४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अधुरै छन् सुकुम्बासीका घर

सिन्धुलीको दुधौली नगरपालिकाका सुकम्बासी भूकम्प पिडितका अधुरै रहेको घर तथा सुकुम्बासी भुकम्प पिडित। तस्विर : अनिल/नागरिक

सिन्धुली- दुधौली नगरपालिका ९ खिरियानीकी बुधमाया घिसिङ साना झुप्रो घरको आगनमा टाउकोमा हात राखेर बसेकी भेटिन्। घरको नाममा उनको सामान्य छाप्रोनै थियो। तर सोही छाप्रो पछाडी निर्माणधिन घर अधुरै थियो। विनासकारी भूकम्पपछि धेरै ठाउँहरुमा धमाधम पुर्ननिर्माण भइरहेका छन्। तर दुधौलीका सुकुम्बासी तथा आर्थिक अवस्था कमजोर भएका गरिबहरुका घर भने जगमै सिमित छन्।

सुरुमा सम्झौता गरि ५० हजार रुपैयाँ अनुदान दिए, तीन लाख पाइनेरहेछ भन्ने लागेर घरको जग राखियो, तर हालसम्म दोस्रो किस्ता पाएका छैनौ, तिनै बृद्धा बुधमायाले भनिन्, आश देखाए तर अहिले सुकुम्बासीलाई दिने नियम छैन भन्छन्। आफुहरु गरिब भएकै कारण भूकम्पपछिको पुर्ननिर्माण जगमै सिमित भएको उनको गुनासो छ। 'जग्गा जमिन छैन, जम्मा १७ धुर जग्गा भोगचलन गर्दै आएको हु, यसको पनि लालपुर्जा छैन, अब अनुदानकै लागि लालपुर्जा कसको ल्याएर देखाउनु?' उनले प्रतिप्रश्न गरिन्।

हुनेखानेले सहजै अनुदान पाएको भन्दै दुखीलाई स्थानीय सरकारले पनि सहजिकरण नगरिदिएको उनको आरोप छ। बरु ५० हजार पनि नदिएको भए हुन्थ्यो, जगमात्रै बनाएर बस्नु त पर्दैन थियो उनले भनिन्। सोही स्थानकी विमाया तामाङको घर पनि एक बर्षदेखि जगमै सिमित छ। भूकम्प गएको चार बर्ष पुरा भइसक्दा पनि सुकुम्बासीहरुको समस्या समाधान सरकारले नगर्दा आफुहरुको घर जगमै सिमित भएको उनको भनाई छ।

'दिनरात गरि कमाएको पैसाले खान हम्मे हम्मे हुन्छ, ऐलानी जग्गालाई दोस्रो किस्ता दिनलाई नियम आएको छैन भन्छन्', उनले भनिन्, 'दुधौली नगरपालिकामा धेरैपटक धाइसके तर हालसम्म दोस्रो किस्ता पाएको छैन।' घरमा आम्दानीको स्रोत नभएर गरिबी भएका कारण आफ्नो घर अधुरै रहेको उनको भनाई छ। 'ऐलानी जग्गामा अनुदान पनि पाइदैन भन्छन्, घरमा विदेशी लाहुरे छैनन् कमाएर ल्याउन' उनले भनिन्, 'नगरपालिका धाउदा धाउदै हैरान भइसके।'

जिल्लामा ५० प्रतिशत भन्दा बढी पुर्ननिर्माणले गति लिइसक्दा सुकम्बासी र गरिबका घर भने जगमै सिमित छन्। उनीहरुको डिपिसी भन्दा माथि घरको प्रगति भएको छैन। पहिलो किस्ताबापत ५० हजार पाएसँगै डिपीसी गरेका सुकुम्बासीहरुको दोस्रो किस्ता सिफारिस भएपनि पास नहुँदा हालसम्म पाएका छैनन्।

दुधौली नगरपालिका ४ कै सोनीलाल सदाको घर पनि अधुरै छ। उनले पनि जगभन्दा माथि उठाउन सकेका छैनन्। बस्ने बास फुसको सामान्य छाप्रो छ, सरकारले तीन लाख रुपैयाँ दिएपछि राम्रै घर बन्ने आश पलाएको थियो, उनले भने, पहिलो किस्ताबाट दोस्रो किस्ता नआउदा घर अधुरै छ। सडक अगाडी १७ धुर जग्गा छ तर यो जग्गाको लालपुर्जा नै छैन, उनले भने, त्यसैले घर पनि पहिलो किस्ताबापतको ५० हजारले बनाउदा जगमै सिमित भएको हो।

नेपाल सरकारले ऐलानी जग्गा र सुकुम्बासीलाई पनि बस्दै आएको ठाँउमा घर बनाउनका लागि अनुदान दिने प्रावधान राखेको भएपनि यस क्षेत्रका सुकुम्बासी भुकम्प पिडितले दोस्रो किस्ता नपाएको उनीहरूकाे गुनासो छ। 'हाम्रो नगरपालिकामा अझै थुप्रै घरहरु बन्न बाकी छन्, झन्डै ६२ प्रतिशत जति पुर्ननिर्माण भएको अनुमान छ,' दुधौली नगरपालिका प्रमुख घनश्याम राउतले भने, 'ऐलानी जग्गा र सुकुम्बासी भएकै कारण दोस्रो किस्ता दिन रोकिएको छैन।' उनले कागजात धेरै मिलाउनुपर्ने र नियम प्रावधान अनुसार नआएकाले भूकम्प पिडितको सिफारिस रोकिएको हुनसक्ने बताए।

'प्राविधिक नियम नपुगेका घरहरुलाई सिफारिस गर्न इन्जिनियहरुले मान्दैनन्,' उनले भने, 'त्यसैले केहि भुकम्प पिडितको रोकिएको होला, सुकुम्बासी तथा लालपुर्जा नभएको जग्गामा बनेका घरहरुलाई दोस्रो किस्ता दिने सरकारको नियमनै हो, त्यसले रोकिदैन।'

 

प्रकाशित: २५ कार्तिक २०७६ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App