रामेछाप – तीन तहको निर्वाचनपश्चात गाउँगाउँमा सिंहदरबार पुग्ने नारा दिइएको तीन वर्ष बित्न लाग्दा पनि रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलका स्थानीयको दुःख अझ ज्युका त्युँ छ। सडक, विद्युत्, स्वास्थ्य, शिक्षा र सुरक्षाजस्ता आधारभूत सुविधाबाट वञ्चित गुम्देलबासीले सरकारसँग नयाँ योजना केही मागेका छैनन्। चुनावका बेला वाचा गरेकामध्ये आधा भए पनि पूरा भइदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना छ। यी वर्षाैंदेखि गुम्देलीहरूले अपेक्षा गर्दै आएका मागहरू हुन्।
‘सरकार धेरै बने तर गुम्देलीको दुःखको अवस्था कहिल्यै फेरिन सकेन,’ स्थानीय वीरेन्द्र बस्नेतले बताए। स्थानीय सरकार हुनु र नहुनुमा गुम्देलबासीका लागि कुनै फरक नरहेको उनको भनाइ छ।
जिल्लाका अन्य ठाउँहरूमा विकासले फड्को मारिसक्दा पनि गुम्देलीहरू भने विकासका आधारभूत कुरामा समेत राज्यबाट ठगिएका छन्। गाउँको आधारभूत आवश्यकतासम्बन्धी४४ब्ल्म्एभ्च्जुन आवाज वर्षौंदेखि उठ्दै आएको र त्यो आज पनि निरन्तर रहेको गुम्देलका युवा भीमसेन बस्नेतले बताए। समग्रमा गुम्देल जिल्लाको मात्र नभई मुलुककै दुर्गम गाउँ हो कि भन्ने भान हुने बस्नेतले बताए। अमृतबहादुर कार्कीका अनुसार बिरामी हुँदा गाउँमा सामान्य ट्याब्लेट (चक्की औषधि) पाउन पनि गाह्रो छ। ठूलो उपचारको कुरा यहाँका लागि सपनाजस्तै हो। ‘गाउँमा एकजना एचएसम्मको दरबन्दी नहुनु दुखद भएको उल्लेख गर्दै कार्कीले भने, ‘यहाँबाट कसैलाई उपचारका लागि बाहिर लानु परे हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन। हेलिकोप्टर चार्टर गर्ने हैसियत नहुने स्थानीयले मृत्यु कुर्नुको विकल्प हुन्न।’
गाडी कुद्न सक्ने सडक नभएको गुम्देल गाउँबाट एकपटक हेलिकोप्टर चार्टर गरेर बिरामी लानुपर्दा एक लाख ६० हजारसम्म खर्च लाग्ने गर्छ। ‘शिक्षाको कुरा गर्दा दुईजना शिक्षकले पाँचवटा कक्षा हेर्नुपर्छ,’ कार्कीले भने, ‘यस्तो पाराले यहाँको शिक्षा क्षेत्रको विकास कहिले हुन्छ ?’ केही दिनअघि वडामा पुगेका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेसँग स्थानीयले आफूहरूको गाउँ विकासमा पछि परेको गुनासो राखे। गुम्देलबासीको यो गुनासो गाउँ पुग्ने नेतादेखि कर्मचारीहरूसँग राखिने सदाबहार गुनासो हो। समस्या जति राख्दा पनि कहिल्यै समाधान नहुँदा निराशा मात्र लाग्ने गरेको अमृत कार्की बताउँछन्।
सरकारको नजरबाट गुम्देल निकै टाढा नै रहेको स्थानीय नवराज कार्कीले बताए। ‘गाउँको अवस्था हेर्दा सबै क्षेत्र उस्तै छ , चित्त बुझाउने नाउमा प्राकृतिक सौन्दर्यबाहेक केही छैन,’ उनले भने। सडक, स्वास्थ्य, शिक्षा र विद्युत्को अवस्था हिजोको जस्तो दयनीय रहेको उनको भनाइ छ। वडामा प्राकृतिक सौन्दर्यको पाटोमा केही काम गर्न सके त्यसले गुम्देलको मात्र नभई जिल्लाकै पहिचानलाई माथि उठाउन सक्ने सम्भावना भए पनि त्यस क्षेत्रमा कुनै काम हुन नसकेको कार्कीको भनाइ छ। मुस्किलले गाउँमा सडकको ट्र्याक पुगे पनि नियमित यातायात सञ्चालनमा कठिनाइ छ।
‘दुई÷तीन महिनाबाहेक अधिकांश समय सडक अवरुद्ध हुने गरेको स्थायनीय शिक्षिका सची कार्की बस्नेतले बताइन्। ‘विकासको पहिलो पूर्वाधार मानिने सडकको अवस्था दयनीय भएकाले अरू विकासको आशा गर्नु बेकार हो,’ उनले भनिन्। गुणस्तरीय सडक निर्माणका लागि पालिकाले बजेट दिन नसकेको स्थानीयको गुनासो छ। लेकक्षेत्र भएकाले प्रायः भइरहने वर्षाले त्यस क्षेत्रका अधिकतर बाटो अवरुद्ध हुने भएकाले स्थानीयले सधैं सास्ती बेहोर्नुपरेको शिक्षिका कार्कीले बताइन्।
गुम्देलका स्थानीय गाह्रोसारो पर्दा सुरक्षाको प्रत्याभूतिसमेत गर्न सकेका छैनन। सो क्षेत्रमा प्रहरी चौकी छैन। मरीमराउ वा तलमाथि केही घटना भएमा ६ घण्टाको पैदल दूरीमा रहेको बाम्तीभण्डार प्रहरी चौकी पुग्नुपर्ने बाध्यता छ। स्थानीयको गुनासो सुनेपछि गाउँमा पुगेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले अस्थायी प्रहरी क्याम्प राख्न प्रयास गर्ने आश्वासन दिए।
प्रजिअ सामु रोए वडाध्यक्ष
उमाकुण्ड गाउँपालिका–१ गुम्देल गाउँ पहिलेदेखि नै विकासमा पछि परेको वडा हो तर अहिलेसम्म पनि स्थिति जस्ताको त्यस्तै रहँदा आफैं दुखी बनेको वडाध्यक्ष नोर्बु शेर्पाले बताए। ‘म वडाको निर्वाचित जनप्रतिनिधि भए पनि म नै निराश भएको अवस्था छ,’ शेर्पाले विगत सम्झँदै भने ‘म जनताकै सेवा गर्छु भनेर स्थानीय निकायको चुनावमा वडाध्यक्ष लडें र जितें पनि। तर जनताको अपेक्षाअनुसार काम गर्ने वातावरण नहुँदा आफैंमा लज्जाबोध भएको छ।’
‘वडाध्यक्ष निर्वाचित भएपछि जनताकै काममा लागिरहें, वडाका सबैले आफूलाई सरकार मान्ने र गुनासा राख्ने गर्छन् तर मैले उनीहरूको भावनाअनुसार काम गर्ने वातावरण नै बनेन,’ वडाध्यक्ष शेर्पा गाउँ आएका प्रजिअसामु यति भनेका के थिए एक्कासी भक्कानिए। विकास तथा सरकारी कामको वडास्तरमा भएको प्रभावकारिता अवलोकन गर्न गुम्देल पुगेकी प्रजिअ पाण्डेसँग वडाका समस्या राख्दै गर्दा उनी भक्कानिएका थिए। बोल्दाबोल्दै गहभरि आँसु बनाएका ७४ वर्षीय वडाध्यक्ष शेर्पा रुँदै बोलिरहँदा सबैको ध्यान उनीतर्फ नै केन्द्रित भएको थियो। पाको उमेरका वडाध्यक्ष रुँदै बोल्न थालेपछि त्यहाँको कार्यक्रमको वातावरण नै अर्कै बन्यो, कार्यक्रमका सहभागी सबै निःशब्द बने। वडाध्यक्षको हैसियतमा विकासको माग लिएर गाउँपालिका कार्यालय पुग्दा त्यहाँ वडाध्यक्षको होइन विपक्षीसरह व्यवहार हुने गरेको उनको गुनासो छ। वडाको विकासका लागि योजना बनाएर पालिकामा जाँदा उनी कांगे्रसबाट निर्वाचित भएकाले कांग्रेसकै नाममा योजना लिएर आएको भनेझैं व्यवहार हुने गरेको उनको गुनासो छ। उमाकुण्ड गाउँपालिकाका अध्यक्ष नेकपाका कार्यकर्ता हुन् भने पालिकामा पनि नेकपाकै बहुमत छ।
वडास्तरीय अन्तरक्रियामा सहभागी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डेले विकासमा कसैले राजनीति गर्न खोजे दुर्भाग्य हुने बताइन्। उनले वडाध्यक्ष शेर्पालाई आश्वासन दिँदै भनिन्, ‘यति पाको उमेरको वडाध्यक्षले गुनासो राख्दा भावुक भएर रोएकोप्रति मेरो ध्यानाकर्षण भएको छ, गुम्देलको विकासका विषयमा म पालिकासँग समन्वयकारी भूमिका निर्वाह गर्नेछु।’
प्रकाशित: २ पुस २०७६ ०१:५८ बुधबार