१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मायादेवीमा पर्यटक आकर्षित

मेला स्थलमा बनाइएका पर्यटकीय स्थलहरु

भैरहवा- रुपन्देही मर्चवार बस्ने हरि लोध रानीमहलसँग सेल्फी लिइरहेका थिए। रानीमहल जाने भनेर ३ पटकसम्म योजना बनाएका उनले घरायसी विविध कारणले पुग्न अहिलेसम्म सकेका छैनन। पेशाले व्यवसाय गर्ने लोधको ईच्छा पाल्पा गएर रानीमहलसँगै तस्विर लिने छ।

नेपालकै ताजमहलका रूपमा रहेको नदी किनारको त्यो मनोरम ठाँउ के कस्तो छ भनेर उनीमा उत्सुकता भएपनि उनी हासी हासी मेला स्थलमा रहेको रानीमहलसँग सेल्फी लिदै चित्त बुझाएका छन्। उनीसहित ४ जनाको समूहले पनि नजिकै रहेको हिमालसँग तस्विर लिदै थिए। कोही मार्दी हिमालसँग त कोही माछापुच्छ्रे र सगरमाथासँग। तराईमा बसेर अहिलेसम्म हिमालको अनुभुति न पाएका उनीहरुले फेसबुकका लागि भएपनि हिमाल सहितको तस्विर लिइरहेका थिए।

उनी मात्र होइनन् भारत सुनौली बस्ने अफजल खान पनि पर्यटकीय गन्तब्यहरु देखेर आश्चर्य चकित थिए। नेपालमा यस्तो ठाँउ छ र? , हामी जान मिल्छ?  भनेर नागरिक कर्मीसँग प्रश्न गरे। आकृतिबाटै लोभित भएका खानले छिटै नै विदा मिलाएर केही दिनको लागि हिमालको अनुभूति लिन नेपाल आउने बताए।

यी सबै दृश्य हो भैरहवामा जारी पाँचौ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सवको।

विशेष गरी पर्यटन र कृषिलाई मुख्य प्राथमिकता दिएर मंसिर ३ गते देखि महोत्सव आयोजना भएको छ। नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सहयोगार्थ आयोजना गरिएको महोत्सवमा गौतमबुद्ध जन्मस्थल मायादेवी मन्दिरको स्वरुप छ। पर्यटकीय जोन भनेर नामाकरण गरिएको उक्त क्षेत्रमा नेपालका १५ वटा पर्यटकीय क्षेत्रहरु स्वरुप बनाइएको छ।

मायादेवी मन्दिर भित्र नेपालका पर्यटकीय स्थल अर्घाखाँचीको सुपादेउराली मन्दिर, गुल्मीको बिचित्र गुफा, चितवनको सौराहा, मुगुको राराताल, मुस्ताङ हिमाल, प्युठानको स्वर्गद्वारी, सगरमाथा हिमाल, देवदहको पाकरी बृक्ष, माछापुच्छ्रे हिमाल, अन्नपुर्ण बेसक्याम्प, रेसुङ्गा, मार्दि हिमाल, पाल्पाको रानीमहल लगायतका पर्यटकीय गन्तव्यहरुको आकृति र परिचय राखिएको छ। यस बाहेक महोत्सवमा पशुपति मन्दिरको आकृतिको सचिवालय, मायाँदेवी मन्दिर आकृतिको प्रबेशद्वारले पनि दर्शकलाई आकर्षित बनाएको छ।

नेपाल प्राकृतिक तथा पर्यटकीय सम्पदामा धनी भएपनि प्रचार प्रसारको कमीका कारण नेपालमा जतिका पर्यटक आउन सकेका छैनन्। उद्योग व्यापार संगठनले आयोजना गरेको यस महोत्सवले केही हदसम्म भए पनि पर्यटकीय स्थलहरुले चिनारी र स्वरुप सहितको जोन बनाएकोले पर्यटन प्रबद्र्धनमा टेवा पुर्‍याएको छ।

 

प्रकाशित: ७ मंसिर २०७६ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App