८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

यस्तो विश्वविद्यालय भए !

फ्रान्सको राजधानी पेरिसमा अवस्थित पेरिस अन्तर्राष्ट्रिय विश्वविद्यालय क्याम्पस (सिते इन्टरनेसनल युनिभर्सिते) लाई संसारमै उदाहरणीय मान्न सकिन्छ। जसले स्थापनादेखि नै विश्वका विद्यार्थी, अनुसन्धानकर्ता, अन्वेषक र कलाकारलाई एकै छातामुनि जोडी अन्तर्राष्ट्रिय शान्ति र एकताको भावना सञ्चार गरिरहेको छ। औपचारिक पढाइ नगरी संसारका विद्यार्थीको साझा आवासका रूपमा मात्रै सञ्चालन गर्न यस अन्तर्राष्ट्रिय विश्वविद्यालयको परिकल्पना गरिएको हो। यद्यपि यहाँ फ्रेन्च भाषा र संस्कृतिको भने अनौपचारिक पढाइ हुन्छ।

सन् १९२५ मा निजी पार्क र फाउन्डेसनको दर्जामा स्थापना भएको यस विश्वविद्यालयको हाताभित्र विश्वका ४० देशका आवास छन्। जसका चार हजार आठ सय कोठामा विश्वका एक सय ४० भन्दा बढी देशका करिब १२ हजार विद्यार्थी बस्छन्। ८० वर्षको अवधिमा यहाँ दुई लाखभन्दा बढी विद्यार्थी बसेका छन्। यो अन्तर्राष्ट्रिय विश्वविद्यालयको पेरिसका विश्वविद्यालयहरूसँग नजिकको सम्बन्ध छ, तसर्थ यहाँ आवासमा बस्ने विद्यार्थी पेरिस र पेरिस वरपरका अन्य विश्वविद्यालयमा उच्च शिक्षा गरिरहेका विद्यार्थी हुन्छन्। तिनै आवासमध्ये एक नर्वे आवास (मेजों द नर्भेज) मा करिब एक वर्ष बसेको अनुभवले म निकै प्रभावित भएँ।

विश्वका विभिन्न देशका विद्यार्थीबीच सहिष्णुता कायम गर्नु, विश्वका विद्यार्थीलाई जोडेर तिनका विचार र दृष्टिकोण आदान–प्रदान गरी भविष्यमा मैत्री सम्बन्ध स्थापित गर्नु नै यो विश्वविद्यालयको मूलभूत उद्देश्य हो। यही नवीन सोचका कारण यो विश्वविद्यालय उदाहरणीय बनेको छ।

पहिलो विश्वयुद्धपछि पेरिसले अन्तर्राष्ट्रिय विश्वविद्यालय स्थापना गर्ने सोच राखेको थियो। सार्वजनिक अधिकारीहरू पेरिसमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या बढाउन चाहन्थे। तर, आवासको सकसले गर्दा त्यसो गर्न तत्काल सम्भव थिएन। त्यस्तो बेला समाधान स्वरूप यो विश्वविद्यालय सुरु भएको थियो। जसअनुसार, फ्रान्सेली राजनीतिज्ञ अन्द्रे ओनोरा (सन् १८६८–१९५०) ले विदेशी विद्यार्थीको आवास बनाउने उद्देश्यसहित शिक्षा मन्त्रालय समक्ष प्रस्ताव राखे। उक्त आवासले विश्वका विद्यार्थी, अन्वेषक तथा बौद्धिकहरूलाई शान्ति, एकता र मैत्री सहयोगको भावनाले जोड्ने, विश्वको शान्ति निर्माणमा योगदान पु¥याउने उनको विश्वास थियो। पेरिस एकेडेमीका रेक्टर र पेरिस युनिभर्सिटीको काउन्सिलका अध्यक्ष पाउल अपेल तथा उद्योगपति एमेल डाउच दे ला मेउरेले आयोजनाको प्रारम्भिक दिनमा दिएको समर्थनका कारण यो विश्वविद्यालयको स्थापना भयो।

यस विश्वविद्यालयको हाताभित्र विश्वका ४० देशका आवास छन्। जसका चार हजार आठ सय कोठामा विश्वका एक सय ४० भन्दा बढी देशका करिब १२ हजार विद्यार्थी बस्छन्। प्रायः निवास सम्बन्धित देशले नै सञ्चालन गर्छन्।

यसका संरचनाहरू प्रसिद्ध आर्किटेक्टहरू कब्र्युसियर, विलेम मारिनस दुडोक, हेयदार घियाई र क्लाउड प्यारेन्टले डिजाइन गरेका हुन्। यी आवास हेर्दा यस्तो लाग्छ, सयौँ वर्षलाई हुने र संसारमै नमुना बन्ने सोचेर फ्रान्सले यसको निर्माण गरेको थियो। प्रत्येक आवासका संस्थापकहरूको छनोट अनुसार निर्माण भएकाले प्राचीन र आधुनिक दुवै वास्तुकलाको संयोजनमा यी आवास निर्माण भएका छन्। वास्तुकलाको यो मिश्रण एक असाधारण सम्पदामा परिणत भएको छ। जस्तो कि म बसेको नर्वे आवासमा सम्पूर्ण सामान नर्वेकै थियो।

प्रायः निवास सम्बन्धित देशले नै सञ्चालन गर्छन्। तर, अन्य राष्ट्रियताका विद्यार्थीको बसोबास सहज बनाउन करिब ३० देखि ५० जना उही देशको विद्यार्थी हुन्छन् भने बाँकी २० देखि ३० राष्ट्रबाट आएका हुन्छन्। संस्थापकको नामबाट नामकरण गरिएको आवासले भने ६८ देशका नागरिकहरू स्वीकार गर्छन्, जसमा २५ प्रतिशत विद्यार्थी मात्रै फ्रान्सेली हुन्छन्, यसले अन्य विद्यार्थी र अनुसन्धानकर्तालाई फ्रान्सको भाषा र संस्कृतिसँग परिचित हुन मद्दत गर्छ।

यो विश्वविद्यालयमा प्रवेश गराउने सन्दर्भमा फ्रान्सले विभिन्न राष्ट्रिय संस्कृतिलाई समावेश गराउने नीति लिएको छ। वर्षको दुईपटक आवेदन खोलेर विद्यार्थीको योग्यताकै आधारमा भर्ना लिने गरिन्छ। यद्यपि वर्षैभरि विश्वको जुनसुकै देशबाट पेरिस आउनेले केही दिनका लागि मात्रै आवेदन गर्न सक्छ, स्वीकृत भएमा थोरै रकममा बस्न सक्छ। मास्टर डिग्री, डाक्टरेट र पोस्ट–डक्टरल अध्ययनका लागि भर्ना हुन चाहने विद्यार्थीलाई विद्यार्थीको योग्यता (मेरिट) का आधारमा भर्ना लिइन्छ।

एक सय ४० भन्दा बढी देशबाट आउने अधिकांशले विज्ञान, कानुन र अर्थशास्त्रको अध्ययन गर्छन्। सम्भवतः विश्वमै यति धेरै देशको आवास एकै ठाउँमा निर्माण भएको यो नै पहिलो विश्वविद्यालय हो। क्याम्पस हाताभित्र विद्यार्थीलाई चाहिने सम्पूर्ण सुविधा उपलब्ध छ। जस्तैः प्रशस्त पुस्तकालय, बगैँचा, खेल मैदान, चमेना गृह, सेमिनार हल आदि।

प्रत्येक आवासमा पुस्तकालय र बगैँचा अनिवार्य हुन्छ, केहीमा चमेना गृह पनि। ती चमेना गृहमा उही देशको खानेकुरा, पुस्तकालयमा उही देशका किताब राखिएको हुन्छ। करिब १०–२० जनाले प्रयोग गर्ने भान्सा साझा भएकाले विभिन्न देशका मानिस, परिकार र भाषा अवलोकन गर्न सजिलै सकिन्छ। प्रत्येक आवासमा हरेक महिनाजसो केही न केही कार्यक्रम हुन्छ। जस्तो कि सांस्कृतिक कार्यक्रम, खाना महोत्सव, नाचगान, सेमिनार आदि। धेरैजसो कार्यक्रम जो–कोहीले भाग लिई अवलोकन गर्न सक्छ। विश्वको विभिन्न देशका मानिस एकै ठाउँमा साथी बनाउन सकिन्छ। यी गतिविधिले स्पष्ट पार्छन्, यो विश्वविद्यालयले शान्ति र एकताका विश्वव्यापी मूल्यमा जोड दिन्छ।

यसको संरक्षणमा पनि विशेष परियोजना ल्याइएका छन्। विकास योजनाको परिकल्पना अनुसार यस क्षेत्रलाई ध्वनि प्रदूषणबाट जोगाउँदै २०२० सम्म १० वटा नयाँ आवास निर्माण गरी थप एक हजार आठ सय विद्यार्थीलाई आवास उपलब्ध गराउने लक्ष्य लिइएको छ।

यस विश्वविद्यालयमा एसिया मुलुकबाट इन्डिया, जापान र कोरियाको आवास पहिल्यै अवस्थित छ। शान्ति र एकताका निम्ति संसारको विद्यार्थी जोड्ने यस महान् अभियानमा नेपाली आवास बनाउन सरकारी तहबाटै पहल हुन आवश्यक देखिन्छ। यहाँ नेपाली आवास बनाउन सके नेपाली वास्तुकला, संस्कृति, परम्परा, खाना, चाडपर्व, आदिको प्रचार विश्वसामु हुन पुग्छ। यसले सदैव नेपालको आर्थिक, सामाजिक र अन्य पाटोलाई उकास्छ।

हाम्रै देश नेपालमा पनि सम्पूर्ण क्षेत्र या जिल्लाका विद्यार्थी तथा अनुसन्धानकर्तालाई एकै छानामा जोड्ने गरी विश्वविद्यालय निर्माण गर्नतिर हाम्रो ध्यान जान जरुरी छ। एकता, शान्ति र सद्भाव बढाउन गरेको काम सधैँ सफल हुन्छ।

प्रकाशित: २३ कार्तिक २०७६ ०५:०० शनिबार

विश्वविद्यालय बहस