१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हराउँदै तीजको मौलिकता

बाँके– नेपाली नारीको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै गएको छ। नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको स्वयं महिलाले नै गुनासो गरेका छन्।     

नेपालगञ्ज उपमहानगरपालिका–५ की मनकुमारी शाहीले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्छिन्, “म सानो छँदा गाउँघरमा दिदीबहिनी भेला भएर मादलको तालमा छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झना छ।”     

विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाइ छ। मनकुमारी सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झदै भन्छिन्, “खै आजभोलि त हामीले मनाउने तीज, तीजजस्तै लाग्दैन, तीजमा उच्छृङ्खल, तडकभडक र देखासिकी धेरै छ।”    

दिन प्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन नहुँदा मनकुमारी मात्र होइन नयाँ पिँढीका महिला पनि चिन्तित छन्। बर्दिया घर भई हाल नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छायाँ खड्का पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हावी भएको दाबी गर्छिन्।     

सानोमा दर खान पाइन्छ भनेर नै तीजको व्रत बस्ने गरेको बताउँदै छायाँले भनिन्, “तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने थलो भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ।” नेपालगञ्ज–१ की अनिता बोहोरा पनि तीज मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्शृङ्खल गीतको नियन्त्रण गर्नुपर्ने बताउछिन्।    

“चाडपर्व, संस्कृति र पहिचानलाई जोगाइ राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ”, उनले भनिन्। बाँके कोहलपुरका विकास शाहीको सोच भने अलि फरक छ। उनका् अनुसार तीज जस्तो पर्वमा महिलालाई मात्र होइन पुरुषलाई पनि सार्वजनिक बिदा दिनसके सबै परिवार बसेर मनाउनुको रौनक बेग्लै हुन्छ।    

महिला दिदीबहिनीले आफ्नै भेषभूषामा सजिएर तीज पर्व मनाउनसके संस्कृतिको संरक्षण हुने विकासको धारणा छ। परम्परादेखि तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ। बाँके वनकटवाकी सुनिता थापा पनि तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताछिन्।     

उनी भन्छिन्, “विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ। तीज आउनु एक महीना अघिदेखि गाउँघरतिर एकै ठाउँमा जम्मा भई मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउने गर्दथे। पछिल्लो समययता तीज पर्वको मौलिकपन हराउँदै गइरहेको छ।”     

सुनिताले तीज पर्वलाई रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराको गीत नृत्यभन्दा धेरै महिला टिभी सिरियलप्रति आकर्षित भएको बताए। बाँके चिसापानीकी सरिता विक पनि नेपाली नारीका लागि तीज पर्वको महत्व रहेको बताउछिन्। तीज मनाउन अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउनका लागि अघि बढ्नुपर्ने उनको तर्क छ।     

“महिलाले तीज मनाउन पश्चिमा संस्कृति छोड्नुपर्ने भन्छिन्, बाँके बागेश्वरीकी नविना सापकोटा”, उनको अनुसार आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन्। यसले नेपाली संस्कृतिको पहिचान नै हराउने त होइन भन्ने डर पनि उत्तिकै छ।     

तीजमा विवाहिता महिला आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई व्रत बस्ने गर्दछन् भने अविवाहिता महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउछिन्, बाँके चिसापानीकी पवित्रा परियार। विगतमा महिलाहरुले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे।    

उनी भन्छिन्, “आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ। तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्छन्। तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिकी गर्नु हुँदैन।” पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व नमेटियोस् भनेर सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने बताइन्।रासस

प्रकाशित: ८ भाद्र २०७६ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App