१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिरोमा परी दुईजना बेपत्ता,आधा दर्जन आयोजना क्षतिग्रस्त

चाकु बाढीले क्षतिग्रस्त निर्माणाधीन मध्यभोटेकोसी आयोजनाको बाँधस्थल र माथिल्लो भोटेकोसीको ढलेको १४ नम्बर ट्रान्समिसन टावर। तस्बिर:नागरिक

सिन्धुपाल्चोक - अविरल वर्षासँगै शनिबार चाकुखोलामा आएको बाढीमा परी जलविद्युत् आयोजनामा कार्यरत दुई कर्मचारी बेपत्ता भएका छन्। अरू दुईजना घाइते कर्मचारीलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। चीनको सीमा–नाका भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत् आयोजनामा बाढी छिर्दा बारा निवासी साइट इन्चार्ज यादव काफ्ले र सुनसरी निवासी इलेक्ट्रेसियन रामऔतार चौधरी बेपत्ता भएका हुन्। बाढीले चाकुखोलातिरै बगाएको अनुमान गरिएका उनीहरूलाई फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर यादव थापाले बताए। सुरक्षाकर्मीबाट बेपत्ताको खोजी जारी राखेको छ।

बेपत्ताद्वय शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन १ सय २२ मेगावाट क्षमताको सो आयोजनाको उपठेकेदार बेस स्ट्रक्चरका कर्मचारी हुन्। शिवश्रीकै पहलमा बाढीमा परी घाइते माथिल्लो चाकुका कामी तामाङ र लाफिङ बुद्ध कम्पनीका पेम्बाथोकेल शेर्पालाई आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ। सुरक्षा गार्ड रहेका उनीहरूको ललितपुरस्थि बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। हेलिकोप्टर अवतरण गर्न नसकेपछि डोरीको सहायतामा उनीहरूको उद्धार सम्भव भएको शिवश्रीका सञ्चालक सदस्य उमेश कसजूले बताए।

शनिबार साँझदेखिको अविरल वर्षा नथामिएपछि मध्यराति ११ बजेतिर चाकुखोला मा एक्कासि बाढी आएको स्थानीयले बताए। बाढीको खबरसँगै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले राति नै सुरक्षा सचेतना अपनाउन आग्रह गरेको थियो। प्रहरीका अनुसार बाढीले अरनिको राजमार्गको चाकुबजारका ६ घर क्षतिग्रस्त बनाएको छ। बाढीको समयमा बजारवासीबीच रुवावासी र भागदौड मच्चिएको थियो। बाढीले घर क्षतिग्रस्त बनाउँदा जोखिममा परेकालाई आइतबार दिनभर लगाएर सुरक्षित स्थानमा सारिएको स्थानीय अर्जुन सापकोटाले बताए।

बाढीले चाकुखोला र भोटेकोसी नदी करिडोरमा रहेका ६ आयोजनामा व्यापक क्षति पु¥याएको बाह्रबिसे प्रहरीले जनाएको छ। ‘क्षति भयावह छ। विवरण संकलनकै क्रममा छौं,’ इन्सपेक्टर थापाले भने। उनका अनुसार बाढीले निर्माणाधीन माथिल्लो चाकु, मध्यभोटेकोसी तथा चालू लाफिङ बुद्धका तीन र माथिल्लो भोटेकोसी जलविद्युत् आयोजनामा क्षति पु¥याएको हो। राजमार्गको चाकु बजारबाट दुई किलोमिटर माथि रहेको माथिल्लो चाकु आयोजनामा बाढी छिरेको थियो। त्यसलगत्तै लाफिङ बुद्धका साढे ६ मेगावाट क्षमताको आयोजनामा बाढी पसेको थियो। त्यतिबेला आयोजनाका कर्मचारी र कामदार सुतिरहेका थिए। लाफिङका चार कर्मचारी भागेर बाँच्न सफल भए। भाग्दै अनकन्टार पुगेर फसेका उनीहरूलाई स्थानीयले आइतबार बिहान सकुशल उद्धार गरेका थिए।

वेगले आएको बाढीले चाकु बजारका घर लछार्दै ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी आयोजनाको १४ नम्बर ट्रान्समिसन टावर ढालेको थियो। १४ नम्बर ट्रान्मिसनले अरू पाँचवटा टावर लछारेको छ। योसँगै साबिक चार गाविस मिलेर बनेको भोटेकोसी गाउँपालिकामा विद्युत् आपूर्ति बन्द हुँदा अन्धकार छाएको छ। बाढीले सबैभन्दा बढी क्षति माथिल्लो चाकु र लाफिङ बुद्धका तीन आयोजनामा क्षति पु-याएको छ। ‘यी चार आयोजनाका बाँध लेदोले भरिएको छ। उत्पादन गृहमा बाढी छिरेको छ। मेसिनरी उपकरण र स्विच यार्डमा क्षति पुगेको छ,’ शिवश्रीका सञ्चालक कसजूले भने। २२ मेगावाट क्षमताको माथिल्लो चाकु आगामी साउन १ गतेदेखि उत्पादनमा जाने तयारीमा थियो। बाढीले निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी आयोजनाको चाकुमा निर्माणाधीन बाँधमा क्षति पु¥याएको छ। त्यहाँ टिपर र एक्साभेटर पुरिएको प्रहरीले जनाएको छ।

शुक्रबार मध्यराति मात्रै जिल्लाको जुगल गाउँपालिकाको गोल्चेमा निर्माणाधीन गाउँघर उज्याला जलविद्युत् आयोजनामा पहिरो र बाढी छिर्दा त्यहाँ कार्यरत एक इन्जिनियर बेपत्ता भएका थिए। दोलखा घर भएका इन्जिनियर मुक्ति शिवाकोटी पनि अझै फेला परेका छैनन्। बाढीले सँगै निर्माणाधीन बलेफी जलविद्युत् आयोजनामा समेत करोडौंको क्षति पु¥याएको थियो। निर्माणका लागि थुपारिएको गिटी, बालुवा बगाउनुका साथै क्रसरमा बाढीपहिरो छिर्दा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको बलेफी आयोजनाका अध्यक्ष उमेश कसजूले जानकारी दिए।

प्रकाशित: २३ असार २०७६ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App