१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जग्गामा महिलाको स्वामित्व बढ्दै

सल्यान- सल्यानमा घर जग्गामा महिलाको स्वामित्व क्रमशः बढ्दै गएको छ।     

सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरुको स्वामित्व बढ्दै गएको हो।     

महिला, दलितलाई घरजग्गा रजिष्ट्रेशन पास गर्दा २५ देखि ३० प्रतिशतसम्म छुट दिने व्यवस्था छ। महिलाका नाममा घरजग्गाको स्वामित्व बढाउने उद्देश्यले सरकारले महिलाको नाममा स्वामित्व दर्ता गर्दा लाग्ने राजश्वमा ३० प्रतिशतसम्म छुट दिँदै आइरहेको छ।     

जिल्लामा महिलाका नाममा रजिष्ट्रेशन पास गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको मालपोत कार्यालय सल्यानले जनाएको छ। राजश्व छुट पाउने भएपछि वर्षेनी २० देखि ३० प्रतिशतसम्मले महिलाको नाममा घरजग्गाको स्वामित्व दर्तामा वृद्धि भएको कार्यालयका खरिदार दीपक बुढाथोकीले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा एक हजार चार सय महिलाका नाममा घरजग्गा दर्ता भएको छ।     

ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रका महिलाको नाममा घरजग्गा दर्ता हुने क्रम बढी देखिएको छ। गत आर्थिक वर्षमा शहरी क्षेत्रका आठ सय र ग्रामीण क्षेत्रका छ सय गरी कूल एक हजार चार सय महिलाको नाममा घरजग्गा दर्ता हुँदा २७ लाख २७ हजार ८ सय ६८ रुपैयाँ छुट दिइएको बुढाथोकीले जानकारी दिए।     

घरजग्गाको स्वामित्व लिने दलित महिलामा पनि शहरी क्षेत्रमा बढी छन्। शहरी क्षेत्रमा ३ सय ३२ र ग्रामीण क्षेत्रमा १ सय ६९ दलित महिलाले घरजग्गाको स्वामित्व लिएका छन्। सल्यानमा महिला, दलित, अपाङ्ग गरी एक हजार ९ सय २ ले घरजग्गा रजिष्ट्रेशन पास गराएका छन्।

जसबाट ३२ लाख ३० हजार ४ सय २९ रुपैयाँ छुट पाएकोे मालपोत कार्यालय सल्यानले जनाएको छ।रासस

प्रकाशित: २० भाद्र २०७६ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App