१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घुर्मी–कटारी जोड्ने सडक जीर्ण

खोटाङ - माथिल्लो सगरमाथाका तीन जिल्लाको सदरमुकाम जोड्ने घुर्मी–कटारी सडक जीर्ण बनेको छ। ओटासिल पिच उक्किएपछि सिद्धिचरण राजमार्गअन्तर्गतको घुर्मी–कटारी (४६ किलोमिटर) सडकखण्ड जीर्ण बनेको हो।

खोटाङको दिक्तेल, ओखलढुंगाको ओखलढुंगा र सोलुखुम्बुको फाप्लुलाई पूर्वी सहरसँग जोड्ने सो सडक जीर्ण हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। २०५८ सालदेखि सञ्चालनमा आएको घुमी–कटारी सडक जीर्ण हुँदा तीन जिल्लामा पूर्वी तराईबाट उपभोग्य सामान भिœयाउन कठिनाइ भइरहेको उद्योग वाणिज्य संघ खोटाङका महासचिव मनोज बजिमयले बताए।

सञ्चालनमा आएको केही समयपछि गरिएको ओटासिल पिच उक्किएपछि हाल सो सडक कच्चीसरह बन्न पुगेको छ। ठाउँठाउँमा सडक भत्किँदा र खाल्डाखुल्डी हुँदा सवारीसाधन दायाँ–बायाँ कोल्टिँदै गुड्ने गरेका छन्। हिउँदमा बुङबुङ धुलो उड्ने सो सडक वर्षामा हिलाम्मे हुँदा सवारीसाधन भासिने र कतिपय उकालो बाटोमा उक्लिन नसक्ने समस्या छ। सबैभन्दा बढी समस्या गहुँबारीदेखि घुर्मीसम्मको खण्डमा देखिएको छ। घुर्मी–कटारी सडक कालोपत्रे गरिएको पाँच वर्ष नबित्दै पिच उक्किएर जीर्ण बनेको हो। हाल कतिपय ठाउँमा पिच गरिएको नामनिसानै देखिन्न। सडक पुनः मर्मत नहुँदा घुर्मी–कटारी सडकखण्डमा पटक–पटक दुर्घटना निम्तिने गरेको स्थानीयको गुनासो छ।

साँघुरो र जीर्ण सडकमा जोखिम मोलेर यातायात सञ्चालन गर्नुपरेको यातायात व्यवसायीको भनाइ छ। कच्ची बनेको सडकमा जम्काभेट भएका सवारीसाधनले ब्याक गर्दै फराकिलो ठाउँ खोजेर वारपार गर्ने गरेका छन्। बढीमा १० टन भार क्षमताका सवारीसाधन सञ्चालन हुनुपर्ने सडकमा सोभन्दा बढी भार क्षमताको साधन गुडाउँदा चाँडो पिच उक्किएको अनुमान गरिएको छ। दैनिक दर्जनौं एलपी ट्रकले घुर्मी–कटारी सडक हुँदै खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा उपभोग्य सामग्री ढुवानी गर्ने गरेका छन्। सडकको दुरवस्थाका कारण पनि उपभोग्य वस्तुको मूल्यमा कमी आउन नसकेको वाणिज्य संघका महासचिव बजिमयले बताए। ‘घुर्मी–कटारी सडक ठाउँठाउँमा भत्केको छ। खाल्डाखुल्डी परेको छ,’ बजिमयले भने, ‘यात्रा जोखिमपूर्ण छ। ढुवानीमा पनि समस्या छ। जसले उपभोग्य वस्तुको मूल्यमा असर पु¥याइरहेको छ।’

साविकको सदरमुकाम दिक्तेललाई पूर्वी सहरसँग जोड्ने दिक्तेल–गाईघाट सडक पनि ठप्प छ। खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको पक्की पुलको काममा ढिलासुस्ती हुँदा दिक्तेल–गाईघाट सडक वर्षाभर बन्द हुने गरेको छ। हिउँदमा भने बेलिब्रिज राखेर दिक्तेल–गाईघाट सडक सञ्चालनमा ल्याउने गरिएको छ।

हलेसीका यात्रुसमेत मारमा
सो सडक जिर्ण हुँदा खोटाङको त्रि–धार्मिकस्थल हलेसी आउनेजाने यात्रुसमेत मारमा परेका छन्। भुटान, भारतको बिहार, दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट हलेसी आउने दर्शनार्थी तथा पर्यटक घुर्मी–कटारी सडकमा सास्ती बेहोर्न बाध्य छन्। उनीहरू रिजर्भ गाडी लिएर पूर्वी तराई हुँदै हलेसी आउने गरेका छन्। तर उदयपुरको कटारीबाट घुर्मीतर्फ लागेपछि तीर्थयात्री त्रासपूर्ण यात्रा गर्न बाध्य छन्।

धेरैजसो सडक मार्ग प्रयोग गर्ने पर्यटक तथा दर्शनार्थी घुर्मी–कटारी सडककै कारण हलेसी आउन हिच्किचाउने गरेको हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख विमला राईले बताइन्। ‘धेरैजसो दर्शनार्थी÷पर्यटकले सडकको अवस्थाबारे फोन गरेरै बुझ्ने गरेका छन्,’ उपप्रमुख राईले भनिन्, ‘घुर्मी–कटारी सडक जीर्ण छ भन्ने जानकारी पाएपछि हलेसी आउन तयार परेका कतिपय पर्यटक÷दर्शनार्थीले हलेसी आउने योजना नै रद्द गर्नेगरेको सुनिन्छ।’ सरकारले पर्यटन वर्ष २०२० मनाउन लागिरहेको बेला हलेसी पुग्ने घुर्मी–कटारी सडकलाई तत्काल मर्मत गर्नुपर्ने स्थानीयको सुझाव छ।

प्रकाशित: २५ भाद्र २०७६ ०३:०१ बुधबार

सडक_जीर्ण