१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सडकभरी खाल्डैखाल्डा, आयोजना प्रमुख भन्छन्, 'यत्तिको नर्मल हो'

तिला आसपासको शहिद मार्ग सडकमा रहेका खाल्डा । तस्बिरः दिनेश/नागरिक

रोल्पा - पश्चिम रोल्पालाई बाहिरी जिल्लासँग जोड्ने दाङ्ग, होलेरी, थवाङ हुँदै रुकुम जोड्ने सहिद मार्गमा परेका खाल्डाले सवारी चालक तथा यात्रुले हैरानी खेप्नु परेको छ। ठाउँ ठाउँमा रहेका ठुला ठुला खाल्डाका कारण सवारी चालक र यात्रुहरुले हैरानी खेप्नु परेको हो। ज्यानकै जोखिम मोलेर यात्रा गर्नुको पीडा भोग्न बाध्य रौल्पालीको यो अवस्थाका बारेमा जानकार भए पनि समस्या समाधानका लागि कसैले पहल गरेका छैनन्।

गैरीगाउँ तिला, नुवागाउँ, कोर्चावाङ, घर्तीगाउँ र ओवाङ आसपासमा परेका दर्जनौ ठूला-ठूला खाडलका कारण सबैभन्दा बढी मारमा साना सवारी साधन परेका छन्। त्यसो त सहिद मार्ग सडक आयोजनाले पहिरो पन्छाउन चासो नदिएका कारण कुरेली खरिबोटभन्दा अगाडि लामो समय यता सवारी साधन चल्नै सकेका छैनन्। ‘खरिबोट भन्दा अगाडि गाडि आउँदैन। धेरै ठाउँमा पहिरो छ। सडकमै भैसी बस्नेजस्ता आहाल छन्। मान्छेको बेहाल छ। डोजर पनि कतै लागेको छैन। हाम्रो त बिजोग छ। कोही कसैले चासो नै दिएका छैनन् ।’ थवाङका गोबिन्द विकले भने ।

असार १५ देखि थवाङ गाडि जान नसकेको यो सडक मर्मत नहुदा रुकुमका जनता समेत मारमा परेका छन्। ‘दुई खोलीभन्दा अगाडि दर्जनौ स्थानमा पहिरो गएको छ। भने दुई खोली सम्म दर्जनौ स्थानमा माछा पोखरी जस्ता खाडल छन्। तर पनि कार्यालयले चासो दिएको छैन ।’

कुरेलीका रमेश रोकाले भने ‘दुर्गमका जनतालाई असहज भए पनि कसलाई के मतलब। बिरामीको बिजोग छ। सयौ गाडीहरु अलपत्र पर्छन्। न माथिको सरकारले हेर्छ न त स्थानिय सरकारले हेर्छ ।’ ठाउँ ठाउँमा पहिरो गएको र दर्जनौ स्थानमा ठूल्ठूला खाडल परेको थाहा पाएको कार्यालयले समस्यालाई हल्का रुपमा लिएको छ। ‘यसपाली सडक खासै बन्द नै भएन। दुईचार दिन बन्द भएको हो। अब काम सुरु गराउछु ।’ सहिद मार्ग सडक आयोजनाका प्रमुख साधु सरण पुर्बेले भने ‘सडकमा रहेका खाडल पनि पुर्न लगाउँछु। बर्षातमा यत्ति हुनु त नर्मल हो ।’

सानो खर्च र सानो मेहनतले सुधार हुन सक्ने सडक मर्मत नगरिदिदा हजारौ जनताले अनाहकमा दुख पाइरहेका छन। गत आर्थिक वर्षमा २२ करोड रकम फ्रिज गरेको कार्यालयले सम्पन्न गरेको दाङ घोराही होलेरी सडक खण्डको कालो पत्र पनि एक वर्ष नपुग्दै उम्किएको छ।

प्रकाशित: ८ भाद्र २०७६ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App