१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चिसोले जनजीवन प्रभावित

रौतहट – लगातारको शीतलहरले समग्र जनजीवन प्रभावित भएको छ। अत्यधिक जाडोले गर्दा तराई मधेसको यात्रा, शिक्षा, व्यवसाय, खानपान तथा रहनसहनदेखि सामान्य दैनिकी नै प्रभावित भएको हो।

गत सातादेखि बढेको जाडोले जिल्लाका अधिकांश स्थानीय तहले शैक्षिक संस्था बन्द घोषणा गरेका छन्। शीतलहर सुरु भएपछि विद्यालय सञ्चालन हुँदा पनि झ्यालढोका खोलेर पढाउँदा अत्यधिक जाडो भएर बस्नै नसक्ने र झ्यालढोका बन्द गर्दा कक्षाकोठा पूरै अँध्यारो हुने भएकाले पठनपाठन पूर्ण रूपले प्रभावित भएको थियो। साथै विद्यालय सञ्चालन गरिए पनि मुख्य प्राथमिक तहका विद्यार्थीको उपस्थिति अति न्यून भएकाले शैक्षिक गतिविधि अगाडि बढाउनै गाह्रो भएको थियो।

जाडोबाट बच्न विद्यालयमा कुनै साधनको व्यवस्था नभएको र जाडोले बालबालिकालाई साह्रोगाह्रो परिहाले बचाउने उपाय पनि नभएकाले घरमा सुरक्षित हुने ठानेर अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेका हुन्। कतिपय अवस्थामा घरबाट विद्यालय जाँदा र विद्यालयबाट फर्किंदा नै जाडोले कठांग्रिने देखिएकाले साना बालबालिकालाई बचाउन पनि विद्यालय बन्द गरिएको बुद्धिजीवीहरूको भनाइ छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रौतहटका वरिष्ठ उपाध्यक्ष गौतम श्रेष्ठले विद्यालयका साना बालबालिका जाडोबाट अत्यधिक प्रभावित हुने भएकाले अधिकांश स्थानीय तहले सामुदायिक विद्यालयमा जाडो बिदा दिइएको बताए। उनका अनुसार केही संस्थागत विद्यालयमा पनि जाडो र विभिन्न पर्वले प्रभावित भएको छ।

अत्यधिक जाडोले यातायात क्षेत्रमा पनि प्रभाव परेको छ। सार्वजनिक यातायातका साधन चले पनि यात्रुको संख्या भने घटेको छ। यसैगरी निजी सवारीसाधनको संख्यामा पनि व्यापक कमी आएको छ। साइकल र मोटरसाइकलमा यात्रा गर्नेको संख्यामा ६० प्रतिशतभन्दा बढीले कमी आएको पाइएको सम्बन्धित क्षेत्रका जानकार बताउँछन्। घरबाट निस्कनै मुस्किल भएकाले यातायात र व्यापारमा प्रभाव परेको छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य धर्मनाथप्रसाद जयसवालले अत्यधिक जाडोले व्यापार क्षेत्रमा गम्भीर असर परेको बताए। मुख्य गरी शरीरलाई न्यानो बनाइराख्ने कपडा तथा चिया र कफीको व्यापारमा वृद्धि भए पनि अन्य व्यापारमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको उनको दाबी छ।

जाडोले जनजीवनलाई प्रभावित बनाएपछि विभिन्न स्थानीय तहले सार्वजनिक ठाउँमा दाउरा बाल्न थालेको छ। मानिसको आवागमन बढी हुने चोक तथा गाउँका धेरैलाई पायक पर्ने ठाउँमा दाउरा बाल्न थालिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटको पहलमा विभिन्न प्रहरी युनिटहरूले पनि जिल्लाका धेरै ठाउँमा दाउरा बालेको देखिएको छ। अत्यधिक जाडोले सर्वसाधारणलाई जोगाउन तत्कालीन उपायको रूपमा दाउरा बाल्न थालिएको जनप्रतिनिधिले बताएका छन्।

गढीमाई नगरपालिकाको करिब तीन दर्जन सार्वजनिक ठाउँमा दाउरा बालिएको र अत्यधिक जाडोबाट बचाउन नगरपालिकाले केही सकारात्मक पहल गरेको नगरप्रमुख श्यामप्रसाद यादवले बताएका छन्।

बिहीबार सबैभन्दा जाडो दिन
दुई सातादेखि जाडो बढेको भए पनि बिहीबार सबैभन्दा बढी जाडो अनुभव गरिएको छ। बिहीबार बिहान चार डिग्री तापक्रम रेकर्ड गरिएको थियो। अत्यधिक चिसो बढेपछि सर्वसाधारण आफ्नो घरमै पनि कठांग्रिने अवस्था आएको देखिएको छ। आगामी केही दिनसम्म न्यूनतम तापक्रम चार र पाँच डिग्रीबीच रहने पूर्वानुमान गरिएको छ।

प्रकाशित: ११ पुस २०७६ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App