१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

परिवारकै स्वास्थ्य जोखिममा

रौतहट - गढीमाई नगरपालिका–२ समनपुर, मुस्लिम टोलका सफी महम्मद मन्सुरीको परिवार स्वास्थ्यका कारण उच्च जोखिममा रहेको छ। घरमा एकजनालाई प्यारालाइसिस र दुई जनालाई मुटुरोगको गम्भीर समस्या देखिएकाले परिवारको स्वास्थ्य जोखिममा रहेको हो। मन्सुरीका ६० वर्षीय पिता नजिर मन्सुरी प्यारालाइसिसले थलिएका छन्। उनी हिँडडुल नै गर्न सक्दैनन्।

मन्सुरीकी ५ वर्षीया छोरी कस्मिरा खातुन र साढे दुई वर्षका छोरा साहेब मन्सुरीलाई मुटुरोगले चापेको छ। मुटुमा पानी जम्ने रोगले ग्रसित दुवैजनाको काठमाडौंस्थित सहिद गंगालाल हृदय रोग अस्पतालमा निकै समयदेखि उपचार भइरहेको छ। अलिअलि भएको कमाइ पनि उपचारमा खर्च भइसकेको उनले बताएका छन्।

आफ्नो घरघडेरी केही पनि नभएको र अर्काको जग्गामा छाप्रो बनाएर बस्दै आएका मन्सुरीका छोराछोरीलाई गंगालाल हृदय रोग अस्पतालले भारतको दिल्लीस्थित एम्स अस्पतालमा रेफर गरिदिएको छ। गाउँमा चन्दा उठाएर, मागेर र ऋण काढेर मन्सुरीले ३० हजार रुपैयाँ जम्मा पारी उपचारका लागि दिल्ली गएका छन्। जानुअघि मन्सुरीले भने, ‘दिल्लीमा के हुन्छ, ठेगान छैन।’ रकमको अभावमा छोराछोरीको उपचार हुन नसक्ने हो कि भन्ने शंका मन्सुरीलाई रहेको छ।

६ महिनापहिले मन्सुरीकी ६ वर्षीया छोरी मुटुरोगकै कारण मरिन्। छोरीको मृत्युको शोकमा रहेको मन्सुरी परिवारलाई एकैसाथ छोरा र अर्की छोरीमा त्यही समस्या देखिएपछि गम्भीर चिन्ता लागेको छ। गाउँटोलमा चन्दा उठाउँदै मन्सुरी परिवारको सम्पूर्ण समय र श्रम उपचारमै जाने गरेको छ।

मन्सुरी र सहिदा आफू पनि समयसमयमा बिरामी परिरहन्छन्। परिवारको स्वास्थ्य उच्च जोखिममा रहेकाले उनी सहयोगका लागि जोकसैलाई गुहार लगाउँछन्। यता नगरपालिकाले पनि खासै सहयोग गर्न नसकेको मन्सुरीको भनाइ छ। स्थानीय समाजसेवी दीपेन्द्र श्रेष्ठले भने थोरबहुत सहयोग गर्दै आएको मन्सुरीको भनाइ छ।

प्रकाशित: १६ आश्विन २०७६ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App