जग्गामा काम गर्छ त्यति बराबरको निजी जग्गा किनेर वनको नाममा पास गरी वृक्षरोपण गर्नुपर्छ। विधि, विधान वा नीति अनुसार कागजी काम चाहिँ गर्ने उद्योगबाट व्यवहारिक काम नभएको स्थानीको भनाइ छ। सोनापुर सिमेन्टले पहिले निजी जग्गाबाट सामाग्री निकालेको थियो तर गत साउनदेखि वन क्षेत्रबाट निकाल्दै आइरहेको छ। ‘उद्योगले वृक्षरोपण गर्नुपर्छ तर त्यो सफल देखिएको छैन,’ वन डिभिजन प्रमुख दधी कँडेलले भने।

प्रकाशित: १० फाल्गुन २०७६ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App