१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इन्द्रजात्राका लागि सरकार दियो १४ लाख, महानगरपालिकाले पनि सहयोग गर्ने

कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य।

काठमाडौं - काठमाडौं महानगरपालिकाको पहलमा केन्द्रीय सरकारले इन्द्रजात्रा व्यवस्थापनका लागि १४ लाख आर्थिक सहयोग गरेको छ।  आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा इन्द्रजात्रा व्यवस्थापन समितिलाई उक्त रकम प्रदान गरियो।

कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठलगायतले सरकारबाट प्राप्त १३ लाख ९३ हजार सात सय ५७ रुपैयाँ इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यलाई प्रदान गरे।  इन्द्रजात्राका लागि काठमाडौं महानगरपालिकाले पनि १० लाख सहयोग गर्ने भएको छ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस वर्षको इन्द्रजात्रालाई व्यवस्थित गराउनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरिएको घोेषणा गरे। 

महानगरपालिकाले इतिहास र संस्कृतिलाई बचाउन अग्रणी भूमिका निर्वाह गर्दै आएको समेत उनले बताए।  ‘महानगरपालिकाले प्रत्येक वर्ष इन्द्रजात्रालाई व्यवस्थित बनाउनका लागि सहयोेग गर्दै आएको छ,’ उनले भने, ‘संस्कृति संरक्षणसँगै काष्ठमण्डप, रानीपाखरी, धरहरा निर्माणका कामलाई अगाडी बढाउँदै आएका छौं।  विवाद नपरेका सम्पदा निर्माणमा निरन्तर हामी खट्दै आएका छौं। ’ उनले इन्द्रजात्रा व्यवस्थापन समितिसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय रुपमा इन्द्रजात्रा मनाउँदै आएको बताए।  ‘इन्द्रजात्रा सबै नेपालीको जात्रा हो।  अन्तर्राष्ट्रिय रुपले मनाउनलाई विदेशी पाहुँना निम्त्याउछौं।  नेपालको संस्कृतिसँगै मूर्त अमूर्त सम्पदा दखाउँछौं।  यसपाली पनि व्यवस्थित तरिकाले इन्द्रजात्रा मनाइने छ,’ उनले थपे।

इन्द्रजात्रालाई अझै व्यवस्थित ढंगले अगाडी बढाउनका लागि महानगरपालिकाले छिट्टै इन्द्रजात्राको नाममा अक्षय कोषको घोषण गर्ने उनले जानकारी दिए।  उनका अनुसार केन्द्रीय सरकारले २०७५ सालमै उक्त रकम दिने घोषण गरिसकेको थियो।  सांसद कृष्णगोपाल श्रेष्ठले नेपालको परम्परागत इतिहास, संस्कृति र सम्पदा संरक्षणका लागि सरकारले सहयोग गर्दै जाने बताए।  उनले भने, ‘संस्कृति संरक्षणमा मेरो पूर्ण प्रतिबद्धता छ।  नेपालका सभ्यता इतिहासलाई बचाई राख्न केन्द्रीय सरकारसँग सहकार्य गर्दै जानेछौं। ’

महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले विगतदेखि नै महानगरपालिकाले इन्द्रजात्रालाई व्यवस्थित गर्न आर्थिक सहयोग गर्दै आएको बताइन्।  उक्त कार्यक्रममा महानगरपालिकाले वार्षिक रुपमा प्रदान गर्दै आएको श्रीकुमारी, गणेश र भैरवलाई श्रीपद् भत्ता वितरण गरेको थियो।

महानगरपालिकाले ९ जना कुमारीलाई मासिक १५ हजारको दरले प्रत्येक कुमारीलाई वार्षिक एक लाख ८० हजार रुपयाँको दरले भत्ता दिएको थियो।  त्यस्तैगरी १३ जना भैरव र गणेश भत्ता मासिक १२ हजारको दरले प्रत्येकलाई वार्षिक एक लाख ४४ हजार भत्ता प्रदान गरेको थियो।  इन्द्र्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्यले मासिक तीन सयदेखि कुमारी भत्तालाई पहल गरी बढाएर अहिले १५ हजार पु-याएको बताए।

‘व्यवस्थापन समितिले हरेक वर्ष इन्द्रजात्रा व्यवस्थित ढंगले सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘केन्द्रीय सरकारले पनि यसका लागि आर्थिक सहयोग गरेको छ।  यसका लागि महानगरपालिकाले पनि १० लाख दिने घोषणा गरेको छ।  हाम्रा संस्कृति संरक्षणमा हामी सधैं तत्पर रहने छौं।  यसको अक्षय कोष पनि पाँच करोड पुग्ने देखिएको छ। ’ इन्द्रजात्रा आगामी २४ गतेबाट एक साता सम्म सुरु हुँदैछ।

प्रकाशित: १६ भाद्र २०७६ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App