मान्म- कर्णालीमा जन्म र मृत्युमा निःशुल्क २० किलो चामल दिने कार्यक्रम प्रभावकारी हुँदै गएको छ। विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसद्मा ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मृत्युमा प्रतिपरिवार निःशुल्क चामल दिने घोषणा गरेका थिए।
तत्कालीन अवस्थामा निकै विरोध भएको जन्म र मृत्युमा चामल दिने कार्यक्रम अहिले भने निकै प्रभावकारी बन्दै गएको छ। कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालिकोटमा जन्म र मृत्यु हुँदा चामलसहित ढुवानी खर्चवापत एक हजार रुपैयाँ दिने गरिएको छ। कालिकोटका जन्म र मृत्युमा चामल लिनेको सङ्ख्या निकै बढी रहेको छ। कर्णालीका अन्य जिल्लाभन्दा जनसङ्ख्या पनि बढी भएका कारणले त्यहाँ चामल लिनेको सङ्ख्या बढी रहेको खाद्य संस्थान शाखा कार्यालय कालिकोटले जनाएको छ।
कालिकोटमा चालू आर्थिक वर्षका सात महिनामा जन्मवापत १९० क्विन्टल २० किलो, मृत्युपश्चात ८१ क्विन्टल ८० किलो चामल गएको र त्यसवापतको २१ लाख दुई हजार २०० रुपैयाँ खर्च भएको खाद्य संस्थान शाखा कार्यालय कालिकोटका प्रबन्धक निर्मलकुमार थापाले बताए। आव २०७५/७६ मा जन्म, मृत्युमा २७० क्विन्टल चामल गएको र २७ लाख १५ हजार ७१० रुपैयाँ खर्च भएको प्रबन्धक थापाले बताए।
प्रकाशित: २ फाल्गुन २०७६ ०८:३१ शुक्रबार