१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सिँचाई कुलो निर्माण भएपछि गाउँमा खुशीयाली

निर्माण भएको दुलीङगा सिंचाई आयोजना। तस्बिरः लोकेन्द्र/नागरिक

रुकुम– गाउँ नजिकै वर्षभरी बग्ने खोला भए पनि सिँचाईको अभाव भएको रुकुम (पश्चिम)को बाँफिकोटको एक गाउँमा वर्षाैं पछि सिँचाई सुविधा पुगेको छ। गाउँपालिका ७ दुलीगांमा गाउँका स्थानीयले पहिलो पटक सिंचाई सुविधा पाएका छन्। आफ्नै गाउँ नजिकै खोला बग्ने भए पनि उनीहरुले सिंचाईको उपयोग गर्न पाएका थिएनन्।

गाउँले आफैले सिँचाई निर्माण गर्न सम्भव नभएपछि सिँचाई निर्माण गरिदिन पटक पटक विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा माग गर्दै आएका थिए। तर कतैबाट सिंचाई निर्माणको लागि काम सुरु हुन सकेको थिएन। स्थानीयको माग अनुसार यहाँ काम गर्दै आएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले आर्थिक सहयोग गरेपछि गाउँमा पक्की नहर (कुलो) सहितको सिंचाई सुविधा पुगेको छ।

गाउँभन्दा ६ सय मिटर टाढा रहेको खोलाबाट गाउँमा सिँचाई पु-याइएको सिंचाई योजना निर्माण समितिका अध्यक्ष कर्णबहादुर अधिकारीले जानकारी दिए।  त्यसमध्ये अहिले २ सय ८० मिटर पक्की रहेको र बाँकी कच्ची नहर (कुलो) बनाएर गाउँमा सिंचाई पुगेको उनको भनाई छ।

गाउँमा सिँचाई पुगेपछि अब यहाँका स्थानीयहरु खुशी भएका छन्। अब आगामी वर्ष खेतबारीमा गहुँवालीमा सिंचाई गर्नुका साथै बेमौसमी तरकारी तथा फलफुल उत्पादन गर्न सजिलो हुने स्थानीय कमला केसीले बताइन्। सिँचाईको अभावले यसभन्दा अघि आकाशे पानीको भरमा मात्र खेती गर्दै आएको उनको भनाई छ। सिंचाई अभावले गर्दा हरियो सागपात र तरकारी समेत नपाउने यो गाउँमा अब भने तरकारी उत्पादन गरेर किसानले आर्थिक आम्दानी समेत गर्न सक्ने स्थानीयको आशा रहेको छ।

‘हामीहरुले गाउँमा सिँचाई कुलो निर्माणको लागि विभिन्न ठाउँमा माग गरेपनि कसैको चासो नदिँदा लामो समयदेखी सिँचाई सुविधा पुग्न सकेको थिएन्,’ स्थानीय कृष्ण अधिकारीले भने, ‘जलवायु परिवर्तन सहयोगको कार्यक्रममा सिँचाई पुगेको छ, पानी भएपछि अब यहाँ हरियो सागापात तथा फलफुल उत्पादन गरि बिक्री गरेर पैसा कमाउन पनि सजिलो हुने आशा गरेको छु।’

सिँचाई कुलो निर्माणको लागि नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले ९ लाख रुपैयाँ सहयोग गरेको जिल्ला संयोजक भक्त भण्डारीले जानकारी दिए। यसका साथै ८८ हजार बराबरको सहयोगमा उक्त सिँचाई निर्माण भएको र यसबाट यहाँको करिब ७० रोपनी भन्दा बढि क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने उनको भनाई छ। ४७ घरधुरी रहेको उक्त गाउँमा गाउँपालिकाको सिफारिस अनुसार सिँचाई कुलो निर्माणको लागि आफुहरुले सहयोग गरेको कार्यक्रम जिल्ला संयोजक भण्डारीले बताए।

सिँचाई कुलो निर्माण गर्दा यहाँका स्थानीयले गाउँमै स्थानीय रोजगार समेत पाएका थिए। थोरै भएपनि गाउँको विकाससँगै आफुहरुले रोजगारी पाएको यहाँका अर्का स्थानीय पहसिंह खत्रीले बताए। अहिले गाउँमा सिँचाई कुलोको पानी आएको छ। यो सिँचाई आयोजना जलवायुमैत्री योजना समेत हो। जिल्लामा यस वर्षदेखी पहिलो पटक जलवायुमैत्री योजनाहरु सुरु भएका हुन्।

प्रकाशित: १९ असार २०७६ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App