१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

स्थानीय पाठ्यक्रम निर्माण गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ। महानगरपालिका शिक्षा समितिको बुधबार मेयर एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले पाठ्यक्रम लेखनका लागि दुई वटा समिति समेत निर्माण गरेको हो। 

कक्षा एकदेखि आठसम्मको नेपाल भाषाको पाठ्यक्रम निर्माणका लागि काठमाडौं महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा एउटा समिति बनेको छ। त्यसमा प्राडा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहेका छन्। नेपाल भाषा ऐच्छिक विषयका रुपमा रहने छ।  

त्यसैगरी अंग्रेजी र नेपाली भाषाका लागि अर्को छुट्टै समिति बनेको छ। त्यसको पनि अध्यक्ष केसी नै रहेकी छिन भने सदस्यहरुमा चुन्दा बज्राचार्य, प्रोफेसर मदनराज मानन्धर, माधव घिमिरे, नतीकाजी महर्जन र ज्ञानबहादुर अधिकारी रहेका छन्। सदस्य सविचमा महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेल रहेका छन्। 

ती समितिलाई काठमाडौं महानगरपालिका भित्र चल्ने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि कक्षा आठसम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको महानगरपालिकाले जानकारी दिएको छ। ‘कक्षा एकदेखि आठसम्म नेपाली र नेपाली भाषामा र नेपाल भाषाको ऐक्षिक विषयका रुपमा पाठ्यक्रम निर्माण गर्ने निर्णय बैठकले गरेको छ,’ काठमाडौँ महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीले भनिन्, ‘यसको कार्यदिन ६० दिनको हुन्छ। त्यसपछि हामी पाठ्यपुस्तक लेखनमा जान्छौँ।’ 

महानगरपालिका शिक्षा विभागका अधिकृत खरेलले पनि शैक्षिक सत्र २०७६ बाट स्थानीय पाठ्यक्रम प्रत्येक विद्यार्थीको हात–हातमा पुग्ने जानकारी दिए। ‘आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयलाई निःशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उपलब्ध गराउने पनि उनले बताए।  ‘पाठ्यक्रम बन्नका लागि ६० दिन लाग्छ। शिक्षा समितिले त्यसलाई पास गर्छ र कार्यपालिकाले अनुमोदन गरेपछि पाठ्यपुस्तक लेखनमा जान्छ’, उनले भने, ‘पाठ्यक्रममा काठमाडौंको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मुर्तिकला, पर्यटन जस्ता विषयलाई समावेश गरिन्छ।’ 

उनले काठमाडौँ महानगरपालिका भित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटेर पाठ्यपुस्तक निर्माण गर्ने जानकारी पनि दिए। त्यसका लागि वडा–वडामा सुझाव संकलनका लागि जाने बताए।  उनका अनुसार पुस्तक लेखनका काम कात्तिकको दोस्रो साताबाट सुरु गर्ने महानगरको तयारी छ।  

काठमाडौं महानगरपालिका भित्र सामुदायिक र संस्थागत विद्यालय ७ सय ५० रहेका छन्।  त्यसैगरी बैठकले राष्ट्रिय शिक्षा दिवस मनाउने पनि निर्णय गरेको छ।

प्रकाशित: ४ भाद्र २०७६ १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App