१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोबर ग्यास प्रयोगमा जोड

सुरुङ्ग- विर्तामोड नगरपालिकाले खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ।   

गोबर ग्यासको प्रयोग गर्दा एलपी ग्यासभन्दा सस्तो र स्वास्थ्यका दृष्टिकोणले समेत बढी लाभदायक हुने भन्दै नगरवासीलाई यस्तो आग्रह गरिएको हो। समय–समयमा एलपी ग्यासको अभाव भइरहेका बेला नगरपालिकाले विर्तामोड नगरवासीलाई प्रोत्साहन गर्दै पशुपालक कृषकको घर–घरमा अहिले निःशुल्क गोबर ग्यासका प्लान्ट जडान गरिरहेको छ।   

नगरपालिकाले गत आर्थिक वर्षमा १ सय घरमा खाना पकाउने एलपी ग्यासको सट्टा गोबर ग्यासका प्लान्ट जडान गरेको थियो। गोबर ग्यास राख्न अधिकांश कृषकले चासो देखाएपछि चालू आर्थिक वर्षमा पनि नगरपालिकाले थप २ सय घरमा निःशुल्क गोबर ग्यासका प्लान्ट निर्माणको काम शुरु गरेको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए।    

विर्तामोड नगरपालिका–४ स्थित कृष्णप्रसाद उप्रेतीको घरमा इजराइली मोडलको होमवायो ग्यासको प्लान्ट जडान कार्यको उद्घाटन गर्दै नगरप्रमुख शिवाकोटीले पशुपालन गर्ने कृषकका लागि नगरपालिकाले गोबर ग्यास जडान गर्न विशेष पहल गरेको र पशुपालन व्यवसायलाई समेत प्रोत्साहन गरेको बताए।

पशुपालन व्यवसायको प्रवद्र्धनका लागि नगरपालिकाले अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पनि उनले बताए। उनले भने, 'अब किन चाहियो सिलिण्डर ग्यास, नगरपालिकाले नै पशुपालन गर्न अनुदान दिन्छ, त्यही पशुले गोबर दिन्छ, त्यही पशुको गोबरबाट ग्यास प्रयोग गर्न सकिन्छ, गोबर ग्यासका प्लान्ट पनि नगरपालिकाले घर–घरमा खोजीखोजी जडान गरिरहेको छ।'   

नेपाल वायोग्यास प्रवद्र्धन सङ्घ प्रदेश नं १ ले विर्तामोड नगरपालिकामा पहिलो पटक इजरायली मोडलको वायोग्यास जडान शुरु गरेको छ नगरप्रमुख शिवाकोटीले भने, 'यसका लागि नगरको सहयोग छ, यो नयाँ प्रविधिको गोबर ग्यास जडान एकै दिनमा गर्न सकिने रहेछ, अब किन चाहियो सिलिण्डर ग्यास। पशुपालन गर्नुहोस् घर–घरमा नगरपालिकाले यस्तै प्रविधिको गोबर ग्यास निःशुल्क जडान गरिदिन्छ' उनको भनाइ छ।    

सात घनमिटरको गोबर ग्यास प्लान्ट नेपालका लागि पहिलो हुने र १५ वर्षसम्म यसको वारेन्टी रहने भन्दै नेपाल वायोग्यास प्रवद्र्धन सङ्घ प्रदेश नं १ का सचिव तथा लोककल्याण गोबर ग्यास कम्पनी प्रालिका कार्यकारी अध्यक्ष सन्तोष उप्रेतीले दुई घण्टामै यो प्लान्ट जडान गर्न सकिने र यो प्रविधिले कृषकलाई अन्य ग्यासको तुलनामा विशेष फाइदा पुग्ने बताए।   

उनले यो प्लान्ट जडान गर्दा खाल्डो खनिरहनुनपर्ने र व्यागजस्तै जमीनमाथि नै राख्न सकिने बताए। २० हजार रुपैयाँमै यो प्लान्ट जडान गर्न सकिने र एकपटक गोबर भरेपछि चार घण्टासम्म नियमित ग्यास चलाउन सकिने उप्रेतीको भनाइ छ। रासस

प्रकाशित: १६ आश्विन २०७६ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App