१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

३३ केभी प्रसारण लाइनका कारण ६ लेन सडक निर्माणको काम प्रभावित

निर्माणाधिन सडकको मध्यभागमा रहेको पोल। तस्विरः योगेश रावल

टीकापुर - नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइनका कारण टीकापुरमा निर्माणाधिन ६ लेन सडकको काम प्रभावित बनेको छ। विद्युतले प्रसारण लाइन अन्र्तगतका पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो।

टीकापुरको जमरा पुलदेखि बसपार्कसम्मको निर्माणाधिन छ लेन सडक क्षेत्र भित्र ३३ केभी अन्र्तगतका १४ वटा पोल परेका छन्। जुन ७ वटा टावर र ७ वटा टिबलर पोल रहेको नेपाल विद्युत प्राधिकरण टीकापुरका छोटेलाल यादवले जानकारी दिए।

यी पोल झण्डै ३५ वर्षअघि निर्माण गरिएका हुन। तत्कालिन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो। हाल बस्ती बढेसँगै ३३ केभी प्रशारण लाइन बजारको मध्य भागमा पर्न गएको छ।

संघीय सरकारको २० करोड लागतमा टीकापुर नगरपालिका–१ जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलव ३ किलोमिटरमा छ लेन सडक निर्माण भैरहेको छ। यसको निर्माण रमण केएस जेभीले सुरु गरेको छ। अहिले सडकमा माटो भर्ने र सम्याउने काम भैरहेको छ।

निर्माण पक्षले प्रसारण लाइनका कारण सडक निर्माणमा ढिलाई भैरहेको बताएको छ। निर्माण पक्षका इन्जिनियर गगन शाहीले काममा निकै समस्या भैरहेको बताए। उनले बारम्बार पत्राचार गर्दा पनि विद्युत कार्यालयले प्रसारण लाइन हटाउने बारेमा वास्ता नगरेको गुनासो गरे। ‘हामीले २ पटक पत्र बुझायौं। कैयौं पटक भेट्यौं। तैपनि कार्यालयले वास्ता गरेको छैन’ उनले भने–‘काम गर्न निकै समस्या भैरहेको छ।’

उनले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत समस्याका बारेमा जानकारी दिएको बताए। उनले २ वर्षभित्र सक्नुपर्ने काममा ढिलाई हुनसक्ने बताए। उता संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीले समेत विद्युत कार्यालयलाई प्रशारण लाइन हटाउन भनिरहेको छ। कार्यालयका साइड इञ्चार्ज इञ्जिनियर त्रिलोक जोशीले विद्युत प्राधिकरणको स्थानीय कार्यालयले वेवास्ता गरेपछि प्रदेश स्तरीय कार्यालयलाई पत्राचार गरेको बताए।

उनले प्रदेश कार्यालयलाई प्रशारण लाइन सार्दा कति बजेट लाग्ने बारेको खर्च विवरण सहितको जवाफ पठाउन पत्राचार गरेको बताए। ‘हामीले खर्च सहितको विवरण माग गरेका छौं’ उनले भने–‘जवाफमा ढिलाइमा भैरहेको छ।’ उनले समेत समयमा प्रशारण लाइन नसारेका कारण सडक निर्माणको काममा समस्या भैरहेको बताए। उनले सडक निर्माणका क्रममा जोखिम समेत रहेको बताए।

तर विद्युत कार्यालय टीकापुरका प्रमुख हिमांशु यावद भने यस बारेमा लिखित रुपमा कुनै जानकारी नआएको बताउँछन्। उनले केही व्यक्तिले फोनमै सोधेको र आफूले समेत फोनबाटै जवाफ दिएको बताए। ‘केही व्यक्तिले फोनमा सोधेका थिए। मैले पनि फोनमै जवाफ दिएको हुँ’ उनले भने–‘कसरी सार्ने ? कहाँ सार्ने ? भन्ने बारेमा कोही आधिकारिक रुपमा आएको छैन।’ उनले योजना सहित सरोकारवाला आए आफू विकल्प खोज्न तयार रहेको बताए।

तत्कालिन अवस्थामा टीकापुर नगरपालिका–१, ब्लक नं. ११ स्थित कार्यालयसँगै रहेको सवस्टेशनसम्म पु-याउन ३३ केभी लाइन बिच बजारबाटै ल्याइएको देखिन्छ। तर केही वर्षअघि सवस्टेशन मुनुवा रोडस्थित खाद्य गोदाम नजिकै सारिएको छ। जहाँ ३३ केभी प्रशारण लाइन पु-याउन बजार क्षेत्रको विकल्प खोज्न सकिने देखिन्छ।

प्रकाशित: १९ आश्विन २०७६ ०६:२५ आइतबार

प्रसारण छ_लेन_सडक