१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आफ्नो घर छोडी भाडामा वडा कार्यालय

टीकापुर – टीकापुर नगरपालिकाका दुई वडाले आफ्नो घर छोडेर भाडाको घरमा कार्यालय सारेका छन्। आफ्नो घर हुँदाहुँदै नगरपालिका–१ र २ ले बसिरहेको आफ्नो घर छोडेर व्यक्तिको घरमा लगेका हुन्। वडा नम्बर १ ले मासिक १९ हजार ५ सय ७५ र वडा नम्बर २ ले मासिक १२ हजार रुपैयाँमा घरभाडामा लगेका छन्।

वडा नम्बर १ ले बस्दै आएको टीकापुर नगर विकास समितिको गेस्ट हाउसको भुइँतला छोडेर स्थानीय खड्क चौधरीको घर भाडामा लिएको छ। सो घर कार्यालयले २०७७ असार मसान्तसम्मका लागि भाडामा लिएको छ। यसअघि वडा कार्यालय २०७४ असोज महिनादेखि नगर विकास समितिको गेस्ट हाउसको भुइँतलामा सञ्चालन हुँदै आएको थियो। वडाध्यक्ष गंगाराम आचार्यले गेस्ट हाउस साँघुरो भएकाले कार्यालय सार्नुपरेको बताए। उता वडा नम्बर २ ले भने आफ्नै भवन छोडेर स्थानीय खगेन्द्रप्रसाद बजगाईंको घर भाडामा लगेको छ। वडा कार्यालयले विगत तीन महिनादेखि सोही घरबाट कामकाज गर्दै आएको थियो। सो घर आगामी असार मसान्तसम्मका भाडामा लगेको बताइएको छ।

वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकीले वडा कार्यालय भवन निर्माणको तयारी भइरहेकाले घर भाडामा लग्नु परेको जानकारी दिए। उनले ८१ लाखको लागतमा वडा कार्यालय भवन निर्माणको तयारी भइरहेको जानकारी दिए। सो भवन निर्माणका लागि जिल्ला समन्वय समितिले ५० लाख र नगरपालिकाले ३१ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रकाशित: २५ पुस २०७६ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App