१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अझै अस्थायी सिकाइ केन्द्रमै पढाइ

नुवाकोट - रीतिका यादव म्यागङ गाउँपालिका–२ बुङताङस्थित सरस्वती मावि कक्षा ७ मा पढ्छिन्। बुवा सोही विद्यालयको शिक्षक भएकै कारण उनी त्यहाँ पढ्न आएकी हुन्।

भूकम्प जानुअघि पक्की भवनमा पढ्नुको मज्जा बेग्लै थियो। तर अहिले अस्थायी सिकाइ केन्द्रमा बसेर पढ्नुपर्दा उनलाई पट्यार लाग्ने गरेको छ। ‘पढ्ने ठाउँ गतिलो छैन। पल्लो कक्षा र वल्लो कक्षाको आवाज मिसिएर आउँछ। पानी पर्दा नि समस्या हुन्छ, घाम लाग्दा नि समस्या,’ यादवले भनिन्, ‘पढ्न धेरै मन लाग्छ तर पहिलेको जस्तो भवन नहुँदा पढ्ने वातावरण उचित लाग्दैन।’

नुवाकोटको म्यागङ गाउँपालिका–२ बुङताङस्थित सरस्वती माविको जीर्ण अस्थायी सिकाइ केन्द्रमा सञ्चालित कक्षा।

२०७२ वैशाख १२ गते आएको भूकम्पले विद्यालयको भवनमा क्षति पु¥याएपछि कक्षा २ देखि १० सम्मकै विद्यार्थी अस्थायी सिकाइ केन्द्रमा पढाइ हँुदै आइरहेको छ। भूकम्प जानुअघि १४ वटा कक्षाकोठा थिए। भूकम्पले ६ वटा कक्षाकोठा भत्कायो। पढाइ निरन्तरता सहज होस् भनेर जापानी सहयोग नियोग (जाइका) ले जग्गा भाडामा लिएर अस्थायी सिकाइ केन्द्र बनाइदियो। भूकम्प गएको चार वर्ष बितिसक्दा पनि त्यही केन्द्रबाट पठनपाठन भइरहेको विद्यालयको सहप्रधानाध्यापक मीनबहादुर घलेले बताए।

‘वल्लोपल्लो कोठाबाट आउने आवाज त छँदै छ। पानी पर्दाको समयमा जस्ता बजेर समस्या आउँछ। ती जस्ता पुराना भएकाले पानी चुहिन्छ। विद्यार्थीलाई पुस्तक जोगाउनै समस्या पर्छ,’ उनले भने, ‘भौतिक अवस्था कमजोर हुँदा विद्यार्थीको गुनासो आइराख्छ। भवन निर्माणाधीन अवस्थामा छ। बिस्तारै समस्या समाधान होला भन्ने आशमा छौं।’

जाइकाले पहिलो वर्ष २८ हजार रुपैयाँमा जग्गा भाडामा लिएर अस्थायी सिकाइ केन्द्र बनाइदिएको थियो। त्यसपछिका वर्षदेखि विद्यालय प्रशासनले नै वार्षिक ३० हजार रुपैयाँ जग्गाधनीलाई तिर्दै आइरहेको छ। जाइकाले नै साढे तीन करोड रुपैयाँको लगानीमा २०७४ सालको अन्त्यतिर विद्यालयको सुविधासम्पन्न भवन बनाउन थालिएको हो। विद्यालय भवन तीन महिनाअघि नै सम्पन्न भइसक्नुपर्ने भए पनि ठेकेदारका कारण तोकिएकै समयमा काम सम्पन्न हुन नसकेको प्रधानाध्यपक मोतीखर अधिकारीले बताए।

‘भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएपछि दाताकै सहयोगमा निर्माण गरिएको अस्थायी सिकाइ केन्द्रबाट कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। ती कक्षा पनि पुराना भए। नयाँ भवनको निर्माण सम्पन्न नभएकै कारण विविध समस्या सहेर कक्षा सञ्चालन गरिरहेका छौं,’ अधिकारीले भने, ‘ठेकदारको कमजोरीका कारण भवन निर्माण कार्य रोकिएको छ। निरन्तर काम भए पनि सकिन करिब ६ महिना लाग्छ। विद्यालय प्रशासनले ठेकेदारलाई दबाब दिइ नै रहेको छ।’ विद्यालयको भौतिक अवस्था कमजोर भएकै कारण विद्यार्थीको शैक्षिक स्तर खस्कने चिन्तामा विद्यालय प्रशासन रहेको जनाइएको छ।

प्रकाशित: २९ आश्विन २०७६ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App