काठमाडौं – ललितपुर, सानागाउँकी ३७ वर्षीया किरन महर्जन कपडाको प्याड बनाउन सिकिरहेकी छन्। दसैंअघि प्याड बनाउन थालेकी उनी अहिले आफैले बनाएका प्याड प्रयोग गर्छिन्। अहिले उनकी १९ वर्षीया छोरीले पनि कपडाकै प्याड प्रयोग गर्न थालेकी छन्।
‘छोरीले सुरुमा कपडाको प्याड प्रयोग गर्न हिच्किचाएकी थिइन्। तर, मैले यसबारे बुझाएपछि अहिले नियमित प्रयोग गर्छिन्,’ किरनले भनिन्। उनले कपडाको प्याड केमिकलरहित भएकाले स्वास्थ्यलाई असर नगर्ने र लगाउन सजिलो भएको बताइन्। कपडाको प्याड पुनः प्रयोग गर्न सकिने भएकाले पनि प्रभावकारी भएको उनको भनाइ छ। ‘एक पटक प्रयोग गरेको प्याड डिटोल पानीमा भिजाएर राम्रोसँग सफा गरी पुनः प्रयोग गर्छु,’ उनले भनिन्। पातलो कपडाबाट बनाइने भएकाले यसलाई डिटोल पानीले धोएर पुनःप्रयोग गर्न मिल्ने उनको भनाइ छ।
कपडाको प्याडको मूल्य पनि सस्तो भएको उनी बताउँछिन्। ‘त्यसैले यो मध्यमवर्गका लागि उपयोगी छ,’ उनले भनिन्।ललितपुर, जावलाखेलस्थित एक्पोज नेपालको कार्यालयमा किरनजस्तै अन्य महिला प्याड बनाउन सिकिरहेका छन्। सिकिसकेका महिलाले नयाँलाई सिकाउँदैछन्। प्याड बनाउन सिकिरहेका महिला बजारको प्याडभन्दा कपडाको प्याड प्रभावकारी भएको बताउँछन्। सुती र फ्लाटिन कपडाबाट बनाइने भएकाले यसलाई लामो समयसम्म प्रयोग गर्न मिल्ने उनीहरूको भनाइ छ।
ललितपुर, भैँसीपाटी बस्दै आएकी ४० वर्षीया श्रुति महर्जनको प्याड बनाउन सिक्नुअघिको दिनचर्या घरायसी कामधन्दा र बालबच्चा खेलाउनमै बित्थ्यो। ६ महिनाअघि प्याड बनाउने तालिम लिएपछि अहिले उनलाई कामले एकछिन फुर्सद छैन। ‘फुर्सको समयमा केही सिक्छु भनी प्याड बनाउने तालिम लिएँ,’ उनी सुनाइन्, ‘अहिले यो आम्दानीको स्रोत बनेको छ।’ दैनिक तीन घन्टा काम गरे महिनामा १० हजार रूपैयाँ आम्दानी गर्न सकिने उनले बताइन्। अहिले प्याड किन्ने पैसा पनि बचत भएको उनले बताइन्।
कपडाको प्याड बनाउन गाह्रो नभएको उनको भनाइ छ। उनी अहिले किशोरीलाई प्याड प्रयोग गर्ने तरिका पनि सिकाउँछिन्। बाराबाट प्याड बनाउने तालिम लिन आएकी मंगला थापाको अन्य दिदीबहिनीलाई प्याड बनाउन सिकाउने धोको छ।
महिलाले प्याड बनाउने तालिम लिए पनि यसको योजनकार भैँसीपाटीका ज्ञान महर्जन हुन्। २०६४ मा महिला हिंसा र यौनजन्य हिंसाको क्षेत्रमा काम गरेका महर्जन भन्छन्, ‘महिलालाई आर्थिक रूपमा समृद्ध बनाउन प्याड बनाउने तालिम संचालन गरिएको हो,’ उनले सुनाए, ‘महिला हिंसा न्यूनीकरणका लागि महिलालाई आर्थिक रूपमा समृद्ध बन्नु जरुरी छ।’
उनका अनुसार एक्सपोज नेपालबाट हालसम्म १७ सय महिलाले तालिम लिएर आत्मनिर्भर बनेका छन्। संस्थाले स्थानीय तह तथा संघसंस्थासँग मिलेर चार दिनको प्याड बनाउने तालिम दिने गरेको छ। महिनावारी स्वच्छताका विषयमा काम गर्न भारत, बंगलादेश र नेपालबीच सहकार्य गरी सञ्जाल बनाउने तयारी भएको महर्जनले बताए। प्याड बनाउने तालिम लिएका महिलाका अनुसार कपडाको प्याडमा बाहिरपट्टि सुती र फ्लाटिन कपडाको प्रयोग गरिन्छ। भित्रपट्टि वाटरपु्रफ कपडाको प्रयोग गरिन्छ।
प्रकाशित: २१ कार्तिक २०७६ ०२:११ बिहीबार