१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘ताप्लेजुङ–तिब्बत सडक सम्पर्क यही वर्ष’

ताप्लेजुङ- अहिलेकै गतिमा निर्माण कार्य अघि बढे चालु आर्थिक वर्षभित्रै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ र तिब्बतबीच सडक सम्पर्क स्थापित हुनेछ। तीव्र रुपमा भइरहेको कामले यस्तो आशा जगाएको हो।

ओलाङचुङगोला हुँदै उत्तर–दक्षिण जोड्ने गरी निर्माण भइरहेको सडकको पछिल्लो प्रगतिले नयाँ आर्थिक वर्ष अगावै त्रिदेशीय सडक सञ्जाल स्थापित गर्न सक्ने आशाको सञ्चार गराएको हो। त्रिदेशीय सडक सञ्जाल स्थापित गर्ने लक्ष्य अनुरुप अहिले ओलाङचुङगोला र लेलेप दुवैतर्फबाट ट्रयाक खोल्ने कार्य चलिरहेको छ।

गोलाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्जे काउन्टी सरकारको समन्वयमा तिब्बती उपकरण र मजदुरबाट लेलेपतर्फ सडकको ट्रयाक खोल्ने कार्य भइरहेको छ। सडक निर्माण कार्यमा डिङ्जे काउन्टी सरकारको संलग्नता स्थापित गर्न द्विदेशीय सहजकर्ताको काम गरिरहेका फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार गोलाबाट सुरु भएको सडकको ट्रयाक खोल्ने कार्य जोङ्गिनटारबाट लेलेपतर्फ अघि बढेको छ। फक्ताङ्लुङ नेपाल र तिब्बतको सीमावर्ती नेपाली गाउँ हो। यो भनेको गोलाबाट करिब ६ किलोमिटर लेलेपतर्फको भाग हो।

कुटनीतिक पहलमार्फत तिब्बती मजदुर र उपकरण प्रयोग गर्न उत्तर–दक्षिण(दोभान–ओलाङचुङगोला) सडक निर्माणको जिम्मेवारी पाएको एसडिए एलाइट कम्पनीमार्फत तिब्बती निर्माण व्यवसायीलाई पेटी ठेक्कामा जिम्मेवारी दिइएको छ। एसडिए एलाइट कम्पनी आफंैले पनि लेलेपबाट गोलातर्फको सडकको ट्रयाक खोल्ने कार्य अघि बढाइरहेको छ। कम्पनीका साइड इञ्चार्ज राजिव लामिछानेका अनुसार अहिले लेलेपबाट अघि बढेको सडकको ट्रयाक खोल्ने कार्य इलागाउँ पार गरेर छाँगाटार नजिक पुगेको छ। दुवैतर्फबाट हेर्दा अब ११ किलोमिटर सडकको ट्रयाक खुले दोभानबाट सुरु भएको उत्तर–दक्षिण(दोभान–ओलाङचुङगोला)सडकको पूरै ट्रयाक खुला भइसक्ने छ।

फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेनका अनुसार यही गतिमा काम भए यही वर्षमा उत्तर–दक्षिण सडकको बाँकी ११ किमी सडकको ट्रयाक खुला हुने कार्य पूरा हुने सम्भावना छ। २२ किमी छँदा असोज दोस्रो साताबाट गोला र लेलेप दुवैतर्फबाट सडकको ट्रयाक खुला गर्ने कार्य करिब अढाई महिनामा आधा छिचोलिएको छ।

अब ट्रयाक खुला गर्न जति दूरी बाँकी छ, त्योमध्ये अधिकांश चट्टानी भाग हो। एसडिए एलाइट निर्माण कम्पनीका साइड इञ्चार्ज पराजुलीले यो भागमा काम गर्न निकै ठूलो कठिनाइ चिर्नु सरह हुने अनुमान लगाएका छन्। ‘रकको चुनौती पन्छाउनु छ तर हामी यी कठिनाइलाई एकएक गरी पन्छाउने कोसिस गर्ने छौं’, उनले भने।

फुङ्लिङबाट गोलासम्मको ट्रयाक खुला भए तिब्बतको डिङ्जे काउन्टीमा पर्ने रिउ बजार पुग्न सहज छ। गोलाबाट नेपाल–तिब्बत सिमानाका टिपतालासम्मको ट्रयाक यसअघि नै खुलिसकेको छ। टिपतालाबाट रिउसम्मको सडकमा तिब्बत सरकार आफैंले सडक स्तरोन्नतिसमेत गरिसकेको छ। टिपतालाबाट गोलासम्मको सडक स्तरोन्नतिका लागि डिङ्जे काउन्टी सरकारले करिब १ अर्ब नेपाली रुपैयाँ लगानी गरी काम गर्ने यसअघि नै घोषणा गरिसकेको छ। यो अवस्थामा फुङ्लिङ–गोला सडक सञ्जाल जोडिनेबित्तिकै तमोर करिडोरको दोभान–मूलघाट सडकखण्ड हुँदै धनकुटा–धरान सडक हुँदै विराटनगरबाट भारतको जोगवनीसम्म सडक सञ्जाल स्थापित हुनेछ। त्यसो भएमा भारतको जोगवनीसम्मको त्रिदेशीय सडक सञ्जाल स्थापित हुनेछ।

प्रकाशित: १ पुस २०७६ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App