१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना

हेमराज भट्टराई

काठमाडौं - आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको बडादसैं सोमबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजाआराधना गरी सकिँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाको साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ।

यस दिन महालक्ष्मी ‘रातभर को जागेको छ’ भनेर मत्र्यलोक भ्रमण गर्ने र जाग्राम बसेका मानिसको घरमा प्रवेश गरी धनधान्य तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिएको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन्।

दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा यसैदिन विसर्जन गरिन्छ। कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजाअर्चना गरी बडादसैं समापन भएको सूचना दिने प्रचलन रहेको छ। नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा मात्र सकिन्छ। यस दिन घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गर्ने र माता दुर्गाका मुख्य तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गर्ने मान्यता रहेको भट्टराई बताउँछन्।

तिहारअन्तर्गत महाक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजाआराधना गरिने भएकाले पनि यस पर्वको विशेष महŒव रहेको पण्डित बलराम सिग्देल बताउँछन्। उनका अनुसार महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गरिन्छ। साथै यसै दिनबाट कात्तिक स्नान र आकाश दीपदान सुरु हुन्छ।

धनसम्पत्ति र सौभाग्य प्राप्तिका लागि कात्तिक महिनाभर बाँस, पलाँस, खयर वा पीपलको लिंगो ठड्याई भगवान् विष्णुलाई दीप समर्पण गर्नुपर्ने मान्यता रहेको छ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसीपूजा पनि यसै दिनदेखि नै सुरु हुन्छ। कात्तिक महिनाभर स्नान गरी तुलसीपूजा गर्नाले जानीनजानी गरिएका सम्पूर्ण पापबाट मुक्त भइने धार्मिक विश्वास छ।

कात्तिक स्नान गर्नेले सो अवधिमा दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ। बौद्धमार्गीले पनि कोजाग्रत पूर्णिमाकै दिन स्वयम्भू चैत्यमा महादीप दान गर्ने गर्दछन्। त्यस्तै यस दिन पोखराको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल तालबाराही मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ। कोजाग्रत पूर्णिमाको अवसरमा तालबाराही मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दुःखकष्ट हट्ने विश्वासका साथ दर्शनार्थीको घुइँचो लाग्ने गरेको हो।

प्रकाशित: २६ आश्विन २०७६ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App